तिलाठीमा बाँध नबन्दा बर्षेनी डुबान

तिलाठीमा बाँध नबन्दा बर्षेनी डुबान

 राजविराज : खाँडो खोलाको बाढीका कारण भारतीय सीमासँग जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षामा डुबानमा पर्ने गरेको छ । डुबानको नियती भोग्दै आएको तिलाठीमा खाँडो नदीको वहावलाई निकास दिने गरी तटबन्ध निर्माण नहुँदा यो वर्ष पनि डुबानको खतरा रहेको गाउँलेहरू बताउँछन् । करौडौं रुपैयाँ लगानी भए पनि बाँध पूर्ण नहुँदा तिलाठी र बेल्ही गाउँ डुब्ने निश्चित रहेको सीमारक्षक तिलाठीका देवनारायण यादवले बताए ।

बाँध निर्माणका लागि ०७२ मंसिरमा खाँडो नदी नियन्त्रण आयोजना कार्यालय स्थापना भएको थियो । अहिलेसम्म ४१ करोड खर्च भइसकेको छ । तिलाठीसँगै लौनिया, सकरपुरा, रम्पुरा मल्हनियालगायत गाउँमा बाढीले वितण्डा मच्चाउँदै आएको छ ।

चुरे पर्वत शृंखला उदगम रहेको खाँडो नदीले वहाव क्षेत्र कायम गर्दै भारतको कुनौली भएर बग्ने क्रममा सप्तरीमा २४.७ किलोमिटरको यात्रा तय गर्छ । पूर्वपश्चिम राजमार्गको रुपनीस्थित पुलदेखि सकरपुरासम्म तटबन्ध बनेपनि तिलाठीमा गाउँलेकै अवरोधले बाँध निर्माण रोकिएको छ । ‘बाँध नबन्नुमा बेल्हीवासी र तिलाठीवासी दुबै दोषी छन्’, तिलाठीका बयोवृद्ध सत्यनारायण यादव भन्छन्, ‘गाउँले कै अवरोधका कारण अहिलेसम्म बाँध बनेन ।’

निर्माण कार्यविरुद्ध तिलाठीवासीले पालैपालो अदालतबाट अन्तरिम आदेश गराएपछि खाँडो नदी नियन्त्रण आयोजनाले तिलाठीमा बाँध निर्माण गर्न नसकेको आयोजनाका प्रमुख इन्जिनियर विष्णुदेव यादवले बताए । सकरपुरा, तिलाठीको बाँध निर्माणको चार करोड रकमले रुपनी र मट्टीगढीस्थित खाँडो नदीमा माटो र जालीपत्थरको काम गरिएको छ ।

अदालतको आदेशपछि रोकिए पनि जेठदेखि तिलाठी कोइलाडी गाउँपालिकाले थालेको निर्माण कार्य पुनः गाउँलेले अवरोध गरेपछि स्थगित छ । बेल्हीका श्यामसुन्दर यादवले पनि निषेधाज्ञा मि िश्रत परमादेशका लागि रिट दिएका छन् ।

तिलाठी सुरक्षित पारी बेल्ही गाउँलाई जोखिममा पार्न खोजेको आरोप बेल्हीका किसान देवनारायण यादवका आरोप छ । ‘सोझो बनिरहेको बाँधलाई तिलाठीका केही व्यक्तिले रातारात नदी नै घुमाएर बेल्हीतर्फ फर्काएकाले रोकेका हौं’, उनले भने ।

बाँध निर्माणलाई उच्च प्राथमिकता दिँदै गाउँपालिकाले सकरपुरासम्म बाँध बनाएको छ । सकरपुरादेखि तिलाठी हुँदै बेल्हीको त्रियुगा पुलसम्म दुबैतर्फ तीन सय मिटर बाँध बनाउन बाँकी छ । जग्गा पर्ने चार–पाँच जनाबाहेक अन्यले गाउँपालिकाबाट क्षतिपूर्ति दिएर भएपनि बाँध बनाउन दबाब दिइरहेको अध्यक्ष सतिशकुमार सिंह बताउँछन् ।

बाँध बनाउनु पर्नेमा सबैको जोड रहे पनि तिलाठी र बेल्हीवासीको आफ्नो जग्गामा बाँध बनाउन नदिने अडानका कारण बाँध निर्माण रोखिएको छ । वडा अध्यक्ष दिनेश्वर मि श्रले जसरी पनि बाँध निर्माण गर्नुपर्ने बताउँछन् ।

दुई साताअघि पनि पहाडमा भएको वर्षाले खाँडो उर्लिएर गाउँमा पानी पसेको थियो । तिलाठी र बेल्हीका स्थानीय भने एकले अर्कालाई दोष दिएर पन्छिने गरेका छन् । वहाव परिवर्तन गरी नदीको बाटो बनाउने तिलाठीवासीको अडानले काम अगाडि बढ्न नसकेको उपभोक्ता समितिका अध्यक्ष अमर दासको आरोप छ ।

बहाव अनुसार बाँध बनाएमा दुबै गाउँ जोगिने नत्र सानै बाढी आएपनि बेल्हीमा पस्ने र क्षति पुर्‍याउने निश्चित रहेको उनको भनाइ छ ।

तिलाठीवासी आफ्नो टोल नजिकै भएर बगिरहेको खाँडो खोलाको धार परिवर्तन गरी केही दक्षिणबाट बाँध बनाएर त्रियुगा खोलामा मिसाउनु पर्ने अडानमा छन् भने बेल्हीवासीले नदीको हालको वहाव अनुसार नै बाँध बनाउनु पर्नेमा अडिग छन् ।

‘आफ्नो जमिन भएर बाँध बनाउन तिलाठीले पनि रोक्छ बेल्हीले पनि रोक्छ’ अध्यक्ष सिंहले अप्ठ्यारो सुनाए । गाउँपालिकाले तिलाठीवासीको माग अनुसार नदीको वहाव परिवर्तन गरी बीचबाट लैजान खोजेको छ । अध्यक्ष सिंहले तिलाठी नजिकैबाट बगिरहेको खोलालाई पुरानै धारमा लैजान खोजिएको बताउँछन् ।

बेल्हीमै जन्मे–हुर्केका उपेन्द्र यादवले तिलाठीका पाँच जनाको दबाबमा अढाइ सय मिटरको छोटो बाँध बनाउनुको साटो नदीलाई घुमाएर सात सय मिटर लामो बाँध बनाई बेल्हीलाई डुबानमा पार्न खोजेको आरोप लगाए ।

नदीको बहावअनुसार नै बाँध बनेमा तिलाठी डुब्ने र बाँध नबनेमा तिलाठी र बेल्ही दुबै सखाप हुने तिलाठीका सत्यनारायण यादवको भनाइ छ ।

आफ्नो चार कठ्ठा १७ धुर जमिन नदीमा गइसकेको बताउँदै बेल्हीकी केशरीदेवी यादवले भनिन्, ‘उब्जाउ योग्य १४ कठ्ठा जमिनबाट कुनै हालतमा बाँध बनाउन दिन्न ।’ छोराहरूको रगतपसिनाको मिहनेतबाट किनेको जमिन सित्तैमा कसरी दिनु उनले प्रश्न गरिन् ।

गाउँपालिका र स्थानीय प्रशासनले दुबै पक्षलाई सहमतिमा ल्याउन प्रयास गरेको छ । यो विषयमा पटकपटक छलफल भए पनि ठोस निष्कर्ष निस्केको छैन । रुपनीदेखि नै नदीको बहावअनुसार खाँडो नदीको तटबन्ध बन्दै आएकोमा तिलाठीमा आएपछि बेल्हीतर्फ बनाउन खोजिएको बेल्हीका रामेश्वर यादवको आरोप छ ।‘धेरै पटक मोडेर नदीलाई बगाउन खोज्नुु प्राविधिक र आर्थिक हिसाबले ठिक हुँदैन’, यादवले भने ।

नदीको बहाबलाई बाँधले रोक्न नसकिने दाबी गर्दै बेल्हीका रमेश यादवले बाङ्गोटिङ्गो गरेर बगाउन खोजे पनि नदीले आफ्नो धारतर्फ क्षति गरेर बग्ने निश्चित रहेको बताए । विवाद यथावत रही बाँध नबन्ने हो भने बाढी पसेर गाउँको अवस्था दर्दनाक हुने भन्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले चिन्ता प्रकट गर्छन् ।

पहिले क्षतिपूर्ति

बाँध बनाउँदा जाने जग्गाको क्षतिपूर्ति पाउनु पर्नेमा गाउँलेहरू एकमत छन् । बेल्हीका रमेश यादव पुरानो धार छाडेर नम्बरी जग्गाबाट नदी बगाउने हो भने पहिले जग्गाको क्षतिपूर्ति दिनुपर्ने तर्क गर्छन् । उचित क्षतिपूर्ति दिएर नदीलाई सोझो भने बनाउन सकिने उनको भनाइ छ ।

सीमारक्षक तिलाठीका देवनारायण यादव पनि व्यक्तिको जग्गाबाट बाँध बनाउँदा विवाद आउनु र अवरोध हुनुलाई स्वाभाविक मान्छन् । गाउँपालिका अध्यक्ष, उपभोक्ता समिति र खाँडो आयोजनाको जबर्जस्तीले बाँध बन्दैन भन्दै यादवले मुआब्जा वा क्षतिपूर्ति नदिइ अर्काको जमिन मास्न नपाइने जिकिर गर्छन् ।

वडा अध्यक्ष दिनेश्वर मि श्रले जमिनको मूल्यभन्दा आधा भएपनि क्षतिपूर्ति दिनु पर्ने बताउँछन् । जग्गाधनीलाई गाउँपालिकाले क्षतिपूर्ति दिने भनेपछि सकरपुरादेखि बाँध बनाएको उपभोक्ता समितिका अध्यक्ष अमर दासले बताए ।

नयाँ जग्गाबाट नदीको वहाव परिवर्तन गर्दा मासिने जग्गाको क्षतिपूर्ति दिन गाउँपालिका समेत तयार रहेको अध्यक्ष सिंह बताउँछन् । उनी भन्छन, ‘नदीलाई मोड्न खोजिएको मुखमा तीन विघा नम्बरी जग्गा भएरै पुरानो धारमा जोडन सकिने भएकोले त्यस्को क्षतिपूर्ति गाउँपालिकाबाट दिनेछौं र पहिलेकै नदीको वहावले नोक्सान पारेको जग्गाको क्षतिपूर्तिका लागि समेत केन्द्र र प्रदेश सरकारमा सिफारिश गर्नेछौ ।’

घरजग्गा कि क्षतिपूर्ति

गाउँलेले बाँध निर्माण कार्य रोक्नुका साथै अदालतको पनि सहारा लिएका छन् । तिलाठीवासीले ०७३ र ०७४ सालमा तथा बेल्हीवासीले ०७५ असार २० गते निषेधाज्ञा मिश्रित परमादेशको रिट दिएपछि बाँध निर्माण कार्यबाट आयोजना पछाडि हट्यो ।

तिलाठीका बालकृष्ण झासमेत ४३ जनाले दिएको रिटमा ०७३ असार ५ गते अन्तरकालीन आदेश गरेको सर्वोच्च अदालतले ०७३ फागुन ४ गते खारेज गरेको छ । तर तिलाठीका ललीतनारायण झा र बेल्हीका श्यामसुन्दर यादवले दिएको रिटमा अन्तरिम आदेश जारी भए पनि उच्च अदालत जनकपुर राजविराज इजलाशबाट अन्तिम टुंगो लाग्न बाँकी छ । उच्च अदालतको इजलाशले निवेदकको माग बमोजिम जग्गामा हस्तक्षेप नगर्नु तथा तटबन्ध निर्माण नगर्नु, नगराउनु भनी अन्तरिम आदेश जारी गरेको थियो ।

जग्गा प्राप्ति ऐन, मौलिक हकलाई टेकेर अदालतको मनसाय पनि क्षतिपूर्ति दिएर मात्र व्यक्तिको जग्गामा सरकारले काम गर्नुपर्छ भन्ने छ । तर सिँचाई नीति र कार्यविधिमा सम्बन्धित जग्गा धनीले स्वदानको रुपमा उपलब्ध गराए मात्र सिँचाई वा नदी नियन्त्रणजस्ता विकास निर्माणका संरचना बनाउन सकिने भनी स्पष्ट उल्लेख भएकोले जग्गा स्वदान नै दिनु पर्ने आयोजनाको भनाइ छ ।

वर्षामा बाढीकै चिन्ता

धान रोप्ने बेलामा पर्याप्त वर्षा नभएपछि सप्तरीका अधिकांश किसान यतिबेला आकाश हेरेर पुकारा गरिरहेका छन् । तर, तिलाठी कोइलाडीका मानिस भने आकाश हेर्दै ठूलो पानी नपरे हुन्थ्यो भनेर प्रार्थना गर्छन् ।

गत वर्ष साउनको अन्तिम साता आएको बाढीमा डुबेर जिल्लाका पाँच जनाले ज्यान गुमाए । चुरे क्षेत्रबाट सप्तरी हुँदै बग्ने खाँडो, महुली लगायतका खहरे खोला यस जिल्लाका लागि समस्याका रुपमा रहेका छन् । यीमध्ये पनि सबैभन्दा बढी क्षति खाँडो खोलाबाट हुने गरेको छ ।

खाँडो, महुली, जिता, बलान, खडक, सुन्दरी, त्रियुगा, घोडदह, भलुवाही, बिहुललगायत नदीको कटानले हरेक वर्ष धेरैको उठिबास हुन्छ । गत वर्ष मात्र सप्तरीमा विभिन्न नदीको बाढीका कारण ३१ हजार १ सय ७० घरमा क्षति पुगेको थियो भने एक अर्ब ४० करोड ३७ लाख २७ हजार दुई सय ९४ रुपैयाँ बराबरको क्षति भएको सरकारी तथ्यांक छ ।

खाँडोले गतवर्ष सकरपुरा, लौनियाँ, तिलाठी, रुपनी, बसविट्टीलगायतका खेतीयोग्य जमिन कटान गर्‍यो ।

गत वर्षको पीडा भुल्न नपाउँदै सुरु हुन लागेको वर्षायामले यहाँका बासिन्दाको मनमा फेरि बाढीको त्राससँगै चिन्ता बढाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.