माहोल मेहन्दीको
काठमाडौं : गाउँघरमा पाइने तिउरीलाई ढुंगाले कुटेर अमिलो मिसाई हातमा लगाउने चलन पुरानै हो । अझै पनि कतिपय ठाउँमा साउन महिनालाई तिउरी लगाउने महिनाका रूपमा पनि लिइन्छ । वर्षभरि हिलोमा काम गर्दा हातखुट्टामा घाउ हुन्छ । तिउरी लगाउँदा पानीले बनाएको घाउ ठीक हुन्छ भन्ने मान्यता पनि छ । कहीँ कतै चिसो र कीराको टोकाइबाट बच्न शरीरमा गेरु दल्ने पनि गरिन्छ ।
तिउरीको यो पुरानो चलन अहिले लगभग विस्थापित भइसकेको छ । अचेल तयारी मेहन्दी ‐कुप्पी)को प्रयोग बढेको छ । साउन महिनामा हिन्दु धर्मका देवता शिवको विशेष पूजा पनि गरिन्छ । हिन्दु महिला सोमबार व्रत बस्ने र शिवको मन्दिरमा पूजा गर्ने गर्छन् । छमछम बज्ने हरियो चुरा, हरियो र रातो मि िश्रत लुगा र हातमा मेहन्दी लगाएर यत्रतत्र हिँडेका युवती साउनमा प्रशस्तै भेटिन्छन् । मेहन्दीको बजारले सानाठूला सबैलाई आफ्नो ग्राहक बनाएको छ ।
न्युरोड गेट छेउमा रहेको पीपलबोट परिसर । कोही जुत्ता पालिस लगाउने सामान बोकेर बसेका छन् त कोही फाटेका लुगा सिलाउने मेसिन छेउमा लुगा सिलाउँदै छन् । कोही हातमा रेडिमेड मेहन्दी ‐कुप्पी) र मेहन्दीको डिजाइनको चार्ट बोकेर उभिएका छन् ।
भारतको रक्सौल छेउ रहेको बेतिया गाउँका चन्दन कुमारले काठमाडौंमै बसेर मेहन्दी लगाउन थालेको १४ वर्ष भयो । गाउँमै हुँदा मेहन्दी लगाउन सिकेका चन्दन आइतबार पीपलबोट छेउमा महन्दी लगाउँदै गरेका भेटिए । टेकुमा बस्ने २२ वर्षे अनिता महर्जन दुवै हातमा मेहन्दी लगाएर चार सय रुपैयाँ चन्दनलाई बुझाउँदै थिइन् ।
चन्दन मेहन्दी लगाउने सिजनमा करिब २० देखि २५ हजार रुपैयाँसम्म आम्दानी हुने बताउँछन् । सुरुआती समयमा छापावाल मेहन्दी लगाएर यही काममा हात हालेका उनले हाल दुईदेखि १० मिनेटभित्र सबैखाले मेहन्दी लगाइसक्ने बताए । दैनिक २० देखि ३० वटा हातमा मेहन्दी लगाउने चन्दन बेसिजनको बेला होलसेलबाट कपडा ल्याएर सडकमा बेच्ने गर्छन् । केही वर्षअघि सामान्य डिजाइनको मात्र माग भएकोमा अहिले लगभग मेहन्दीका ३० प्रकारका डिजाइन भएको उनले बताए ।
करिब १० वर्षदेखि पिपुल्स प्लाजाको भुइँतलामा पसल थापेर बसेका भारत रक्सौलका दीपक शाह पनि मेहन्दी लगाउने पेसामै छन् । उनका दाजुले राजधानीकै बागबजारमा मेहन्दी ट्रेनिङ सेन्टर खोलेका छन् । दाजुसँगै यही काम सिकेका उनी सिजन होस् या बेसिजन, मेहन्दीकै काम गर्छन् । उनको पसलमा सामान्य खालका शृंगारका सामान पनि राखिएको छ ।
उनी काठमाडैां आउँदा छापावाल मेहन्दीको चलन थियो । यो मेहन्दी धुलो हुन्छ । पानीमा फिटेर लगाइन्छ । त्यति बेला उनले मेहन्दी लगाएको १० देखि २० रुपैयाँ लिन्थे । अहिले उनको पसलमा ५० रुपैयाँदेखि चार सय रुपैयाँसम्ममा मेहन्दी लगाउन पाइन्छ । सिजनमा ३० हजार रुपैयाँसम्म कमाइ गर्ने दीपकले बेसिजनको बेला भाडा तिर्न पनि गाह्रो हुने बताए । उनी मेहन्दी लगाउन सिकाउने पनि गर्छन् । नेपालीले सामान्य र ब्राइड डिजाइनको मेहन्दी लगाउने गरेको उनले बताए ।
साउन, चाडपर्व, मेला, बिहेको बेलामा उनको पसलमा मेहन्दी लगाउनेको भीड हुन्छ । यो महिनाको सुरुआतमा उनले दैनिक ३० जनालाई मेहन्दी लगाइदिन्थे भने अहिले करिब दैनिक १५ जना मात्र आउने गरेको जानकारी दिए । उनले रेडिमेड मेहन्दी नै बढी प्रयोग गर्ने गरेका छन् ।
क्लासिक ब्युटी पार्लर कलंकीकी सञ्चालक सुमीता गुरुङले मेहन्दी लगाइदिन थालेको ६ वर्ष भयो । उनले दुई महिनाको टे«निङ पनि लिएकी छन् । नेपालमा रेड मेहन्दी, ब्ल्याक मेहन्दी र फेबिकल मेहन्दीको प्रचलन रहेको उनले जानकारी दिइन् । यहाँ सामान्य मेहन्दी, राजस्थानी मेहन्दी र अरबिक मेहन्दीको माग बढी छ ।
पहिले माछाका चित्रहरू तथा फूलबुट्टाको डिजाइन पनि मेहन्दीमा समावेश हुन्थ्यो । अहिले प्रायः सामान्य डिजाइन नै बढी लगाइने गरेको उनले बताइन् । बिहेमा भने बेहुलाबेहुलीको फोटो नै हातमा मेहन्दीको रूपमा लगाइने प्रचलन बढ्दै गरेको गुरुङ बताउँछिन् । सुरुमा एउटा हातमा मेहन्दी लगाएको सय रुपैयाँ लिने गरेकी गुरुङले आहिले भने एक सय ५० देखि पाँच सय रुपैयाँसम्म लिने गरेकी छन् । मेहन्दीको डिजाइन र ब्राइडर हेरेर पैसा तोकिने उनी बताउँछिन् ।
पहिले मानिसको स्वास्थ्यसँग जोडेर मेहन्दीको महत्व भएकोमा हाल यसलाई फेसन बनाएको आरोप लगाउँछिन्, सिन्धुपाल्चोककी पीपला ढुंगाना । उनी भन्छिन्, ‘व्रत बसेर, हातमा मेहन्दी लगाएर मात्र श्रीमान्- श्रीमतीको माया बढ्ने होइन ।’ सामाखुसीकी प्रीति कार्की पनि अहिले संस्कार र संस्कृतिभन्दा मेहन्दीको प्रयोगलाई फेसनका रूपमा प्रयोग गर्न थालिएको बताउँछिन् । संस्कृतिको नाममा कुनै पनि चलनलाई अति नै प्रयोग गर्न नहुने उनको मत छ ।