अझै लुकाउँछन् आङ खस्ने समस्या
तेह्रथुम : म्याङलुङ नगरपालिका–५ की ६० वर्षीया फूलमाया लिम्बूलाई पाठेघर खस्ने समस्या भएको १५ वर्षभन्दा बढी भयो । सात सन्तानकी आमा लिम्बू सुरुमा लाज र पछि उपचार गर्न खर्च अभावका कारण रोग पालेर बस्नुपरेको सुनाउँछिन् ।
आठराई गाउँपालिका खाम्लालुङकी देवीमाया दाहाललाई पनि पाठेघर खस्ने समस्या छ । समयमै उपचार नगराउँदा देवीमायालाई यो रोगले सताइरहेको हो । ५० वर्ष पुगिसकेकी दाहालले आफूमा समस्या भएको पाँच वर्षपछि रोगबारे छोरीलाई सुनाइन्, हाल उनको उपचार भइरहेको छ ।
खाम्लालुङकै ७० वर्षीया रामप्यारी लिम्बू १५ वर्षदेखि यस्तै समस्याबाट पीडित भए पनि लाजले कसैलाई सुनाइनन् । पाँच सन्तानकी आमा लिम्बूले समयमै उपचार नगराउँदा पाठेघरको अवस्था गम्भीर भइसकेको थियो । बुहारीको सहयोगमा अपरेसन गरेपछि भने उनको अवस्था अहिले सामान्य छ ।
फूलमाया, देवीमाया र रामप्यारी मात्र होइन, ग्रामीण भेगका थुप्रै महिला लाज लाग्नुका साथै चेतना अभावका कारण पनि यो रोग पालेर बसेका छन् । जिल्ला अस्पताल तेह्रथुमका डा. मुक्तिनारायण साहका अनुसार पाठेघर खस्नु भनेको प्रजनन् स्वास्थ्यसम्बन्धी समस्या हो र ४० वर्ष उमेर पुगेका २५ प्रतिशत महिलामा यो समस्या देखिन्छ । सामान्य अवस्थाभन्दा पाठेघर केही तल झरेको वा सरेकोलाई पाठेघर खसेको वा आङ खसेको भनिने डा. शाहले बताए ।
‘यस्तो अवस्थामा पाठेघरले पाउने भर कम हुँदै गई क्रमशः बाहिर निस्किँदै जान्छ’, उनले भने, ‘सुत्केरीका बेला कडा परि श्रम, गह्रौं भारी उचाल्दा, कडा मिहिनेत पर्ने काम गर्दा र उचित खानपान अभावमा यस्तो समस्या आउन सक्छ ।’
लाज, शंकोच र भयका कारण समयमै स्वास्थ्य संस्थामा नजानु, प्रसव अवस्था नहँुदै बढी बल गर्नु, बच्चा जन्मिसकेपछि आमाको तल्लो पेटलाई बेस्सरी थिच्नु, पाठेघर अडिने गर्भाशयभित्ता कमजोर हुनु, लामो व्यथा लागेका बेला पेट थिचेर बच्चा जन्माउने कोसिस गर्नुलगायत कारण यस्तो समस्या हुने जनाइएको छ । सुत्केरी अवस्थामा लगातार खोकी लाग्नु, बच्चा जन्माउने समयअगावै आवश्यकताभन्दा बढी कन्नु, बल गर्नु, सुत्केरी अवस्थामा गह्रुंगो वस्तु उचाल्नु, कुपोषण, लामो समय पखाला लाग्नु, रगतको कमी हुनु, प्रसूतिपछि आराम नगर्नु पनि पाठेघर खस्नुको कारण रहेको डा. शाहको भनाइ छ ।
सुत्केरी अवस्थामा धूमपान गर्ने र धेरै खोकी लाग्ने महिलाको पेट र जनेन्द्रीयको मांसपेशी तन्कने गरी धेरै दबाब÷जोड परे पनि पाठेघर खस्न सक्ने इलाका स्वास्थ्य चौकी आठराईका डा. सन्तोषकुमार शाहको भनाइ छ । जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन अनिता सुुब्बाका अनुसार ६ वटै स्थानीय तहमा शिविर सञ्चालनबाट १ सय ५० भन्दा बढी महिलाले यसबारे सेवा लिएका छन् ।
फेदाप गाउँपालिकाका पोक्लावा, सिम्ले, औंशीडाँडा, सम्दु, इसिबुलगायत क्षेत्रका १५ महिलाले उपचार पाएको गाउँपालिका स्वास्थ्य संयोजक लालुप्रसाद यादवले बताए । जिल्लामा यस्तो समस्याबाट प्रभावित हुनेमा जनजाति र दलित समुदायका महिला बढी रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । २४ वर्षदेखि माथिका महिलामा यो समस्या देखिने गरेको जनाइएको छ । मेन्छ्यायेम गाउँपालिकामा भएको शिविरमा ५३ जना महिलाले उपचार पाएको र एक जनाको अपरेसन गरिएको स्वास्थ्य फोकल पर्सन लिम्बूले बताइन् ।
पीडित महिलालाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गरी पूर्णरूपले स्वस्थ बनाउन सकिने डा. शाहको धारणा छ । स्वास्थ्य क्षेत्रको पहु“च नपुगेका ठाउ“मा सचेतना अभियान सञ्चालन गर्ने र समस्याको पहिचान गर्ने कार्यमा सरकारी निकाय लागेका छन् । सचेतना अभियानलाई प्रभावकारी बनाउने हो भने नया“ पुस्ताका महिलाले यस्तो समस्या भोग्न नपर्ने चिकित्सकको भनाइ छ ।