पतिले छाडेपछि रिक्सा चलाएर गुजारा
सिरहा : मधेसी समुदायमा महिलाले साइकल चलाए पनि धेरैले आश्चर्य मान्छन्। जीविकोपार्जनका लागि त गाउँबाट साइकल चलाएर बजार जाने–आउने महिलाहरू औंलामा गन्ने जति पनि भेट्दैनन्। त्यही महिलाकै बिचमा सिरहाको लहान नगरपालिका २ सिंगराहीकी २४ वर्षीया सुनिता महतोले लहान बजारमा सिटी रिक्सा चलाएर आफ्नो दुई छोरीसहित आफ्नो पनि गुजारा चलाउँछिन्। उनलाई पतिले अलग गरिदिएको छ। यहाँ बजारमा डेढ सयभन्दा बढी सिटी रिक्सा सञ्चालनमा छ त्यसमध्ये उनी रिक्सा चलाउने एक्ली महिला हुन्।
रिक्सा चलाउन बजार आउँदा उनी सधैं आफ्नो एक वर्षीया कान्छी छोरीलाई घरमै छाडेर आउने गर्छिन्। विहान घरमै आफन्तकहाँ छोरीलाई राखेर उनी पति छाडेर गएको पुरानै सिटी रिक्सा लिएर बजार धाउँछिन्। उनको जेठी छोरी काजल पाँच वर्ष र कान्छी करिश्मा एक वर्षकी छिन्। ‘विहान छोरीलाई केही खुवाएर रिक्सा लिएर बजार आउँछु’, उनले भनिन्, ‘दिनभरी रिक्सा चलाएर हजार रुपैयाँसम्म कमाइ हुने गरेको छ।’ उनका अनुसार जेठी छोरी पढ्ने उमेरको भइसक्यो तर, पति मेरो नागरिकता र छोरीको जन्मदर्ता लिएर गइसकेकाले पढाउन सकेको छैन। पतिको कुनै अत्तोपत्तो नभएको उनले सुनाइन्।
२०६८ सालमा रौतहटको बबहरी गाउँका सन्तकुमार महतोसँग उनको विवाह भएको थियो। सासु/ससुराले विवादमा पनि गालीगलौज र कुटपिट गर्न थालेपछि उनी आफ्नो पतिसहित लहान आएर बस्न थालिन्। यहाँ सन्तको सासु/ससुराले स्थानीय सहकारीबाट केही ऋण र जग्गा बेचेर उनलाई तीन लाखमा सिटी रिक्सा किनिदिएको थियो। ‘एक वर्षसम्म पतिले नै यो रिक्सा चलायो, ‘महतोले भनिन्, ‘पछि पतिले पनि आमाबुवाको कुरामा लागेर झगडा गरी आफूलाई छाडेर गएदेखि आफैं सिटी रिक्सा चलाउँदै आएको छु।’ आत्मबल भयो भने महिलाले जस्तोसुकै काम गर्न सक्ने उनले बताइन्।
‘सामान्य विवाद हुँदा पतिले धम्की दिन्थ्यो कमाएर पेट पाल्न सक्दैनौं’, उनले भनिन्, ‘पतिले पटक पटक आफैं कमाएर गुजारा चलाउन सक्दैनौ भनेर थालेपछि रिक्सा चलाउन थाले।’ उनका अनुसार हिम्मत गरेर दुई दिनमै रिक्सा चलाउन सिके। अहिले रिक्साको ऋण पनि आफैंले कमाएर तिरिरहेको उनले सुनाइन्। ‘सुरुमा घरको आफन्तले रिक्सा नचलाउँ भन्ने गर्थे तर, आफूसँग कुनै सिप नभएर रिक्सा चलाउने निधो गरे’, उनी भन्छिन्, ‘कति दिन पुरुषले हेपेको सहेर बस्नुभन्दा आफैं कमाएर आफ्नो गुजारा चलाउनु राम्रो हो।’ पुरानो रिक्सा बेचेर ऋण गरेर पनि अर्को नयाँ रिक्सा किन्ने सोचमा रहेको उनले बताइन्।
पतिले छाडेर गएदेखि एकदिन पनि सम्पर्क नगरेको उनले सुनाइन्। ‘काममा लाज मान्नु पर्दैन, गुजारा चलाउन सबैले कुनै न कुनै काम गर्नै पर्छ। कामले मानिसलाई ठूलो सानो बनाउने हुँदैन’, उनले भनिन्, ‘यहाँ महिलाहरू अहिले पनि काम गर्न लजाउँछन्।’ उनका अनुसार महिलाहरू अरुमाथि निर्भर हुनुभन्दा राम्रो आफैंमा आत्मनिर्भर हुनुपर्छ। भाषणमा महिला पुरुष समान हुन् भन्छन् तर यहाँका समाजमा महिलालाई सधैं पुरुषले हेयको दृष्टिले हेर्ने गरेको उनले बताइन्।
आत्मबल भयो भने महिलाले जस्तोसुकै काम गर्न सक्छन्।
‘पहिलो पटक बजारमा रिक्सा चलाउँदै आएपछि धेरै छक्क परे’, उनले सम्झिँदै भनिन्, ‘महिला भएर सिटी रिक्सा चालक भएको देखेर धेरैले प्रशंसा गरे त्यसले झन आफ्नो साहस बढ्यो।’ महिला चाहे जे पनि गर्न सक्ने कुरा आफूलाई सेवाग्राहीले सुनाउने गरेको उनले बताइन्। ‘आमा बुवाले छोरीलाई बिहेभन्दा पहिले शिक्षा र सिप सिकाउन त्यति ध्यान दिँदैन’, उनी भन्छिन्, ‘बिहेपछि दुःख भोग्नुपर्छ। दाइजो दिएर आफ्नो बिहे गरिदियो तर, अहिले पतिले पनि छाडेर गयो। सासु/ससुरा पनि सहारा भएनन्।’ उनका अनुसार सय/दुई सय रुपैयाँका लागि पनि पतिलाई गुहार्नु पर्दा आफूलाई कमजोर महसुस हुने गरेकाले आफैं कमाउन थाले। ‘महिला आत्मनिर्भर भए पुरुष र समाजले पनि सम्मान गर्दो रहेछ’, सिटी रिक्सामा ग्राहक चढाउँदै उनले भनिन्, ‘मैले रिक्सा चलाएर गुजारा गर्न थालेपछि सबैले राम्रो ग¥यो भन्छन्।’
‘महिलाहरू रिक्सा चलाएर आत्मनिर्भर हुनु प्रशंसनीय कुरा हो’, स्थानीय रामसोगारथ रायले भने, ‘मधेसमा पछाडि परेका महिलाहरू सामाजिक बन्धन तोडेर घुम्टोबाहिर निस्किन थालेका छन्।’ उनका अनुसार आर्थिक रूपमा महिलाहरू सक्षम भयो भने उनीहरूमाथि हुने विभिन्न किसिमका हिंसाका घटनाहरू पनि आफैं न्यूनीकरण हुँदै जान्छ। त्यसका लागि सरकारले पनि महिलालाई सीपमूलक शिक्षामा जोडदिनु पर्ने उनले बताए।
क्याप्सन ः लहान बजारको नयाँ बजारमा सिटी रिक्सा चलाउँदै सुनिता महतो।
शम्भु यादव