भक्तपुरमा आधा दर्जन बढी होटल थपिँदै
भक्तपुर : ७ नयाँ होटल खुल्ने क्रममा छन्। तीमध्ये आधाभन्दा बढीको निर्माण प्रक्रिया अन्तिम चरणमा छ। तीमध्ये दुई भक्तपुरका ठूला होटलमा पर्नेछन्।
भक्तपुर नगरपालिका–४ बाराहीस्थानस्थित होटल भादगाउँ र वडा नम्बर २ इन्द्रायणीस्थित भक्तपुर सिटी गेस्ट हाउस हाल रहेका होटलमध्येकै ठूला हुन्।
५० कोठा रहेको होटल भादगाउँका सञ्चालक नवलकिशोर राजभण्डारीले आगामी नोभेम्बरदेखि सञ्चालन थाल्ने गरी तयारी गरिरहेको जानकारी दिए। सन् २०१९ मा होटल पूर्ण क्षमतामा सञ्चालनमा आउने उनको भनाइ छ।
भक्तपुरको टौमढीमा भादगाउँ गेस्टहाउस सञ्चालन गरिरहेका उनी आफ्नो व्यवसाय विस्तार गर्दै होटल सञ्चालनमा अग्रसर भएका हुन्। भक्तपुर सिटी गेस्टहाउसमा ३३ कोठा छन्। सञ्चालक रञ्जित मारिखूले आगामी नोभेम्बरभित्र गेस्ट हाउस सञ्चालनमा ल्याउने जानकारी दिए।
नगरकोटमा सनसाइन होटल सञ्चालन गरिरहेका सुरेन्द्र प्रजापतिले भक्तपुर नगरपालिका–२ खौमामा अर्को होटल निर्माण गरेका छन्। १७ कोठे होटलको भित्री सजावटलगायत काम भइरहेको उनी बताउँछन्। त्यससँगै मल्ल इन नामको होटल पनि सञ्चालनको अन्तिम तयारीमा छ। वडा नम्बर २ को इताछेंमा अर्को होटल सञ्चालनको अन्तिम तयारीमा छ। क्याफे बियोन्ड सञ्चालन गरिरहेका सचित झाले होटल सञ्चालन गर्न लागेका हुन्।
भक्तपुर नगरपालिका–२ कै बालाखुमा जीवन गोसाईंले होटल सञ्चालनको तयारी गरिरहेका छन्। उनका अनुसार होटल निर्माण पूरा भइसकेको छ। त्यसैले भित्री तथा बाहिरी सजावट भइरहेको उनले जानकारी दिए। होटलमा एक पटकमा ४८ जना बस्न सक्ने उनले बताए। उनी साइप्रसमा होटल व्यवस्थापनसम्बन्धी उच्च शिक्षा अध्ययन गरी होटल व्यवसाय गर्न भक्तपुर आएका हुन्। भक्तपुर–५ टौमढीमा पनि अर्को होटल निर्माण भइरहेको छ। पहिले नै पर्यटन क्षेत्रमा लागिरहेको समूहले होटल निर्माण गरिरहेको हो। होटल बिस्केट जात्रासम्ममा सञ्चालनमा आउने समूहले जानकारी दिएको छ।
करिब ३ सय जना क्षमताका ७ नयाँ होटल सञ्चालनमा आउन लागेका छन्।
भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले सञ्चालनको तयारी गरिरहेका होटलले अहिलेका होटलको क्षमताको तीन चौथाइ पूर्ति गर्ने बताए। उनका अनुसार भक्तपुरमा ठूलासाना गरी करिब ५० होटल सञ्चालनमा छन्। ‘अहिले सञ्चालनमा रहेका होटलको ५ सय २५ जना बस्न सक्ने क्षमता छ’, उनले भने, ‘नयाँ होटलले करिब ३ सय जनालाई भक्तपुरमा राख्न सक्छन्।’
होटल एसोसिएसन अफ भक्तपुर (ह्याब) का अध्यक्ष सत्यराम सुवाल सरकारले भिजिट २०२० अघि सारेसँगै भक्तपुरमा होटल सञ्चालनमा आउने क्रम बढेको बताउँछन्। नेपाल आउने पर्यटकलाई भक्तपुर आउने वातावरण बनाउन र होटलको क्षमता बढाउन ह्याबले काम गर्ने उनले सुनाए। भक्तपुरस्थित पर्यटक सूचना केन्द्रका अनुसार नेपाल आउने करिब ३५ प्रतिशत विदेशी भक्तपुर आउँछन्। तर तीमध्ये करिब ९० प्रतिशत भक्तपुर घुमेर काठमाडौं नै फर्कन्छन्।
क्याप्सन
भक्तपुर सिटी गेष्ट हाउस) भक्तपुर नपा २ इन्द्रायणीमा निर्माणाधीन भक्तपुर सिटी गेस्ट हाउसको भवन। तस्बिर ः ईश्वरकाजी खाइजू