न्यायिक समितिमा सुँगुर बंगुरका मुद्दा !
ललितपुर : ललितपुर महानगरपालिका बस्तीनजिक सुँगुर, बुंगुरलगायतका जनावर पाल्दा दुर्गन्ध फैलिएको भन्दै मुद्दा आउन थालेका छन्।
महानगरपालिकाका उपप्रमुखको अध्यक्षतामा रहने न्यायिक समितिमा बंगुरलगायतका पशु पाल्दा विभिन्न खालका प्रदूषण फैलिएको भन्दै स्थानीयवासीले मुद्दा हाल्न थालेका हुन्।
महानगरपालिकामा सबैभन्दा बढी प्रदूषणसम्बन्धी मुद्दा आइरहेको न्यायिक समितिका सदस्य ज्ञानभक्त डंगोलले बताए। बस्तीका बीचमा वा बस्तीका नजिक पशुपालन गर्दा त्यहाँ दुर्गन्ध फैलिनेसँगै पानीमा फोहोर मिसिएको स्थानीयवासीको गुनासो छ।
यस्ता मुद्दा साबिक उपमहानगरपालिका क्षेत्रमा भन्दा साबिक गाविस क्षेत्रमा बढी छ। उनी भन्छन्, ‘हामीले मेलमिलाप हुनेमा गराउने र नहुनेमा मात्रै अदालत जान भन्छौं।’
महानगरपालिकामा दर्ता हुन आएका मुद्दामा समितिले राष्ट्रिय प्रदूषण मापन केन्द्रलाई मापन गर्न लगाएर र आफूले पनि स्थलगत निरीक्षण गरेर मात्रै सुनुवार्इ गर्दै आएको छ।
समितिले सातामा दुई दिन बैठक बसेर सुनुवाइ गर्दै आएको छ। पारिवारिक बेमेल, छिमेकमा रहेका विवादसमेत आउन थालेको समितिको भनाई छ।
रासस