यस वर्ष सबै विद्यालयबाट अस्थायी शिक्षक हट्ने

यस वर्ष सबै विद्यालयबाट अस्थायी शिक्षक हट्ने

 काठमाडौं : सरकारलाई वर्षौंदेखि टाउको दुखाइको विषय बनेको विद्यालय तहका अस्थायी शिक्षकको समस्या यस वर्षदेखि पूर्ण रूपमा समाधान हुने भएको छ । अस्थायी शिक्षकको समस्या समाधान भएसँगै विद्यालय शिक्षाको हालको सिकाइ स्तर उकासिने शिक्षा मन्त्रालयको विश्वास छ ।

अहिले सार्वजनिक विद्यालयमा शिक्षकको दरबन्दी एक लाख सात हजार छ । यसमध्ये करिब ७० हजार शिक्षक मात्र दरबन्दीमा कार्यरत छन् । अन्य शिक्षक अस्थायी दरबन्दीमा कार्यरत छन् । अस्थायी दरबन्दीमा कार्यरतलाई प्रक्रिया पु¥याएर स्थायी गरिनुपर्ने, सेवाको सुनिश्चितता गरिनुपर्नेलगायत माग राख्दै शिक्षक आन्दोलनमा थिए ।

जसका कारण विद्यालय तहको पढाइसमेत प्रत्यक्ष रूपमा प्रभावित भएको थियो । सेवाको सुनिश्चितता नभएका कारण शिक्षकले पढाइमा समेत ध्यान दिन सकेका थिएनन् । माग पूरा गराउन उनीहरूले राजधानी तथा जिल्लाकेन्द्रित आन्दोलन सञ्चालन गर्दा विद्यालयको पढाइ लथालिंग बनेको थियो ।

यस्ता शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन शिक्षक सेवा आयोगले परीक्षासमेत सञ्चालन गरिसकेको छ । विद्यालयलाई अस्थायी शिक्षकमुक्त बनाउन परीक्षा अत्यन्त फलदायी हुने आयोगका प्रशासकीय अधिकृत सहसचिव डा. तुलसी थपलियाले बताए । ‘कुन मोडलबाट परीक्षा लिने, कस्ता शिक्षकलाई परीक्षामा सहभागी गराउनेलगायत विषय जटिल थिए । यसबारे शिक्षकको हकहितका लागि क्रियाशील संस्थाबीच पनि एकमत थिएन’, उनले भने, ‘तर सबै पक्षलाई सकेसम्म सहमत गराएर परीक्षा सञ्चालन गरेका छौं । यो परीक्षाको नतिजा प्रकाशन भएपछि आयोग र मुलुकलाई पनि ठूलो राहत मिल्नेछ ।’

गत असार २९ र ३० गते सञ्चालित परीक्षामा अस्थायी दरबन्दी कायम रहेका २२ हजार ७९ पदका लागि अस्थायी शिक्षकबीच प्रतिस्पर्धा भएको छ । शिक्षकका फरकफरक समूहले फरकफरक माग राख्दै आन्दोलन गरेका कारण आयोगले यसअघि चार पटकसम्म अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउन परीक्षाको मिति तोकेर पनि स्थगित गरेको थियो ।

यस पटकको परीक्षामा प्राथमिक तहमा १६ हजार ५ सय ३२, निम्न माध्यमिक तहका लागि तीन हजार दुई सय ३४ र माध्यमिक तहका लागि दुई हजार तीन सय १० पदमा प्रतिस्पर्धा भएको थपलियाले जानकारी दिए । यसबाहेक आयोगले खुला प्रतिस्पर्धाका लागि पनि १२ हजार सात सय ३९ दरबन्दीमा आवेदन मागिसकेको छ । उनीहरूको परीक्षा असोज ११, १२ र १३ गते सञ्चालन गर्ने तालिका निर्धारण गरिएको छ, जसमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका लागि क्रमशः नौ हजार नौ सय ९६, एक हजार ६ सय ३५ र एक हजार एक सय आठ दरबन्दी छन् ।

परीक्षा सञ्चालन गरेर नतिजा सार्वजनिक भएपछि नियमित प्रक्रियाबाट अवकाश पाएर रिक्त स्थानबाहेक अन्यमा अस्थायी शिक्षक नरहने आयोगको भनाइ छ । यीमध्ये आन्तरिक प्रतिस्पर्धाबाट नियुक्त गराउन लागिएको कुल कोटाबाट परीक्षामा उत्तीर्ण हुन नसकेर तथा अन्य कारण करिब दुई हजार पाँच सय दरबन्दी रिक्त रहने आयोगको अनुमान छ ।

नियमित प्रक्रियाबाट अवकाश पाएर वा राजीनामा दिएर रिक्त हुने शिक्षक दरबन्दी वार्षिक तीन हजारजति हुन आउँछ । ‘अस्थायीको समस्या समाधान भएपछि यी दरबन्दीमा नियमित परीक्षा चलाएर शिक्षक नियुक्त गर्छौं’, थपलियाले भने, ‘यो काम गर्न आयोगलाई समस्या पर्दैन । थोरै दरबन्दीमा परीक्षा सञ्चालन गर्न बोझ पनि हुँदैन ।’

आयोग स्थापना भएपछि हालसम्म तीन पटक मात्र खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्त गरिएको छ । यस्तो प्रतिस्पर्धाबाट अठार हजार ३९ जना शिक्षक मात्र नियुक्त भएका हुन् । आयोग स्थापना हुनुअघि जिल्ला र क्षेत्रीय रूपमा शिक्षक नियुक्त हुन्थे । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन २०५५ को सुझावका आधारमा शिक्षा ऐनको छैटौं संशोधनपछि २०५६ सालमा आयोग स्थापना गरेर खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्त गर्न थालिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.