पहिरोमा ९ जनाको मृत्यु, नेपाल–चीन रसुवागढी नाका अवरुद्ध

पहिरोमा ९ जनाको मृत्यु, नेपाल–चीन रसुवागढी नाका अवरुद्ध

 बिदुर : नेपाल–चीन सीमा रसुवागढीनजिक रहेको टिमुरेमा बुधबार राति गएको पहिरोमा नौ जनाको ज्यान गएको छ । पहिरोबाट १२ जनाको सकुशल उद्धार गरिएको छ । मध्यरातमा गएको भीषण पहिरोमा परेर पक्की घर, टहराका घर तथा रोकिराखेका कन्टेनर, ट्रकसमेत पुरिएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार सदरमुकाम धुन्चेदेखि ३३ किलोमिटर उत्तर भोटेकोशी नदी किनारामा रहेको टिमुरेबस्तीमा सडक माथिबाट लेते पहिरो खसेको हो ।

‘रसुवागढी नाकादेखि दुई किलोमिटर दक्षिणमा रहेको गोसाइँकुुण्ड गाउँपालिका वडा नं. २ टिमुरेमा राति साढे १२ बजे बस्तीमाथिको पूर्वी मोहडाबाट भीषण रूपमा ढुंगामाटो मिसिएको लेते पहिरो खसेको हो’, रसुवा प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले भने, ‘पाँच सय मिटर ठाडो पहिरोमा नौ जनाको मृत्यु भएको छ ।’

मृत्यु हुनेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं. १ थुमनका ४६ वर्षीय मिङ्मारगुम्बु तामाङ तथा कन्टेनर चालकहरू सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नं. ५ का ४२ वर्षीय श्याम श्रेष्ठ, सोही स्थानका ४५ वर्षीय मंगल तामाङ, २७ वर्षीय विक्रम श्रेष्ठ र भोटेकोशी गापा–४ का रोशम खड्का रहेको उद्धारमा संलग्न रसुवा प्रहरी प्रमुख तामाङले बताए ।

त्यसैगरी, पहिरोमा नुवाकोट बेलकोटगढी घर भएका ३० वर्षीय शर्मिला कामी, नुवाकोटकै रमेश तामाङ तथा होटेलवाला रसुवा गोसाइँकुण्ड गापा वडा नं. २ का ४३ वर्षीय दार्जेवाङ्जु घले, उनकी श्रीमती ३७ वर्षीया कार्साङसिमो घलेको पनि ज्यान गएको छ ।

पहिरोले होटेल सञ्चालक देवबहादुर मगरको होटेलसहित चार वटा टहरा, सोही स्थानमा रोकिराखेका ना५ख ७००७, ना२ख ३६६३, ना३ख ७७२० कन्टेनर तथा ना२ख ८६८९ नं. को एलपी ट्रक र नम्बर नखुलेको एक थान टिपर पुरेको छ । पहिरोमा नेपाल प्रहरीको सुरक्षा पोस्टसमेत पुरिएको छ ।

पहिरोमा परेर ज्यान गुमाएकाहरूको १६ घण्टापछि शव निकालिएको छ । पाँच जनाको शव बिहीबार मध्यान्ह १२ बजेसम्म र अन्य चार जनाको अपरान्ह चार बजेसम्म निकालिएको हो ।

उद्धारमा दुई स्काभेटरको प्रयोग गरिएको थियो । बिहीबार बेलुकी ६ बजेपछि रात परेका कारण उद्धार स्थगित गरिएको छ । शुक्रबार बिहान ६ बजेपछि पुनः उद्धार थालिने प्रहरीले जनाएको छ ।

पहिरोमा टिमुरेमा रहेको चार जना प्रहरी बस्ने सुरक्षा पोस्टसमेत पुरिएपछि प्रहरीले भागेर ज्यान जोगाएका थिए ।

राति गड्याम्म गर्दै पहिरो झर्न थालेपछि स्थानीयवासी कोकोहोलो र गुहार गर्दै भागेका थिए । ‘सानो आवाजमा पहिरो झर्न थालेपछि भाग्न नथालेको भए उद्धार गरिएका १२ जना बाँच्ने सम्भावना नै थिएन’, उद्धारमा संलग्न प्रहरी अर्जुन न्यौपानेले भने, ‘भाग्दाभाग्दै १२ जनालाई पहिरोले लपेट्यो मात्र पुरिहाल्न भ्याएन, उनीहरूले दोस्रो जुनी पाए ।’

उद्धारमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना खटिएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।

उनका अनुसार पहिरोबाट टिमुरेका होटेल सञ्चालक देवबहादुर मगर, उनकी श्रीमती पोक्ची मगर, छोरी डोल्मा, छोरा नरमान, कामदार विन्दु तामाङ, तेन्जेन डोल्मा तामाङ, पासाङ डोल्मा तामाङ, कन्टेनर चालक सोनाम शेर्पा, सोनाम लामा, दावा तामाङ, स्थानीयवासी प्रेमबहादुर घले, रसुवा धैवुङका विमल घर्तीमगरको सकुशल उद्धार गरिएको प्रजिअ पौडेलले बताए ।

उद्धार गरिएका देवबहादुर, उनकी श्रीमती पोक्ची, सोनाम शेर्पा, सोनाम लामा र दाबा तामाङलाई बिहीबारै काठमाडौं लगी चाबहिलको हेल्पिङ हेन्डस् अस्पतालमा उपचार थालिएको रसुवा प्रहरीले जनाएको छ ।

ढुंगामाटो मिसिएको लेदोसहिको पहिरो कारण नेपाल–चीन प्रवेशका लागि हाल सञ्चालनमा रहेको एक मात्र रसुवागढी नाका अवरुद्ध हुन पुगेको छ । स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मको १५ दशमलव पाँच किलोमिटर सडकखण्डको टिमुरेलगायत ६ स्थानमा पहिरो गएको छ ।

सडकमार्गमा पहिरो गएर बाटो अवरुद्ध भएका कारण सदरमुकाम धुन्चेबाट थप सुरक्षाकर्मी घटनास्थल टिमुरे पुग्न दुई घण्टाभन्दा बढी समय लागेको थियो । पहिरोले सडकमार्ग अवरुद्ध भएपछि नेपाल–चीन आवतजावतमा समस्या भएको छ ।

रसुवागढी नाका चीन प्रवेशका लागि सञ्चालनमा रहेको एक मात्र आधिकारिक नाका हो । रसुवागढी नाका काठमाडौंदेखि एकसय ५२ किलोमिटर दूरी उत्तर भोटेकोशी नदी किनारामा रहेको छ ।

रसुवागढी नाकालाई चीन सरकारले गत सन् २०१७ सेप्टेम्बर एक देखि अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरिसकेको छ । सिन्धुपाल्चोकतर्फको तातोपानी नाका बन्द भएपछि नेपाल–चीन आयातनिर्यात रसुवागढी नाकाबाटै हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.