पाकिस्तान निर्वाचन : इमरान खानको दल ठूलो
इस्लामावाद : पाकिस्तानमा बुधवार भएको आमनिर्वाचनमा इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) सबैभन्दा ठूलो दल बनेको छ । पीटीआई ११९ सिटमा विजयी भएको छ । पीटीआईका नेता कार्यकर्ताले खुशीयाली मनाइरहेका छन् । यहाँको संसद्मा बहुमत ल्याउन १३७ सिट आवश्यक हुन्छ ।
पाकिस्तानका प्रमुख शहरमा पीटीआईका हजारौं समर्थक सडकमा जुलुस निकालिरहेका छन् । सडकका छेउमा गाडी राखेर उनीहरूले नाचगान गर्दै रमाइलो गरिरहेका छन् । मुख्य राजमार्गहरू जुलुसका कारण बन्द छन् । फैजाबाद निवासी पीटीआईका समर्थक शाहिद अलीले भने, ‘हामीले नयाँ पाकिस्तान पाएका छौं ।’
पाकिस्तानमा अधिकांश समय सेनाको शासन रहँदै आएको छ । यो समेत तेस्रोपटक लगातार पाकिस्तानमा प्रजातान्त्रिक तरिकाले सरकार परिवर्तन हुने भएको छ । पूर्वप्रधानमन्त्री नवाज शरीफको दल पाकिस्तान मुस्लिम लीग–नवाज (पीएलएम–एन) दोस्रो दल बनेको छ ।
धाँधलीको आरोप
विपक्षी दलले भने सेनाको सयोगमा चुनावमा धाँधली भएको आरोप लगाएका छन् । चुनाव सकिएको १३ घण्टाभन्दा बढीको अवधिमा आधाभन्दा कममात्र मतगणना भएको र यो अनपेक्षित ढिलाइले चुनावी नतिजाको वैधानिकतामा प्रश्न उठेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सन् २०१३ देखि नै सत्तामा रहेको पाकिस्तान पीएमएल–एनले चुनावी परिणामलाई ‘खुलेआम धाँधलीको’ संज्ञा दिँदै परिणाम स्विकार्न नसकिने जनाएको छ । उसले यो नतिजाविरुद्ध राजनीतिक एवं कानुनी विकल्प प्रयोग गरिने स्पष्ट गरेको छ ।
‘आजको यस घटनाक्रमले पाकिस्तानलाई ३० वर्षअघिको अवस्थामा फर्काएको छ । ....आमजनता यसलाई स्वीकार गर्न तयार छैनन्’, पार्टी नेता शहबाज शरीफले भने । कुनै समय पाकिस्तानको प्रमुख राजनीतिक शक्तिका रूपमा रहेको पाकिस्तान पिपुल्स पार्टीले समेत चुनावमा व्यापक धाँधली भएको आरोप लगाएको छ । आफ्नो पार्टीका प्रतिनिधिलाई मतगणना स्थलमा प्रवेश गर्न समेत नदिइएको पार्टीका अध्यक्ष बिलावल भुट्टोले दाबी गरेका छन् ।
पाकिस्तानको निर्वाचन आयोगले चुनावमा धाँधली भएको भन्ने आरोपको खण्डन गर्दै सफ्टवेयरमा समस्या आएका कारण चुनावी परिणाम घोषणामा ढिलाइ भएको स्पष्ट गरेको छ । ‘यो चुनाव शतप्रतिशत निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न भएको छ’, प्रमुख निर्वाचन आयुक्त सरदार मुहम्मद रजाले भने ।
वार्ताबाट कश्मीर समस्या सुल्झाइने
निर्वाचनबाट सबैभन्दा ठूलो दलका नेता बनेपछि इमरान खानले वार्ताबाटै कश्मीर समस्या सुल्झाउने बताएका छन् । उनले पत्रकार सम्मेलनमा कश्मीर, गरीबी, आतंकवाद लगायतका विषयमा आफ्ना धारणा सार्वजनिक गरेका छन् ।
उनले भने, ‘म अल्लालाई धन्यवाद दिन चाहन्छु । २२ वर्षको मेहनतले मैले यो उपलब्धि हासिल गरेको छु । अब मेरा सपना साकार बनाउने र देश सेवा गर्ने अवसर पाएको छु ।’ उनले पाकिस्तानमा प्रजातन्त्र बलियो भएको दाबी गरे । कैयौं आतंकवादी आक्रमण हुँदाहुँदै पनि निर्वाचन सफल भएको भन्दै यसका लागि उनले सेनालाई बधाई दिएका छन् ।
इमरानले भारतसँग असल सम्बन्ध कायम गरिने पनि बताएका छन् । पाकिस्तान र भारत एउटै टेबुलमा बसेर वार्ता गर्नुपर्नेमा उनले जोड दिएका छन् । भारतसँग सम्बन्ध सुधार्न पाकिस्तान तयार रहेको उनको भनाइ छ । भारत एक कदम अगाडि बढे पाकिस्तान दुई कदम अघि बढ्ने उनले दाबी गरे । उनले भारतीय सञ्चारमाध्यमसँग भने गुनासो व्यक्त गरे । भारतीय मिडियाले आफूलाई जबरजस्ती बलीवुड फिल्मको खलनायक बनाएको उनको कथन छ ।
पीटीआई प्रमुख इमरानले देश सेव ागर्न आफू राजनीतिमा आएको चर्चा गरे । उनले भने, ‘मैले पाकिस्तानको सेवा गर्ने मौका बल्ल पाएँ । देशप्रतिका आफ्ना वाचा मैले पूरा गरेरै छोड्नेछु ।’ आफ्नो उदयसँगै पाकिस्तानका निम्नतहका जीवनमा परिवर्तन गरिने उनले बताए ।
मजदुर र गरीबको हितमा आफू केन्द्रित हुने उनले वचन दिए । गरिबीविरुद्ध लड्न चीनले गरेको प्रयासको प्रशंसा गर्दै त्यसलाई अनुसरण गर्ने उनको उद्घोष थियो । विगत ३० वर्षमा चीनले ७० करोड व्यक्तिलाई गरिबीको रेखाबाट बाहिर निकालेको स्पष्ट पारे ।
उनले भने, ‘विपन्न व्यक्तिलाई लक्षित गरी कार्यक्रम ल्याउनेछु । अब पाकिस्तानमा मानवताको राज्य शुरु गराउन चाहन्छु ।’
साझेदारीका लागि चीन इच्छुक
पाकिस्तानी संसद्मा इमरानको दल सबैभन्दा ठूलो बनेलगत्तै चीनले नयाँ सरकारसँग साझेदारी गर्न इच्छुक भएको बताएको छ । पाकिस्तान आफ्नो मित्रराष्ट्र भएको चर्चा गर्दै अब राजनीतिक रूपमा स्थिरता कायम हुने भन्दै खुशी व्यक्त गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता कङ सुवाङले भने, ‘जुनसुकै शक्ति आए पनि पाकिस्तानसँगको द्विपक्षीय सम्बन्धमा असर पर्नेछैन ।’ पाकिस्तानमा निर्वाचन सम्पन्न भएकोमा चीन खुशी भएको उनले बताए । पाकिस्तानमा राजनीतिक स्थिरता भएपछि विकासमा प्रगति हुने उनले दाबी गरे ।
इमरान खानका घोषणा
देश सेवा गर्न राजनीतिमा आएको र यो मौका पाएको
पाकिस्तानमा आफ्नो घोषणापत्र लागू गर्ने मौका
मजदुर र गरीब किसानलगायतका विपन्न वर्गको हितमा नीति बनाइने
विद्यालय जान वञ्चित २ करोड ५० लाख बालबालिकालाई ख्याल राखिने
जनतासँगको प्रतिबद्धता पूरा गरिने
भ्रष्टाचार नियन्त्रण गरिने र त्यसका लागि अनुसन्धान संस्था खडा गरिने
प्रधानमन्त्री आवासमा नबस्ने, गभर्नर निवासलाई होटेल बनाइने
जनताको पैसा भएकाले सरकारी खर्च कटौती गरिने
सरकार जनाताप्रति जवाफदेही बनाइने
सबैलाई समान व्यवहार, कसैलाई पनि प्रतिशोध नलिइने
रोजगारी वृद्धिमा जोड दिइने
पाकिस्तान–अफगानिस्तान सीमा खुला गरिने
इरान र साउदी अरेबियासँग सम्बन्ध सुधार गरिने
वार्ताबाट कश्मीर समस्या समाधान गरिने