उडिहिँड्ने खुसी

उडिहिँड्ने खुसी

हरियो साडीमा सुनौला मोतीका दाना यसरी जडिएको थियो, मानौं कोमल दुबोमा सुनका फूल फुलिरहेछन्। छातीमा एउटा अदृश्य चिसो निःश्वास उठ्यो र लड्यो; मोल थाहा नपाईकनै पतिले भन्यो, ‘अलि रिजनेबल रेटका साडी देखाउनुस् न !’


सुनौलो साँझ; जीवनका ओजहरूले भरिएको महानगरीय बजार।

पति­पत्नीलाई कसैलाई उपहार दिनका लागि ठीकठीकै दाम पर्ने एउटा साडी किन्नु थियो र आफ्नो स्कुटर रोकेर एउटा पसलमा छिरेका थिए, भएभरको जोडजाड गर्दा कुरो यति नै थियो।

भव्य सोरुमभित्र दुई पाइला हिँड्ने बितिक्कै दुवैका अनुहार एउटै भावमा अलमलमा परे; गलत ठाउँमा आइपुगियो कि क्या हो; तर उनीहरू पसलका कर्मचारीका ध्यानका सीमाभित्र पुगिसकेका थिए, र ‘आउनुस् ! आउनुस्, के देखाऊँ ?’ भन्ने निमन्त्रणा अस्वीकार गर्न अब असम्भव थियो।

अपराधी भावले त्यो जोडी सोफाजस्तै महँगो स्टुलमा बस्यो। फुंग उडेको जस्तो अनुहारले युवक पतिले आफ्नो अफिस जाँदा लगाउने सर्ट, खुइलिने गरी प्रयोग भइसकेको प्यान्ट, रेक्सिनको बेल्ट र छालाको चप्पलमा सरर्र आफ्नो एक दृष्टि हिँडायो। तर, त्योभन्दा बढी उडिसकेको थियो नवयुवती पत्नीको अनुहारको रंग; ठेलामा गुडाउनेसँग किनेको पच्चीस रुपियाँ जाने हातका बाला, कटपिस सेन्टरमा लिएको भ्रामक महँगो साडी, कम्पनीको सेल अफरमा किनेको चप्पल र सुनका ससाना दाना लागेको मंगलसूत्र...! उसले साडीको सप्कोलाई काँधबाट अगाडि ल्याएर अर्कोतिर तानी, अब बाला र मंगलसूत्र छोपिएका थिए; तर पतिलाई उसले लगाएका एकएक चिजका मूल्य मानौं यसै बेला सम्झनु थियो। मध्य चोकको तीव्र प्रकाश भएको बत्तीको फोकसमा उभिएको जस्तो अनुभूत गरिरहेको पतिमा चिरपरिचित झक्र्याइँ थियो, ‘कतिपल्ट भनिसकेँ, बाहिर निस्कँदा ढंगले लगाउने गर भनेर ! जहिले पनि लोभ ! सस्ता सामानमा मरिहत्ते गर्न कहिले छोड्यौ तिमी ! किन यो बाला लगाएर आएकी ! त्यो अस्ति पाँच सय रुपियाँमा किनेको बालाचाहिँ के दराजमा सजाएर राख्नका लागि हो ? ’

त्यो त बिहे­व्रतबन्धमा लगाउने हो नि, कि त कतै नाताकुटुम्बकहाँ जाँदा। यसरी जहाँ पायो त्यहीँ हिँड्दा लगाएर थोत्रियो भने कत्ति न आफूले अर्को किन्दिने जस्तो !– पत्नीले भन्नै लागेकी थिई, तर भनिन; पसले उसैसँग सोध्दै थियो, ‘के देखाऊँ म्याडम ? ’

उत्तर पुरुषले दियो, ‘साडी, गिफ्ट दिने खाले।’

पसलेले कामदारलाई माथिल्लो तासीबाट एउटा गड्डी झार्न भन्यो र पति­पत्नी आँखालाई तिरमिराइदिने महँगा साडीले भरिएको पसलको चारैतिर हेर्न थाले। अगाडिपट्टि सोकेसमा बत्तु जडिएका लेहंगा र साडीका खुलेका सप्का सजिएका थिए; दुवैले यस्तो अनभिज्ञ­ अनाशक्त दृष्टिले हेर्न सुरु गरे, मानौं उनीहरू कुनै पराई धर्मलाई हेरेर बुझ्न खोज्दैछन्।

‘यो हेर्नुस् म्याडम, अहिलेको नयाँ ट्रेन्ड।’

चम्किलो सेतो प्रकाशमुनि पसलेले पहिलो साडी फिँजायो। आकाशे रङको साडीमा जडिएका टल्किरहेका बत्तु यस्ता देखिँदै थिए मानौं झिसमिसे बिहानपछिको आकाशमा सैयौं मर्निङ स्टार चम्किरहेछन्।

पति­पत्नीका निरस अनुहारबाट कुनै भाव निस्किएन; पसलेले अर्को साडी खोल्यो।

‘यो हेर्नुस्, फ्याक्ट्रीबाट यो माल हाम्रै पसलमा मात्र आएको छ। यस्तो साडी तपाईंले बजारमा अरू कहीँ भेट्नुहुने छैन।’

हरियो साडीमा सुनौला मोतीका दाना यसरी जडिएको थियो, मानौं कोमल दूबोमा सुनका फूल फुलिरहेछन्। छातीमा एउटा अदृश्य चिसो निःश्वास उठ्यो र लड्यो; मोल थाहा नपाईकनै पतिले भन्यो, ‘अलि रिजनेबल रेटका साडी देखाउनुस् न !’

‘हाम्रो रेट बजारभरिमा सबैभन्दा बढी रिजनेबल छ, सर ! यो साडी तपाईं कहीँ पनि खोज्नुस्­ चारपाँच हजारभन्दा कमको भेटिँदैन, तर हामी यो अड्तीस सयमै दिँदैछौं।’

‘हैन, हामीले योभन्दा अलि कमको खोजेको !’ मूल्य सुन्नेबितिक्कै पतिले साडीको पारीबाट औंला यसरी झिक्यो मानौं उसले छुँदा सुनका फूल र मर्निङ स्टार धमिला हुनेछन् र उसले त्यसको कुनै नसोचेको बिगो तिर्नुपर्नेछ।

पसलेले अलि तलबाट अर्को गड्डी निकाल्न लगायो। यसैबीच पत्नी उठेर सोकेसमा सजाइएका साडीहरूको अगाडि आएर उभिई।

एक से एक सुन्दर र चम्किला साडी र लेहंगाहरूलाई उसका आँखा यसरी एकोहोरिएर हेरिरहेथे मानौं ती आँखा त्यहाँ रहेका प्रत्येक कपडाका सम्पूर्ण सौन्दर्यलाई छिटोछिटो बाँधिसक्न चाहिरहेका हुन्। बैंसालु स्त्री मुग्ध हुन थाली; सुनौला, ...राता, ...नीला, ...पहेँला, ...कलेजी, ...काला— हरेक रङ बोलीरहेझंै लाग्थे र तिनमा जडिएका हीराजस्तै देखिने बत्तु, मोतीका दाना, मिहिन सितारा र रेशमका धागाले कुँदिएका कारिगरीले साडीहरूलाई मनभित्रै पस्नसक्ने रूप प्रदान गरेका थिए। आफैंमा मग्न भएर उभिएकी स्त्रीको अनुहारमा एउटा उदास मुस्कान उक्लियो र ओर्लियो। ऊ फर्किनै मात्र के लागेकी थिई, उसका आँखा सोकेसमा झिलमिलाइरहेको अन्तिम सौन्दर्यमा पुगेर अडिए।

यता पसलेले पुरुषको अगाडि अर्को गड्डी खोल्यो, ‘यो एकदम नयाँ कुमकुम प्रिन्ट हो सर, ... अहिले चलिरहेको ‘रङ र जीवन’ भन्ने टीभी सिरियल हेर्ने गर्नुभएको छ नि, त्यसमा यही साडी त लाउँछे नि हिरोइनले, ... बाह्र सय रुपियाँ मात्रको हो।’

‘यो युनिक पिस हेर्नुस् त, यस्तो मयूरपन्नी रङ ­डिजाइन ­कपडा र रेटमा कहीँ भेट्नुहुन्न तपाईंले ! ...अठार सय मात्र !’

‘सिफनमा यस्तो बुट्टा त कतै भेटिँदैन, हजुर ! एकदमै रेअर छ यो। ...नौ सय पचासमा यस्तो साडी अरू कहीँ भेट्नुभएछ भने, म यो सित्तैमै दि’दिन्छु !’

यता पति भन्दैछ, ‘योभन्दा कम रेन्जको देखाउनु न।’

उता पत्नी सोकेसको अन्तिम लुगाको जादुजस्तै सौन्दर्यमा बाँधिइरहेकी छे। ...गेरु रङमा हल्का हरियो र गाढा कलेजी रङमा खरानी रङका मसिना सिताराको अद्भुत शिल्पकारी यस्तो लाग्छ, मानौं ईश्वरकै कुनै कृति हो; र किनारामा भएको जरीको काम विष्णुको मायाजस्तै ! स्त्रीले सबै कुरा बिर्सी र मनको कुरा मुखमा एकाएक आफैं आयो, ‘कति राम्रो साडी !’

‘त्यो साडी हैन म्याडम, लेहंगा हो’, पसलेले– जसले ग्राहकका पर्समा कति धुकधुकी छ भन्ने यतिन्जेलमा बुझिसकेको थियो स्त्रीतिर नहेरीकनै भन्यो।

‘लेहंगा हो ! ! कति सिम्पल ! ! कतिको हो यो ? ’

‘दुई हजार पर्छ, म्याडम।’

‘यो लेहंगाको दुई हजार मात्र !!’ प्रसन्नताले चकित भएकी स्त्रीले नभनी रहन सकिन। उसका आँखा, अनुहार र मुस्कानबाट खुसी पोखिन थाल्यो; पसलेले एउटा सम्भावना समात्यो, ‘बस्नुस् म्याडम, सेम यस्तै पिस झिक्न लगाउँछु तपाईंका लागि। ए बन्टी; त्यो दाहिनेतिरको पहिलो गड्डी देखा त, म्याडमलाई।’

‘जे लिन भनेर आएको, त्यो साडीचाहिँ हेरिसकूँ न पहिले !’ पतिको स्वरमा विवशता र हप्काइ दुवै थिए।

‘त्यो हजुर हेर्नुस् न’, मानौं पत्नी अर्कै मान्छे भइसकेकी थिई।

यस बेला दोकानको कामदार पत्नीलाई जरी भरेको लेहंगा देखाउँदै थियो र दोकानदार पतिलाई एकपछि अर्को साडी,

‘यो एकदम सिम्पल, सोवर, साइनी, साउथ लुकको, ... सात सय रुपियाँ मात्र।’

‘यो चुनरिया प्रिन्ट, ... मात्र साढे छ सय रुपियाँ।’

‘हैन, हामीलाई योभन्दा पनि कम रेन्जको... तपाईंलाई भनेँ नि, गिफ्ट दिने खालको। आफ्ना लागि भएको भए महँगै लिइहालिन्थ्यो नि।’ पुरुषले निरीह भएर मुस्काउँदै भन्यो।

‘कुन रेन्जको साडी चाहिएको हो तपाईंलाई ? ’ साडी खोल्दै गरेको पसलेको हात रोकियो।

‘तीन चार सयसम्मको।’ पतिले आफ्ना गोडालाई स्टुलमुनि अझ बढी खुच्याउँदै भन्यो।

‘ऊ, त्यहाँ बाहिरपट्टि डेलिवेयर साडीका गड्डी राखेका छन्, तपाईं आफैं हेरिहेर्नुस्’, पसलेले स्वच्छ आकाशको मर्निङ स्टार्सदेखि लिएर साइनी साउथसम्मलाई बटुल्दै भन्यो।

अहिले अर्को ग्राहक आइपुगेकाले उसले फेरि सपनाजस्तै साडीहरू देखाउन सुरु गरिसकेको थियो,

‘यो हेर्नुस् म्याडम्, एकदम नयाँ ट्रेन्ड ! तपाईंले बजारभरिमा यस्तो साडी अन्त कहीँ भेट्नु हुन्न।’

यता वशीभूत अनुहारले लेहंगाको इन्चइन्चलाई हेरिरहेकी पत्नीलाई पतिले छिसिक्क छोयो,

‘राशि, आऊ यी साडी हेरौं।’ उसको नजर पसलको बाहिरपट्टि राखेका सादा, नरम साडीहरूतिर थियो।

‘हैन ! पहिले यो हेरौं न ! कति राम्रो लेहंगा रहेछ र त्यो पनि मात्र दुई हजार रुपियाँमा !! त्यो मेरी साथी छे नि मीनु, उसले बिहेमा ठ्याक्कै यस्तै लेहंगा लगाएकी थिई। १० हजार परेको भन्दै थिई। त्यति बेला भर्खर आएको थियो यो डिजाइन; अहिले डेढदुई वर्षमा यो यस्तो कमन भइसक्यो। सोच्नुस् त ! दुई हजारमै पाइँदै छ ! लिऔं न !’­ पत्नी सकेसम्म सानो स्वरमा भन्दै थिई; तर उसको खुसी कुनै तवरले पनि कम हुन सकेको थिएन।

‘पछि लिऊँला ! अहिले गिफ्टको लागि जे लिन आएका, त्यही हेरौं।’

‘तर दुई हजार त बोकेकी छु मैले !’

‘राशि प्लिज...!’ पतिले पसले र कमदारहरूको गाडिएको दृष्टिमा आफूलाई भरसक सहज देखाउँदै भन्यो; तर उसको स्वरको मर्म पत्नीले अनुभूत गरी र पुलुक्क पतिको अनुहारमा हेरी। त्यो अनुहारमा उसले आफ्नो सम्पूर्ण वैवाहिक जीवनलाई झलझली देखी, दुई वर्षअघि विवाहभन्दा पहिलेका लजालु­ सपना­ सुन्दरताका दिन।

विवाहको सपना जस्तैजस्तै लाग्ने सत्य।

त्यान्द्रात्यान्द्रा जोड्ने नयाँ गृहस्थीको संघर्ष !

मानौं, पत्नी पूरै होशमा फर्किई; ...पतिको आम मान्छेको जस्तो कमाइ, ...भाडाको फ्ल्याट, कुनै दिन एउटा आफ्नै घर हुने सपना, ...अरू केही वर्ष बच्चा नजन्माउने विवश निर्णय, ...एक एक पैसा कन्चो कन्चोको बचत !

पलभरमै पत्नीको अनुहारबाट एकछिन अघिको खुसी पुतलीजसरी उडेर गयो, यता भने पसलको कामदार सोधिरहेथ्यो, ‘उसो भए यसलाई प्याक गरिदिऊँ ? ’

‘हैन, एकछिन पख्नुस् ! यसमा अरू रङका पनि छन् ? ’, हृदयदेखि मन परेको व्यक्त गरिरहेकी नवयुवती स्त्री बुझ्न सकिरहेकी थिइन, सीधै कसरी नलिने भन्नु भनेर।

कामदार अर्को रङको लेहंगा लिन उठ्यो र यसैबीच पतिपत्नी मौन अनुहारले देबे्रतिर राखिएका सस्ता साडीहरू छुन­ जाँच्न थाले।

‘यो ठीक छ।’ एउटा गुलाबी रङको साडीमा दुवैले एकैसाथ स्वीकृति जनाए।

उता कामदारले अर्को रङको लेहंगा फिँजायो,

‘हेर्नुस् म्याडम, यो पहेँलो र कलेजीको कम्बिनेसन ! यो पनि एकदम सुहाउँछ हजुरलाई।’

कामदारले उभिएर लेहंगा आफैंमा टाँसेर देखायो।

स्त्रीका आँखा तेजिला भए र निभे।

‘होस्, छोड्दिनुस्। अहिले यो साडी मात्र प्याक गरिदिनुस्।’

‘तर हजुरलाई त्यस्तो मन परेको छ, लेहंगा ! आउनुस्, डिस्काउन्ट गरिदिन्छु।’

‘हैन, फेरि कुनै दिन लैजाऊँला। अहिलेलाई यही साडी मात्र...!’

साडीको पैसा तिरेर दुवैजना पसलबाट बाहिर निस्किए। नवयुवती पत्नीको अनुहारमा सामान्य घुर्मैलो साँझजस्तै उदासी थियो। पतिले उसको काँधमा हात राख्यो, ‘तिमीलाई त्यो लेहंगा एकदमै मन परेको थियो ? ’

र पत्नीले मानौं सुन्दै सुनिन; सडक पारिपट्टि पुगेर चाट बेच्ने ठेलातिर जाँदै गर्दा उसको अनुहारमा नयाँ रङ आइपुग्यो— सानो पुतलीजस्तै खुसीको रङ !

उसले भनी, ‘हामीले चाट नखाएको कत्ति भइसक्यो नि है !’


(इन्दिरा दाँगी हिन्दी भाषाकी लेखिका हुन्। भारतको मध्यप्रदेश राज्यको राजधानी भोपालमा बसेर लेखनमा क्रियाशील दाँगीका ‘हवेली सनातनपुर’ र ‘पटिले राजपथ’ शीर्षकका दुई उपन्यास, ‘आचार्य’, ‘रानी कमलापति’ र ‘राई’ शीर्षकका तीन नाटक तथा ‘एक सौ पचास प्रेमिकाएँ’ र ‘शुक्रिया, इमरान साहब’ शीर्षकका दुई कथासंग्रह प्रकाशित छन्। साहित्य अकादमी युवा पुरस्कार तथा भारतीय ज्ञानपीठ नवलेखन अनुशंसा पुरस्कारलगायत भारतका प्रतिष्ठित पुरस्कारबाट सम्मानित दाँगीका कथाहरू नेपालीबाहेक अंग्रेजी, रुसी, उर्दु, मलयालम, उडिया, तेलुगु, सन्थाली, कन्नड एवं मराठी भाषामा अनूदित भई विभिन्न ठाउँबाट प्रकाशित भएका छन्।)

अनुवाद  :  सुमन पोखरेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.