‘मोजाइक’ बनाउनुपर्ने नेपाली राष्ट्रियता

‘मोजाइक’ बनाउनुपर्ने नेपाली राष्ट्रियता

विभेदको खेती

हामी विभेदको खेतीमा छौं। कमीको सिद्धान्त (डेफिसिएन्सी थ्यौरी) बोकेर, बोकाएर। पुराना घाउ कोट्याएर। हिजोका कमी कमजोरी उधिनेर। बहुलतालाई एकै सूत्रमा नउनेर। नउनाएर। त्यसैले हामी जात, जाति, जातिगत सोच, राष्ट्रराज्य आदिकै सेरोफेरोमा अल्झिएका छौं। मोजाइक नगरेर। नगराएर।

यति हुँदाहुँदै पनि हामीले बुझेका छौं कि जाति शारीरिक हो। शरीरसँग सम्बद्ध। जातिगत (इथ्नेसिटी) भनेको सांस्कृतिक विरासत हो। भाषा भेषभूषासँग सम्बन्धित। राष्ट्रियता –नेसनालिटी) भौगोलिक र कानुनी कुरा हो। नागरिकतासँग सम्बन्धित। शरीरको आकार प्रकार हेरेर छुट्टिए तथा छुट्ट्याए जातीय विभेद भयो।

संस्कृति तथा भाषाको आधारमा छुट्टिए तथा छुट्ट्याए जातिगत विभेद भयो। भूगोल र कानुनका कुरामा टेकेर छुट्टिए तथा छुट्ट्याए राष्ट्रियताको विभेद भयो। यसैमा तुलना जोडेर आग्रह एवं पूर्वाग्रहको प्रवृत्ति बोके बोकाए जातीय केन्द्रवाद (इथ्नोसेन्ट्रिज्म) भयो।

दुर्भाग्य के हो भने नेपाली राजनीतिज्ञले सबै कुरा एकसाथ बोकाए। खसआर्य भनेर संविधानमा लेखे। मंंगोल भनेर अभ्यासमा ल्याए। फलानो जातिको भाषा र संस्कृति भनेर जातिगत मानसिकता बोकाए। राष्ट्र र राष्ट्रराज्य (नेसनस्टेट) भनेर विभेदी मानसिकता बोकाए।

जात जातीय राज्यको टुक्रे बुद्धि बोकाएर जातीय केन्द्रवाद निम्त्याए। त्यसैलाई प्राज्ञिकले सघाए। सामाजिक रूपान्तरकले सिकाए। विकासेले सिकाए। परिणामतः हामी टुक्रे नैं बनिरह्यौं। बनाइरह्यौं। भूगोलमा बाँडिने। भाषामा बाँडिने। जातमा बाँडिने। जातीमा बाँडिने। इतिहासमा बाँडिने। संस्कृतिमा बाँडिने।

अझै यो क्रम जारी छ। राजनीतिज्ञबाट। प्राज्ञिकबाट। साहित्यकारबाट। जात तथा जातीयताका वकालतकर्ता (एडभोकेटर/एक्टिभिस्टस्) बाट। विकासे कार्यकर्ताबाट। यसैले हामीले वाल्मीकि रामायण (६–१२४–१७) को भनाइलाई बोक्न सकेनौं। बोकेनौं। बोकाएनौं। त्यसको भनाइ निम्नानुसारको छ। पहिला दुई पंक्ति भारद्वाजले रामलाई सिकाएका हुन्। दोस्रा दुई पंक्ति रामले भाइ लक्ष्मणलाई सुनाएका हुन्।

मित्राणि धन धान्यानि प्रजानां सम्मतानिव।
जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी।।
अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते।
जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी।।

माथिका दुवै पंक्तिका दोस्रा हरफले मातृभूमिलाई ठूलो मान्छ। मित्रभन्दा। धनभन्दा। अन्नभन्दा। सुवणमयी लंकाभन्दा। नेपालको सन्दर्भमा मातृभूमि नेपाल। श्री ५ पृथ्वीनाराण शाह तथा बहादुर शाहले जोडेको नेपाल। बीसे नगर्चीले अर्थतन्त्र सिकाएको नेपाल। मणिराम गन्धर्वले गर्विलो कर्खा गाएको नेपाल। बांगेसार्कीले सघाएको एकीकृत नेपाल।

भारतमा आएको इस्ट इन्डिया कम्पनीसँग भिडेर अमर सिंह, बलभद्र, तथा भक्ति थापाले बचाएको नेपाल। गजराज मिश्र तथा चन्द्रशेखर पाध्याले ‘कुइ¥या’सँग सुलह गरेर साँधसीमा गरेको नेपाल। श्री ३ जंगबहादुर राणाले थपेको नेपाल। सत्ययुगमा सत्यवती नाम भएको नेपाल। त्रेतायुगमा तपोभूमि बनेको नेपाल। द्वापरयुगमा मुक्तिसोपान भएको नेपाल। कलीयुगमा नेपालका पुरी भनी चिनिने नेपाल।

मोजाइक राष्ट्रवादी बनाउन अरूले गरेको प्रयास

मैले चीन, भारत, रुस तथा अमेरिकी अभ्यासहरू खोजें। राष्ट्रवादी बन्ने अभ्यास। बनाउने अभ्यास। मेरो खोजले भन्छ– कन्फुसियसले सिकाएको संस्कृतिको माया चीनले छोडेन। अध्यात्मको माया। गुणवत्ताको माया। माओले सिकाएको भूगोलको माया बिर्सेन।

देङसियाओपिङ र सिजीपिङले सिकाएको देशभक्तिमा आधुनिकता जोडने अभ्यास बिर्सेन। इतिहासले सिकाएको बोक्नैपर्ने मूल्यमान्यता (मस्ट टु बी फलोड भ्यालु) र सभ्यता छोडेन। एकता र जातजातीय सद्भाव कायम राख्ने राजनीतिक अभ्यास बिर्सेन। यसरी चिनियाँहरू राष्ट्रवादी बने। बनाइए।

भारत ५ सय ८४ देशमा बाँडिएको भूगोल हो। अंग्रेज र तदन्तरका सरकारले यसलाई जोडे। पछिल्लो समय केही फुटे। केही जोडिए। यसरी एकत्रित भएको भारतले गीतबाट राष्ट्रवाद जगायो। राजनीतिक नेताका भनाइबाट राष्ट्रवाद जगायो। धर्मगुरुका भनाइले जगायो। प्राज्ञिकका लेखहरूले जगायो। विकासेहरूका अभ्यासले जगायो। 

शान्ति, स्वतन्त्रता, उदारता, मुक्ति, सशक्तीकरण, देशप्रेम आदिलाई विकासमा जोड्ने तरिकाले राष्ट्रवाद जगायो। पाँच टेरिटोरी र आइल्यान्डमा बाँडिएको अमेरिकामा ५० वटा राज्य छन्। तिनलाई पोसाकले राष्ट्रवादी बनायो। बेनफ्रयाङलिन पोसाकले। बेत्से पोसाकले। रस एपेरल टिसर्टले। फिड्म हुड्डीले। इतिहासको गर्वले। शैक्षिक लचकताले। राजनीतिक नेताको बोली र गराइले। सञ्चारका साधनले। ती सबैले एकोहोरो भनिरहे अमेरिका पूर्ण (पर्फेक्ट) छ। 

रुसलाई इतिहासको गर्वले राष्ट्रवादी बनायो। देशको भविष्य राम्रो छ भन्ने राजनीतिक नेतृत्वले बनायो। प्राज्ञिक दुनियाँको सोचले बनायो। शैक्षिक अभ्यासले बनायो। साहित्यकारहरूको लेखनले बनायो। संस्कृतिमा गर्व गर्ने संस्कारले बनायो।

राष्ट्रवादी बन्ने बनाउने उपक्रमहरू

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति गंगाप्रसाद उप्रेतीले कुनै बेला भन्नुभयो– राजनीतिले तोड्छ। संस्कृतिले जोड्छ। उहाँको यो भनाइले नेपाली राजनीतिज्ञलाई तोडक भनी चिनायो। तर माथिका देशहरूले राजनीतिलाई जोडक बनाए।

  श्री ५ पृथ्वीनारायण शाहले भूगोल जोडे मन जोडेनन् भनी हिँड्ने राजनीतिज्ञलाई मन जोड्ने तिम्रा सोच के हुन् ?   अभ्यास के हुन् ?   फाटेका मन जोड्न हाल के गर्दैछौ ? भन्ने प्रश्न गर्नुपर्छ।

तोडक कुरामा रमाउने राजनीतिज्ञलाई ‘मोजाइक’ बनाउने देश–विदेशका अभ्यासहरू पढाउनु पर्छ। सिकाउनु पर्छ। तोडक कुरा गर्नेहरू देशका राजनीतिज्ञ हुन सक्तैनन् भन्नुपर्छ। तसर्थ हाम्रो पहिलो उपक्रम राजनीतिज्ञलाई नेपाली बहुलता चिन भन्नुपर्छ। यतिले पुग्दैन। त्यसका सांस्कृतिक रसायन बुझ भन्नुपर्छ। पुर्खाको योगदान बुझ भन्नुपर्छ। अनि चीन, भारत, अमेरिका, तथा रुसजस्ता देशले कसरी मोजाइक राष्ट्रवादको विकास गरे भनी सिकाउनु पर्छ। अहिले हामी सांस्कृतिक पुनरुत्थानमा छौं। अध्ययन, अनुसन्धानबाट। सभा, समारोहबाट। चाडपर्वबाट। एक अर्काका चाडबाडमा रम्ने रमाउने अभ्यासबाट। खानपानको आस्वादनबाट। भेषभूषाको सारन तारनबाट।

​​​​​​​यस स्थितिमा हाम्रो दोस्रो उपक्रम हुनुपर्छ– संस्कृतिका मूलहरूको मिलनको खोजी। अर्थात् वेद, उपनिषद्, रामायण, महाभारत, गीता, पुराणहरूको सम्बन्ध धम्मपद, त्रिपिटक तथा जातककथासँग कहाँ कहाँ छ ? कहाँ फरक छ ? किन त्यो फरक आयो ? यी र यस्ता कुराको खोजी गर्नुपर्छ।

यही अभ्यास मुन्दुम, रिलुङ, होसुङसँग पनि गर्नुपर्छ। प्येताँ ल्हुताँ, केर्लाे, डेमोसँग पनि सोही काम गर्नुपर्छ। कुरान हदिससँग के सम्बन्ध छ भनी खोज्नुपर्छ। यसबाहेक अन्य धर्मावलम्बीका शास्त्रहरूमा पनि यस प्रकारको खोजी गर्नुपर्छ। समानताको यो खोजीले सांस्कृतिक मोजाइक सुनिश्चित गर्छ।
भाषा, लिपि तथा शास्त्रहरूको खोजीमा पनि हामी क्रियाशील छौं। यो खोजीमा हामीले भाषालाई सम्बन्धित जात जातिको मात्र हो भन्ने भनाउने अभ्यास गरेका छौं। यो घातक अभ्यास बदल्नु तेस्रो उपक्रम हो। भाषा देशको हो। जसले धेरै भाषा जान्दछ, त्यसको दिमाग तेज हुन्छ। स्वास्थ्य राम्रो हुन्छ। न्यूरो मेडिकल साइन्टिस्टको अहिलेको खोज यही हो। यो खोज नजान्दा पनि राजा प्रताप मल्ल १६ भाषाका विज्ञ थिए। योगी नरहरिनाथ पनि धेरै भाषाका जानकार थिए।

आधुनिक प्रविधिको पहुँचले गर्दा अहिलेका विद्यार्थी पनि बहुभाषी छन्। बसाइँसराइले गर्दा विद्यालयका कक्षाहरू वहुभाषी बन्दै गएका छन्। यस स्थितिमा एकअर्काका भाषा सिक भने पुग्छ। लिपि सिक भने पुग्छ।

शिक्षक तथा विद्यार्थी मिलेर बहुभाषी शब्दकोश तथा वाक्यकोश बनाउँ भने हुन्छ। अनपढ बाबुआमाले भाषा सिकाएर जान्ने भएका हामीले तिनैलाई 
‘पाइताले शिक्षक’ बनाए हुन्छ भन्नुपर्छ।

भाषान्तरले साहित्य जोडनेहरू छौं। लिप्यान्तरले एकअर्काका लिपि सिक्ने सिकाउनेहरू पनि छौं। आफ्नोभन्दा बाहिरको भाषा र संस्कृतिमा आधारित साहित्य लेख्ने शोधकर्ताहरू पनि छौं। युनिकोडको तरिकाले भाषाहरू जोड्ने एप्स तथा प्रोग्राम्ड लर्निङका अभ्यासीहरू पनि छौं। यी र यस्ता अभ्यासको खोजी तथा मूलधारीकरण गर्नु चौथो उपक्रम हो।

बहुपोसाक नेपालीको पहिचान हो। भूगोलले दिएको। संस्कृतिले दिएको। आयातीत पोसाकले गर्दा शिला खोज्नु पर्ने अवस्थामा भएको। सरकारी पोसाक बनाउँदा भूगोलहरू जोड्न बिर्सिएको। यीमध्ये कतिपय पोसाकका जातजातीय संग्रहालय छन्। संकलन छन्। सिलाइ केन्द्र छन्। तिनलाई पालिका, पालिकामा संग्रहित गर्नु पाँचौं उपक्रम हो। पोसाक नै जम्मा पारेर। फोटो खिचेर माउन्ट गराएर। पोसाकको डिजिटल आर्काइभ बनाएर।

हातहतियार, भाँडाकुँडा, शृंगारका साधन, वाद्यवादनका सामग्री आदि संकलन गर्ने अभ्यास पनि बढेको छ। व्यक्तिगत तहमा। समूह तहमा। जातजाति तहमा। भौगोलिक तहमा। सांस्कृतिक त हमा। यी अभ्यासहरूको पालिका, पालिकामा विस्तार गर्नु छैटौं उपक्रम हो। संग्रहालयको रूपमा। पर्यटन सामग्रीको रूपमा। खाद्यान्न, जडीबुटी, चराचुरुंगी, कीटपतंग, बिउबिजन, जीवजन्तु आदिका संकलकहरू पनि यत्रतत्र छन्। तिनका अभ्यासलाई पालिका तहमा लानु सातौं उपक्रम हो।

कला संकलन तथा प्रवद्र्धन गर्ने अभ्यासहरू यत्रतत्र देखिएका छन्। मूर्तिकलाका रूपमा। काष्ठकलाका रूपमा। धातुकलाका रूपमा। चित्रकलाका रूपमा। यस्ता कलाहरू नेपालभर छन्। पालिका, पालिकामा तिनलाई संकलन गर्नु आठौं उपक्रम हो।

बहुमूल्य ढुंगा संकलनका अभ्यासहरू पनि कताकति देखिन्छन्। हिमाली ढुंगा। पहाडी ढुंगा। मधेसी ढुंगा। यस्तै माटो संकलन हुन सक्छ। काठ संकलन हुन सक्छ। यी र यस्ता अभ्यासीहरूको पहिचान र तिनको संस्थागत विकासमा लाग्नु नवौं उपक्रम बन्न सक्छ। 

रैथाने, शास्त्रीय तथा सर्जक ज्ञान, विज्ञान, सीप एवं प्रविधि संकलन अहिलेको खाँचो हो। त्यसैमा आधारित विकास गर्नु देशको उन्नति हो। अहिले हामी आयातीतमा रमाएका छौं। यो घातक अभ्यास हो। पहिचान गुमाउने। परम्परा टुंग्याउने। यस्ता कुराको खोजी दसौं उपक्रम हो।

शब्दावलीमा हामी समावेशिता घोक्छौं। घोकाउँछौं। राष्ट्रिय गान घोकेजस्तो। घोकाए जस्तो। राजनीतिक दलले अजमाएका शब्दहरूको पुनरावृत्ति गरेजस्तो। 

यस्तो अभ्यासको शिक्षा बदल्न शिक्षणकला (पेडागोजी) बदल्नु एघारौं उपक्रम हो।

टुंग्याउनी

​​​​​​​भूगोल, इतिहास, संस्कृति, धर्मशास्त्रीय तथा रैथाने ज्ञान, सीप, विज्ञान, प्रविधि, कला, उपज, प्रकृति, प्रविधि, पोसाक, भाषा, लिपि आदिमा गर्व गर्न लगाउने राजनीतिले राष्ट्रवाद जगाउँछ। आशा तथा सम्भावना देखाउने नेतृत्वले हाम्रोपना बचाउँछ। दुर्भाग्य के हो भने हामी खण्डित नेता, प्राज्ञ, पत्रकार, साहित्यकार, अ/गैसस, वकालतकर्ता, इतिहासविद्, भाषाविद्, शिक्षक/प्राध्यापक, वुद्धिजीवी, समाजसेवी आदिको चपेटामा परेका छौं। पारिएका छौं। यो अनुभूति हामी सबैले बोक्नासाथ पालिका, पालिकामा संग्रहालयहरू बन्छन्। पर्यटनस्थलहरू विकसित हुन्छन्। शिक्षक/प्राध्यापक, विद्यार्थी आदि संकलक बन्छौं। पालिका संयोजक बन्छ। हिजो, आज तथा भोलिका युवाले राष्ट्रवादको स्वाद पाउँछन्।

सम्भावना आफैं खोज्छन् उनीहरूले। आशावान आफैं बन्छन्। संघ, प्रदेश तथा पालिकामा सघाउने हातहरू भेटछन्। गुजारामुखी अर्थतन्त्रमा बसे पनि। बचतमुखी अर्थतन्त्रमा रहे पनि। बजारमुखी अर्थतन्त्रमा रमाए पनि।

परिणामतः विचार संकलनका लागि ड्यासबोर्डको सहायता लिन्छन्। परीक्षणका लागि जोखिमकर्ताको आड लिन्छन्। लगानीका लागि सबै बालबालिकाको अनिवार्य बचत गर्न थाल्छन्। वित्तीय संस्थाले सघाएर। पालिकाले थपेर। अभिभावकले सन्तती बचतको दैनिकी बनाएर। आफैंले कमाउने अभ्यास गरेर। पालिका, सहयोगी समूह तथा निजी संस्थाले उत्पादित वस्तु किनेर। किनाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार उपलब्ध गराएर। मेरो देशमा के छैन र ?   भन्ने संस्कृति बनाएर।

१ सय ४५ वटा हिमाल छन्। सुन्दरता बेच्न बेचाउन सक्छौं। पहाडका थुम्का छन्। प्राकृतिक म्युजियम बनाउन सक्छांै। सम्म मैदान छ। खाद्यान्न फलाउन सक्छौं। पोखरीहरू छन्। अनेकन सम्भावना खोज्न खोजाउन सक्छौं। भाषा छन्। संस्कृति छन्। सिर्जना छन्। कला छन्। यस्ता अनेकन कुरा बेच्न सक्ने तागत भएका नेपाली छौं। संवेग र विवेक मिलाउन जान्नेहरू। त्यसैमा आधुनिक प्रविधि जोड्नेहरू। स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार जोड्नेहरू। हामीलाई बल दिने सोचका श्लोक छन् :

 अमन्त्रमक्षरं नास्ति नास्ति मूलमनौषधम्।
अयोग्यः पुरुषो नास्ति योजकस्तत्र दुर्लभः।।

जोड्ने जोडाउने नेतृत्व खोजौं। बहुक्षेत्रका नेतृत्व। हामी स्वतः राष्ट्रवादी हुन्छौं। भोलिको नेपालमा सबै क्षेत्रका टुक्राहरू मिलाउने मोजाइककर्मीहरूको उत्पादन गर्छौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.