'लागुआैषधको दलदलमा युवा'

'लागुआैषधको दलदलमा युवा'

 

राजकरण महतो। बर्दिबास

बर्दिबास  :  गत भदौ ५ गते बर्दिबास नगरपालिका–६ का १९ वर्षीय अनिल राउतको साथबाट लागुऔषध बरामद भयो। प्रहरीले उनलाई बर्दिबास चोकबाट लागुऔषध नाइट्रोभेटसहित पक्राउ गरेको थियो।

 गत भदौ २३ गते बर्दिबास चोकबाटै जनकपुर उपमहानगरपालिका–१४ का २९ वर्षीय अजित चौधरी पनि प्रहरी फन्दामा परे। उनको साथबाट नाइट्रोभेट र स्पास्मोप्रोक्सिभन बरामद भयो।

 हेटौंडाबाट बसमा ल्याउँदै गरेको १४ किलो गाँजासहित गत असोज २९ गते तीन युवा पूर्व–पश्चिम राजमार्गअन्तर्गत माईस्थान जंगलबाट पक्राउ परे। सर्लाही लालबन्दी–५ का ३५ वर्षीय प्रेमबहादुर खड्का, हेटौंडा उपमहानगरपालिका–१९ का ३२ वर्षीय हरिलाल मोक्तान र बर्दिबास–८ का ३० वर्षीय राजाराम यादव पक्राउ परेका थिए।

यी युवा लागुऔषधसहित बर्दिबासबाट पक्राउ परेका प्रतिनिधि पात्र हुन्। इलाका प्रहरी बर्दिबासको अपराध अनुसन्धान शाखाका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा लागुऔषध शीर्षकमा १४ वटा घटना दर्ता भएका थिए। एक महिलासहित २४ जना लागुऔषध तस्कर तथा दुव्र्यसनीमा फसेकाहरूविरुद्ध मुद्दा चलाइएको छ।

लागुऔषधका १४ घटनामा पक्राउ परेकाहरूका साथबाट गाँजा २८ किलो, नाइट्रोभेट१ हजार ५ सय २०, स्पास्मोप्रोक्सिभन २ सय ९७, डाइजेपाम र ब्रुफिनोर्फिन १०–१० ट्याब्लेट बरामद भएको थियो। लागुऔषध मुद्दामा पक्राउ परेका १६ देखि ४५ वर्ष उमेर समूहका युवा छन्। अधिकतम ३० वर्ष उमेर समूहका युवा लागुऔषधका अमली तथा तस्करीमा संलग्न रहेको जनाइएको छ।

भिट्टामोड, कनहँमा, मधवापुरलगायत भारतीय सीमावर्ती बजारबाट सीमा नाका हुँदै महोत्तरीमा लागुऔषध औसारपसार हुने गरेको प्रहरीले जनाएको छ। सीमा नाकाबाट प्रहरी पोस्टसम्म जाँचमा कडाइ नहुँदा ४२ किलोमिटर दक्षिणबाट आधा दर्जन प्रहरी बिट छिचोल्दै महोत्तरीको उत्तरी क्षेत्र बर्दिबासमा तस्करले लागुऔषध ल्याइपु¥याउँछन्।

बर्दिबासका चोकचौराहा, मठमन्दिर, हाटबजार, सुनसान जंगल, सार्वजनिक स्थानमै लागुऔषध सेवन तथा कारोबार हुने गरेको पाइउको छ। बर्दिबास बजार, शिव मन्दिर, बर्दिबास अस्पताल आसपास, कृषि तथा पशु कार्यालय परिसर, त्यहाँ रहेको विद्यालय, बुद्ध चोक, गौशाला रोड, भब्सी जंगलको रेलवे लिक, पञ्चधुरा माईस्थान मन्दिरलगायत स्थान लागुऔषध दुव्र्यसनी तथा तस्करको रोजाइमा पर्ने गरेको स्थानीय बताउँछन्।

भारतीय प्रहरीले नेपालमा प्रतिबन्धित औषधि खरिद गर्न पुग्नेहरूमाथि निगरानी बढाए ७० प्रतिशत लागुऔषध तस्करी घट्ने प्रहरीको विश्वास छ।

बर्दिबासमा सयभन्दा बढी युवा लागुऔषध कुलतमा फसेको अनुमान छ। तर, उनीहरूको संगतमा असंख्य युवा रहेको जनाइएको छ। दुव्र्यसनीमा फसेका युवाको संगतले गर्दा बालबालिका पनि बिग्रिने गरेको जनाइएको छ। बर्दिबासमा लागुऔषधले नकारात्मक असर परेको भन्दै देउराली माविका प्राचार्य केदारबहादुर कोइरालाले चिन्ता जनाए। बीचमै स्कुल छाड्ने बालक दुव्र्यसनीमा फस्ने गरेको विद्यालय व्यवस्थान समिति महासंघ बर्दिबासका अध्यक्ष सोमबहादुर कार्कीको भनाइ छ। ‘लागुऔषध दुव्र्यसनको डरलाग्दो रूप छ’, उनले भने, ‘अभिभावक, स्कुल परिवार, नगरपालिका, प्रहरी–प्रशासन दुव्र्यसनी न्यूनीकरणतिर लाग्नुपर्छ।’

बेरोजगारीले बराली हिँड्ने युवा दुव्र्यसनीमा फस्ने गरेको अखिल नेपाल क्रान्तिकारी महिला संघकी सहसचिव पुनम महतोले बताइन्। ‘खर्च बढ्ने तर आम्दानीका बाटा नहुँदा युवाहरू मानसिक तनामा हुन्छन्’, उनले भनिन्,‘काम खोज्यो भनेजस्तो भेटिँदैन। तुरुन्त बढी रुपैयाँ कमाउन खोज्छन्। त्यसपछि लागुऔषध तस्करीमा फस्छन्। तस्करीसँगै सेवनकर्ता पनि बन्दै जान्छन्।’

लागुऔषध सेवन गर्नेसँग आर्थिक अभाव हुँदा उनीहरूले चोरी, लुटपाट, डकैतीलगायत आपराधिक क्रियाकपाल गर्ने गरेको प्रहरीले जनाएको छ। युवाहरू लागुऔषधमा फस्दा परिवारमा कलह भई समाज अशान्त बन्दै गएकोे इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी नकुल पोखरेलले बताए। ‘दुव्र्यसनमा फसेका युवाको भविष्य अनिश्चित छ’, उनले भने, ‘देश विकास गर्ने जनशक्ति उत्पादनै ठप्प छ।’

बर्दिबासको एक कार्यक्रममा राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले युवाहरू लागुऔषधको अमली बनेको भन्दै चिन्ता व्यक्त गरेकी थिइन्। भनिन्, ‘युवाबिना देश विकास असम्भव छ। त्यसैले सरकार यसमा गम्भीर बन्न जरुरी छ।’

बर्दिबासका मेयर विदुरकुमार कार्कीले लागुऔषधमा फसेका युवा पहिचान कार्यक्रम सञ्चालन गर्न चालू आर्थिक बर्षमा ५ लाख रुपैयाँको योजना सञ्चालन गरिने बताए। रोजगारमूलक कार्यक्रम सञ्चालन गरी कुलतमा लागेका युवालाई सही बाटोमा ल्याइने उनको भनाइ छ।

शान्तिका लागि युवा सञ्जालका अध्यक्ष सुरेश ठाकुरका अनुसार जिल्लाको कुल जनसंख्याको १३ प्रतिशत कुलतमा फसेका छन्। भारतीय प्रहरीले नेपालमा प्रतिबन्धित औषधि खरिद गर्न पुग्नेहरूमाथि निगरानी बढाए ७० प्रतिशत लागुऔषध तस्करी घट्ने प्रहरीको विश्वास छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.