बाघ संरक्षणमा समुदायको अग्रसरता
रत्ननगर : केही वर्ष अघिसम्म मानव वन्यजन्तुको द्वन्द्व बढेपनि पछिल्लो समय बाघ संरक्षणमा समुदायको अग्रसरता बढेको छ। बाघ संरक्षणका लागि समुदाय स्तरबाटै जागरुक भएका छन्। दुर्लभ पाटेबाघको संरक्षणमा विश्वको चासो बढेको बेला समुदायमा संरक्षणका लागि अभियान नै सञ्चालन हुँदै आएका छन्। चितवन राष्ट्रिय निकुञ्ज र यसका मध्यवर्ती क्षेत्रमा संरक्षणको गतिविधि हुँदै आएको छ।
मानिस र वन्यजन्तुको द्वन्द्व घटाउँदै समुदायलाई संरक्षणमा अग्रसर गराउन सचेतनाको कार्यक्रम सञ्चालन गरिँदै आएको छ। नेचर गाईड, मध्यवर्ती क्षेत्रका उपभोक्ता, पर्यटन ब्यवसायी आफैं अग्रसर भएका छन्। समुदायस्तरमा सडक नाटक, सचेतना र्यालीलगायतका कार्यक्रम गरिँदै आएको छ। सौराहामा बाघ संरक्षण उपसमिति नै गठन गरेर अभियान गरिँदै आएको छ। ‘बाघ र बन्यजन्तुबीचको द्वन्द्व घटाएर संरक्षणमा हाम्रो पहल हो’ बाघ संरक्षण उपसमितिका अध्यक्ष जितु तामाङले भने, ‘हामीले विद्यालय, समुदायबाटै जागरण ल्याएर बाघ जोगाउन हातेमालो बढाउन लागेका हौं।’
विश्व बाघ दिवसको अवसर पारेर आइतबार रत्ननगरको टिकौलीमा सचेतना कार्यक्रम गरियो। चितवन राष्ट्रिय निकुञ्जको वरण्डाभार क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गमा चलेका सवारी चालकलाई सचेत गरिएको थियो। कार्यक्रममा सवारी साधन चलाउँदा बन्यजन्तुको ख्याल गर्न आग्रह गरिएको थियो। जैविक मार्गमा चल्ने सवारीका चालकलाई वन्यजन्तु जोगाउने गरी सवारी हाँक्न आग्रह गरिएको थियो।
मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगानाले बाघ वासस्थानको अवस्था र बाघ मर्नुको कारणको खोजी नगरे बाघ जोगाउन गाह्रो हुने बताए। उनले भने, ‘बाघको अवस्था बढाउन स्थानिय जनताको क्रियाशिलता बढाउनुपर्छ।’
बाघको आहारा र बासस्थानलाई बाघ संरक्षणको चुनौतीको रुपमा लिइएको छ। मध्यवर्तीका उपभोक्ता विभिन्न वाहनामा वनमा जाँदा बाघको वासस्थान संकटमा रहेको बताइएको छ। मानिसको आवतजावत बढेपछि पानीका मुहानहरू सुकेपछि आहारका प्रजातीका जनावर घट्ने भन्दै यसका लागि सचेत पार्न थालिएको छ।
चोरी सिकारी एवं अवैध व्यापारका कारण बाघ संरक्षणमा चुनौती बढेको हो। केही वर्षयता बाघको संख्याबृद्धिमा सन्तोषजनक अवस्था रहेको छ। बाघ संरक्षणको पहलले विश्वमा पहिचान हुने भन्दै समुदायको जागरुकता सबैभन्दा बढी प्रभावकारी हुने राष्ट्रिय निकुञ्जका साहायक संरक्षण अधिकृत अभिनय पाठकले बताए। ‘सबैबाट संरक्षणको पहल नभए सरकारी लक्ष्यले मात्रै बाघको संख्या बढाउन सकिदैन’, पाठकले भने, ‘सरकार र समुदाय दुवैको पहलमा सजिलै लक्ष्य प्राप्ति हुन्छ।’
गत आर्थिक वर्षमा मात्रै निकुञ्जमा विभिन्न कारणले ६ वटा बाघ मरेका थिए। विश्वका १३ वटा देशमा पाटेबाघ पाइन्छ। तीमध्ये नौ प्रजातीका बाघ विश्वबाट लोप भइसकेको छ। अतिसंकटमा रहेको पाटेबाघ नेपालसहित भारत, भुटान र बंगलादेशमा मात्रै पाइन्छ। ७० वर्षअघि एक लाखको हाराहारीमा रहेको बाघ सन् २०१० सम्म आइपुग्दा तीन हजारमा झरेको थियो। अहिले नेपालमा बाघको संख्या १ सय ९८ वटा रहेको छ। तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा १ सय २० रहेको छ। सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या २ सय ५० पुर्याउने लक्ष्य राखिएको छ। बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, बाँके राष्ट्रिय निकुञ्जमा चार, पर्सा राष्ट्रिय निकुञ्जमा सात र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ बाघ रहेको सरकारी तथ्यांक छ।