निगुरो बेचेर खर्चको जोहो

निगुरो बेचेर खर्चको जोहो

भद्रपुर : झापाको मेचीनगर नगरपालिका–१२ कालीझोडाकी ७० वर्षीया दिलमाया राईलाई यति बेला निगुरो बेच्न हतारो छ । उनी पूर्व–पश्चिम राजमार्गमा गुड्दै गरेका गाडी रोक्दै ‘निगुरो तीन मुठा ५० रुपैयाँमा लैजानुहोला’ भन्छिन् । कहिले ३०–४० मुठा बिक्री हुन्छ भने कहिले त ७–८ मुठा मात्र जाने गरेको उनी सुनाउँछिन् ।

नातिनातिनाले जंगलबाट निगुरो टिपेर उनलाई ल्याइदिन्छन् । उनी बाटोछेउ बसेर त्यही निगुरो बिक्री गर्छिन् । विद्यालयको एकमहिने बिदा अवधिमा उनका नातिनातिनाजस्ता बालबालिकाले आफूलाई चाहिने खर्च निगुरो बेचेर पु¥याउने गरेको दिलमाया बताउँछिन् ।

स्थानीय कालिका आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्ने सुनीता राई विद्यालय जाँदाको खाजा र कापी, कलम किन्ने खर्च जुटाउन एक महिना सुत्न मात्र घर जाने गरेको सुनाउँछिन् । भन्छिन्, ‘बिहान ६ बजे जंगल पस्छौं, १२ बजे भात खान निस्किन्छौं अनि फेरि जंगल पसेर साँझ ६ बजे मात्र जंगलबाट आउँछौं ।’

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको प्रगति सामुदायिक वन र कालीझोडा वनमा वैशाखदेखि प्रायः हरेक दिन निगुरो संकलन गर्ने स्थानीय भेटिन्छन् । अझै असार र साउनमा दैनिक २० देखि ३० जनाको समूह बनाएर जंगल पस्ने गर्छन् । चारआली राजमार्गबाट निगुरो टिप्न छिरेपछि करिब पाँच किलोमिटर जंगल हिँडाइमा मात्र फर्किने गरेको अर्की लक्ष्मी नेम्बाङ बताउँछिन् । हिँड्दा–हिँड्दै कहिले चन्द्रगढी सामुदायिक वन त कहिले हातेमालो सामुदायिक वनसम्म पुग्ने गरेको उनी सुनाउँछिन् । उनका अनुसार दिनमा करिब ५० देखि ६० मुठासम्म निगुरो टिप्न सकिन्छ । ‘अहिले भाउ छैन, जंगलकै अगाडि ५० रुपैयाँमा तीन मुठा बेच्ने गर्र्छौं’, उनी भन्छिन्, ‘दिनमा ७–८ सय रुपैयाँजतिको निगुरो बिक्री हुने गरेको छ ।’

हरेक वर्ष चाडबाड मनाउने निगुरो बेचेरै हो । त्यही पनि थोक व्यापारी आए भने ५० रुपैयाँमा चार मुठा माग्छन् । एक दिन राख्यो भने पनि बिग्रिने भएकाले मागेकै दाममा दिने गरेको उनी सुनाउँछिन् ।

परिवारका एक जना राजमार्गछेउ बसेर यात्रुलाई निगुरो बिक्री गर्छन् । बालबालिका र वृद्धवृद्धा बिक्रीमा बसेको देखेपछि ग्राहकले पनि किनिहाल्ने भएकाले आफूहरू जंगल पस्ने गरेको उनी बताउँछिन् ।

बिहान टिपेर ल्याएको निगुरो सबै बिकेका दिन मेचीनगर–१२ कै सानुमाया मगर दंग पर्छिन् । ‘दिनभर दुःख गरेर टिपेको निगुरो कहिले सबै बिक्छ, कहिले बिक्नै गाह्रो हुन्छ’, उनी भन्छिन्, ‘सबै बिक्दा परिवारलाई खर्च पुगेर नि हामीलाई स्कुल जाँदा गर्ने खर्च जोगिन्छ । कहिले आठ जनाको परिवार छाक टार्नै मुस्किल पर्छ ।’

उनका अनुसार परिवार त जसोतसो बाबु, दाजु, दिदीले मजदुरी गरेको पैसाले चलेको छ । घरमा पढ्ने उनी मात्र हो । खर्च धान्न नसकेर अरूले पढाइ बीचमै छाड्नुपरेको उनी बताउँछिन् । त्यसैले विद्यालय बिदाका बेला आपूmले बिहानदेखि बेलुकीसम्म जंगलमै बिताउने गरेको उनको भनाइ छ । सानुमायाका अनुसार विगतका वर्षमा जस्तो यसपालि निगुरो बिकेकै छैन । ‘अरू बेला त ७०–८० मुठासम्म सजिलै बिक्री हुन्थ्यो’, उनी भन्छिन्, ‘दिनमा अहिले ३० मुठा बिकाउन नि मुस्किल पर्छ ।’

अर्की स्थानीय सुकु लिम्बू दैनिक आवश्यकता पूरा नभएपछि निगुरो टिपेर बेच्ने गरेको बताउँछिन् । ‘स्कुलमा सबै साथी के के किनेर खान्छन्, राम्रो ब्याग बोकेर जान्छन्’, उनी भन्छिन्, ‘छुट्टीका बेला निगुरो बेच्दा केही पैसा जम्मा हुन्छ । यसले कापी, कलमसँगै स्कुलमा खाजा खर्चसमेत जुटाउँछु ।’

उनी मात्र होइन, कालीझोडा आसपासका धेरै बालबालिकाले दैनिक खर्च जुटाउन यसरी नै निगुरो बेच्ने गरेका छन् । धेरै महिलाले परिवारको पेट पाल्न दिनभर जंगलमा निगुरो संकलन गर्ने र साँझ परेपछि सडकपेटीमा बसेर निगुरो बेच्ने गर्छन् ।

०००

सडकछेउ निगुरो बेच्न बसेकी वृद्धा । राधा खनाल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.