'देवरलाई बधाई दिन मन छ, फोन उठ्दैन, घर देखेकी छैन'
ओखलढुङ्गाबाट फर्केर : नेपाल कम्युनिस्ट पार्टीका नेता, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलकी ७७ वर्षीय माइली भाउजू राधाकुमारी पोखरेल ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-२ निशंखे एक्लै बस्दै आएकी छन् ।
भूकम्पले चर्किएको घरमा बस्दै आएकी राधाकुमारीले प्रत्येक दशैँमा उपप्रधानमन्त्री पोखरेलका दम्पतिको फोटालाई टीका लगाइदिएर दशैँ मनाउने गरेकी छन् ।
चार वर्ष अगाडि देवर-देउरानीको फोटो मगाएपछि प्रत्येक वर्ष राधाकुमारीले फोटोमा टीका लगाउन छुटाउँदिनन् । ‘देवरले ४ वर्षअघि फोटो पठादिनु भएको थियो, त्यही फोटोमा दशैँमा टीका लगाइदिन्छु ’उनले भनिन् ।
आठ वर्षको कलिलो उमेरमा ईश्वर पोखरेलका माइला दाजु धर्मराजसँग उनी विवाह बन्धनमा बाँधिएकी थिएन् । श्रीमान् धर्मराजले राधाकुमारीलाई एक्लै छोडेर मधेसमा झरेपछि दोस्रो विवाह गरेका थिए । घरपरिवार भन्दा टाढा माइतीको नजिक बस्दै आएकी राधाकुमारीलाई सानो दोकान चलाएर जीविका चलाइरहेकी छन् ।
उनीसँगको छोटो संवाद
तपाईँ कुन बुहारी ?
- म माहिली
अरु कहाँ हुनु हुन्छ ?
- खै ! मधेसतिर होलान, कोही काठमाडौंतिर, म के जान्नु ?
हजुरको देवरको नाम के हो ?
- ईश्वर पोखरेल।
देवर मन्त्री हुनुभएको छ भन्ने थाहा छ ?
- छ नि किन नहुनु, आफ्नो मान्छे भएको थाहा हुन्न त।
मन्त्री भएपछि भेटघाट भएको छ देवरसँग ?
- भएको छैन ।
फोनमा कुरा हुन्छ देवरसँग ?
- म फोन त गर्छु, तर फोन उठदैन।
देवर मन्त्री हुँदा खुसी लागेको छ ?
- आफ्नो मान्छे मन्त्री हुँदा खुसी लाग्दैन त ?
मन्त्री भएका देवरलाई भेट्न किन नजानु भएको त ?
- देवरको घर नै देखेको छैन, कहाँ जाने ? एक पटक काठमाडौं जाँदा खोजेकी थिएँ, चुनाव रहेछ, चुनावको बेला डिस्टर्ब गर्नु हुन्न भनेर अरुले भने अनि नभेटी फकिएँ।
तपाईँको विवाह कति वर्षको उमेरमा भएको हो ?
- सात पुगेर आठ लागेकी थिएँ।
विवाहपछि किन बस्नु भए न त घरमा ?
- सात पुगेर आठ लाग्दा बिहे भयो, मैले जामा लगाएकी थिइनँ, पोखरेल घर त्यस्तो बालख बस्न सक्छ, मुल ढोका निस्कन नुहुने,जस्केला हिँड्नु पर्छ, सारीले उँधोका गोडा देखाउनु हुँदैन थियो, बाहिर हिँड्नु हुँदैनथ्यो, हिँड्दा पनि सास्ती।
विवाहपछि कति पटक घर जानु भयो त ?
- बीचबीचमा गएँ, दुई पटक गएँ, १२/१३ वर्षकी थिएँ।
कति वर्षमा श्रीमानले छोड्नु भयो ?
- उता मधेस जाने र उतै जागिर खाने गरेपछि अर्की ल्याएछन्, त्यसपछि आउजाउ भएन। चार/पाँच वर्षअघि श्रीमानको मृत्यु भएको खबर उतातिरकी छोरीले दिइन्। बरु उतातिरका जेठा छोराले खोजेको थियो रे हलेसी आएको बेला।
देवर ईश्वर पोखरेलसँग भेट हुन्छ ?
- यहाँ आउँदा समय निकल्नु हुन्छ, अस्ति मन्त्री देवरले च्यादर पठाइदिए भनेर केटाहरुले फुकिदिएछन्, गाउँभरी हल्ला भयो। तर भाइले लगाइदिएको हो च्यादर। यसको त देवरले घर पनि छाइदिएछन् भनेर गाउँभरी हल्ला गरेछन्।
राधाकुमारीलाई मन्त्री भएका देवर ईश्वर पोखरेल र सानै छोडेका श्रीमानप्रति कुनै गुनासो छैन । अन्तिममा सोधियो, तपाईँलाई श्रीमानले धोका दिनु भएछ नि, भनिन,'बरा कहाँ धोका दिनु ।'