फापेन मिस नेपाललाई चलचित्र : रुवि राणादेखि सृष्टि श्रेष्ठसम्म ‘फ्लप’
काठमाडौं : प्रेमकथामा आधारित चलचित्र ‘रोमियो एन्ड मुना’ले अपेक्षाकृत व्यावसाय गर्न नसके पनि पूर्वमिस नेपाल एवम् नायिका सृष्टि श्रेष्ठले सन्तोषको सास फेरेकी छन् । समिक्षक एवम् चलचित्रकर्मीले चलचित्र राम्रो माने पनि दर्शकले उनी अभिनित खासै रुचाएनन् । तर आफ्नो कामको प्रशंसा भएपछि भने सृष्टिले राहत महसुस गरेकी हुन् ।
भएन क्रमभंग
मिस नेपाल विजेताले ठुलो पर्दामा सफलता पाउन गरेको मेहनतले चलचित्र ‘रोमियो एन्ड मुना’ बाट सार्थक हुने विश्वास गरिएको थियो । तर असफल निरन्तरतालाई भंग गर्ने श्रेय सृष्टिले पनि पाउन सकिनन् ।
रिलिज हुनुअघि चलचित्रको ‘हाइप’ राम्रो थियो । प्रशन्न गोपालीको लगानीमा नरेशकुमार जोशीले निर्देशन गरेको चलचित्रमा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ र विनय श्रेष्ठ शीर्ष भूमिकामा थिए ।
चलचित्र ‘गाजलु’बाट रजतपटमा पाइला राखेकी सृष्टिलाई पहिलो चलचित्रले चर्चामा ल्याए पनि प्रशंसा पाउन सकिनन् । चलचित्र ‘रोमियो एन्ड मुना’जस्तै चलचित्र गाजलुले पनि प्रदर्शनअघि राम्रो चर्चा पाएको थियो । यस चलचित्रलाई चर्चामा ल्याउने पात्र सृष्टि र अनमोल केसी थिए ।
चलचित्र ‘जेरी’बाट रजतपट डेब्यु गरी ‘होस्टेल’ एवं ‘ड्रिम्स’जस्ता हिट चलचित्र दिएका अनमोल गाजलु प्रदर्शन हुने बेला ‘हट केक हिरो’ थिए । मोडलिङबाट अन्तर्राष्ट्रियस्तरमा पनि चिनिएकी सृष्टिले मिस नेपाल २०१२ को उपाधि जितेपछि नेपाली समाजमा चिनिएकी हुन् ।
भिडियोबाट चलचित्र
सन्नी लियोन अभिनित हिन्दी चलचित्र ‘ज्याकपोट’मा समेटिएको ‘कभी जो बादल बर्से’ गीतको अनप्लग्ड भर्सनको भिडियोमा समेत मोडलिङ गरेकी उनी पछिल्लो समय नेपाली चलचित्रमा क्रियाशिल छिन् ।
नेपाली चलचित्रमा सृष्टिमात्रै होइन अन्य मिस नेपालले पनि गतिलो छाप छाड्न सकेका छैनन् । धेरैजसो मिस नेपालले चलचित्र क्षेत्रमा आउने रुचि देखाएनन् भने आएकाले पनि पर्दामा चमत्कार देखाउन सकेका छैनन् ।
रुविदेखिको यात्रा
पहिलो मिस नेपाल रुवि राणाले आफ्नो ‘भुतुक्कै भएँ नि’, ‘अनमोल’जस्ता चलचित्रमा अभिनय गरेकी थिइन् । रुविले पछिल्लो समय मिलन चाम्सले निर्देशन गरेको चलचित्र ‘बोबी’मा पनि अभिनय गरेकी छन् । छोटो भूमिकामा देखिए पनि यस चलचित्रमा भने रुविले प्रशंसा पाएकी छन् ।
पहिलो मिस नेपाल रुविबाट सुरु भएको मिस नेपाल विजेताको कमजोर चलचित्र यात्रा अहिलेसम्म भंग हुन सकेको छैन । मिस नेपाल बनेर चलचित्रमा प्रवेश गर्ने कोही पनि अहिलेसम्म अभिनयमा पहिलो हुन सकेका छैनन् ।
झरना पनि चम्किनन्
चलचित्र ‘हतियार’बाट अभिनय सुरु गरेकी झरना वज्राचार्यको प्रयासलाई निकै सराहनीय मानिन्छ । हतियारपछि ‘भुुतुक्कै भएँ नि’, ‘सिउँदोको सिन्दूर’, ‘माया गर्छु म’, ‘चाहन्छु म तिमीलाई नै’, ‘अञ्जुली’, ‘भाइटीका’, ‘परे नि माया जालैमा’, ‘सञ्जीवनी’, ‘फेरि अर्को साइनो’, ‘कोही मेरो’जस्ता विभिन्न चलचित्रमा अभिनय गरिन् ।
तर पनि झरना अभिनित कुनै पनि चलचित्र स्मरणयोग्य हुन सकेनन् । वैवाहिक जीवनमा प्रवेश गरेपछि फेरि नायिकाका रूपमा चलचित्रमा देखिने उनको सम्भावना करिब न्यून छ ।
माल्भिका पनि निराश
मिस नेपाल विजेतामा प्रतिभावान् मानिने माल्भिका सुब्बाका लागि पनि चलचित्र यात्रा सुखद हुन सकेन । सन् २००२ की मिस नेपाल उनले ताज जितेको लामो समयसम्म अभिनय आफ्नो क्षेत्र नभएको तर्क गरिरहिन् ।
तर पनि यो क्षेत्रमा उनले हामफालेरै छाडिन् । सन् २००८ मा बनेको ‘गड लिभ्स इन हिमालय’बाट अभिनय सुरु गरेकी उनले ‘गुडबाई काठमाडौं’, ‘हाम्री शिवानी’ जस्ता चलचित्रमा काम गरिन् । तर दुर्भाग्य नै भनौं, उनका चलचित्र हलसम्म पुग्नै पाएनन् ।
अभिनय नफापे पनि माल्भिका चलचित्र ‘हाउ फन्नी’मा कार्यकारी निर्माताका रूपमा आइन् । यो चलचित्रले पनि सन्तोषजनक व्यापार गर्न सकेन । चलचित्रमा अभिनय गर्ने मिस नेपाल विजेतामा जेनिशा मोक्तान र मलिना जोशीको पनि नाम आउँछ ।
प्रभावशून्य जेनिसा–मलिना
मोडलिङमा निकै सफल मानिएकी मिस नेपाल २००९ जेनिशा चलचित्रमा भने नोटिस पनि हुन सकिनन् । चलचित्र ‘मेरो एउटा साथी छ’मा सानो भूमिकामा देखिएकी उनी पछिल्लो समय कला क्षेत्रबाट अलग छिन् ।
मिस नेपाल २०११ मलिना जोशी अभिनीत ‘ऋतु’, ‘द विनर’, ‘झुम्की’, ‘रानी’जस्ता चलचित्रले पनि दर्शकलाई प्रभाव पार्न सकेन ।
निकिताको प्रयास
मिस नेपाल २०१७ निकिता चन्दक पनि अन्ततः चलचित्र क्षेत्रमा हाम फालेकी छन् । निर्माणाधीन चलचित्र ‘रानी महल’बाट उनले अभिनय यात्रा आरम्भ गरेकी थिइन् । यस चलचित्रमा सुरुमा वर्षा शिवाकोटीको मुख्य भूमिका हुने भनिए पनि अन्तिममा त्यो मौका निकिताले पाएकी छन् । अभिनयमा उनका लागि जति अवसर छ चुनौती पनि त्यतिकै छ ।