जात्रा लाग्ने सार्वजनिक जग्गा माफियाको चंगुलमा
काठमाडौं : गोकर्णेश्वर-४ मा रहेको सदियौंदेखि जात्रा-मेला लाग्दै आएको जग्गामा भूमाफियाको आँखा लागेको पाइएको छ। वर्षको दुईपटक कुशेऔंसी (गोर्कर्ण) र शिवरात्रिको भोलिपल्ट जात्रा लाग्ने उक्त स्थानमा भूमाफियाको आँखा लागेको हो।
साविक गोर्कणेश्वर गाविस-१ ‘क’ कित्ता नं ६९ को ३ रोपनी २ आना जात्रा लाग्ने जग्गा एउटा निजी विद्यालय र क्याम्पसले तारबार लगाएर घेरिसकेका छन्। जयमल्टिपल कलेज र मनकामना उच्चमाविले उक्त जग्गा घेरेका हुन्। यो जग्गा गोकर्णेश्वर महादेवमा शिवरात्रि र कुशेऔंसीमा जात्रा चलाई त्यसको भोलिपल्ट भोज खान प्रयोग हुने (‘खान्गी) जग्गा हो। महादेवको मुकुटलाई खटमा राखेर गोकर्ण औंसी र शिवरात्रिको भोलिपल्ट गाउँ परिक्रमा गाउने चलन छ। गाउँ परिक्रमा गराएपछि यो जग्गामा पुर्याएर भोज गराउने गरिन्छ।
उक्त जग्गाको मोहियानी हकको दाबी गर्दै गोकर्णेश्वर नगरपालिका-९ का मंगलदास श्रेष्ठले मुद्दा हालेका छन्। गुठियार गोकुलदास श्रेष्ठले मोहियानी हकको प्रमाणपत्र पाऊँ भनी निवेदन दिएकोमा उनको मृत्यु भएको भन्दै छोरा मंगलदासले पिताको शेषपछि मोहियानी हकको नामसारी आफूलाई गरी पाऊँ भनी निवेदन दिएका हुन्।
गुठी संस्थान र मगलदासबीच उक्त जग्गाका विषयमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ। उक्त जग्गा माफियाको चंगुलमा परेको र धर्मलोप हुन लगेको भन्दै गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिले पनि सर्वोच्चमा मुद्दा दायर गरेको छ। भूमिसुधार कार्यालय र काठमाडौं जिल्ला अदालतले मंगलदासको दाबीलाई खारेज गरिदिएको छ। तर तत्कालीन पुनरावेदन आदालत पाटनबाट भने मंगलदासलाई मुद्दा जिताइदिएको छ।
गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिका सल्लाहकार सदस्य सुरेशचन्द्र भट्टले वर्षौंदेखि जात्रा गर्दै आएको जग्गा भूमाफियाले कब्जा गर्न खोजेको बताए। ‘हामीले जात्राको जग्गा जोगाउन सर्वोच्चमा मुद्दा हालेका छौं’, उनले भने, सदियौंदेखि जात्रा लाग्ने जग्गामा पनि यस्तो विचित्र भएको छ, हाम्रै आँखाअघि जग्गा कब्जा भइसक्यो।’
गुठीको अनुदार नीतिका कारणसमेत भूमाफियाले आड पाएको उनले बताए। जात्रा लाग्ने जग्गाको मूल्य ५ करोडभन्दा बढी पर्ने उनको भनाइ छ। १ सय २० भन्दा बढी स्थानीय बासिन्दाले संयुक्त रूपमा हस्ताक्षर गरी वर्षौंदेखि जात्रा चल्दै आएको गोर्कर्णेश्वर महादेव मन्दिरको शिवरात्रि गुठीको जग्गा व्यक्तिलाई धर्मलोप हुने गरी नामसारी गर्न लागिएको भन्ने बुझिन आएकाले उक्त कार्य अविलम्ब रोक्न माग गरेका छन्।
स्थानीय बासिन्दाले अदालत पनि माफियामा चंगुल परेको गुनासो गरेका छन्। अब जात्रा गर्ने मुकुट (शिवले लगाउने मुकुट) जात्रा मासिएको खण्डमा मंगलदासको घरमा राख्ने भन्दै उनीहरू आक्रोशित भएका छन्।
उक्त जग्गामा मंगलदासको मोही कायम भए जात्रा नै रोकिने र धर्मलोप हुने स्थानीय राधा बुढाथोकी बताउँछिन्। ‘यो जात्राको जग्गा, कब्जा भइसक्यो। अब कहाँ जात्रा गर्ने ? यहाँ अब जात्रा नै बन्द होला जस्तो छ, जात्राको मुकुट कहाँ राख्ने, यसलाई बचाइदिनुपर्यो’, उनले भनिन्, ‘जात्रा लाग्ने जग्गा जोगाइदिनुपर्यो, स्कुलले घेरिसक्यो।’
भूमिसुधार कार्यालय काठमाडौंको फैसलाले उक्त जग्गा गोकर्णेश्वर महादेवको गुठीको भएको ठहर गरेको छ। मंगलदास श्रेष्ठका साथै जग्गाका गुठियार रामदास श्रेष्ठ, राधेश्याम श्रेष्ठ र श्रीकृष्ण श्रेष्ठ गोणेश्वर महादेव गुठीका खान्गीदार हुन्। त्यसैले रामदास, राधेश्याम खान्गीदार मोही हुन नसक्ने भूमिसुधार कार्यालयको फैसलामा भनिएको छ। उक्त जग्गा राजगुठीको लगतमा २००४ सालमा नै खान्गी जग्गा भनी उल्लेख भएको गुठीको थमौती किताब गोकुलदास श्रेष्ठ (मंगलदासका बाबु) रकमी भई काम गरी आएको देखिएको छ।