अधुरै रह्यो सबिनाको सपना, बाबुआमा विक्षिप्त
भोजपुर : भगवान पनि कति कठोर ? कलकलाउँदो उमेरमै नौ महिना कोखमा राखेर जन्म दिने आमा र कर्म दिने बाबुलाई छाडेर उनैको प्यारो हुनुपर्यो, १७ वर्षीया सविनालाई ।
साउने झरी जस्तै बाबु चतुरवीर र आमा शुक्रकुमारी राईको आँखाबाट बलिन्द्र आँसु झरे जब एक्कासी छोरी दुर्घटनामा परेको फोन आयो । प्राणप्रिय छोरीको खबर बुझ्दाबुझ्दै केही छिनपछि उनको मृत्युको खबरले आमाबाबु मरेतुल्य भए । आफ्ना सपना अधुरो छाड्दै संसारबाट बिदा भइन् सविना ।
सोमबार विहान साथीहरुसँग पोखरा घुमेर फर्कने क्रममा तनहुँको ब्यास नगरपालिका-१२, छिर्कनेस्थित पृथ्वीराजमार्गमा सबिना र उनका साथी सवार माइक्रोबसलाई ट्रकले ठक्कर दियो । दुर्घटनामा घाइते १५ मध्ये गम्भीर घाइते सबिनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।
छोरी यो दुनियाँमा नरहेको खबर पाएपछि सिकुवाको थाम समातेर बलिन्द्र आँसु झार्नु बाहेक केही विकल्प रहेन । अन्तिम पटक ‘म दशैँमा मात्र आउँछु है ममी बाबा । मेरो क्लास सुरु भइसक्यो । राम्रोसंग बस्नुस् ।’ भनेर घरको दैलो नाघेकी सविना अब कहिल्यै फर्किने छैनन् ।
नेपालको सर्वोत्कृष्ट नर्तकी बन्ने उनको सपना पनि खोसियो । चर्चित नर्तकी बनेर आफुलाई चिनाउने उनको सपनालाई पनि आमाबाबुले पनि तिलाञ्जली दिनुपर्यो । ‘राम्रो नाच्ने कलाकार हुने मेरो छोरीको सपनालाई आखिर दैवले पनि देखीसहेन’, भक्कानिँदै आमा शुक्रकुमारीले भनिन्, ‘मेरो मुटु खोसेर लग्यो दैवले, मेरो खुशी खोसेर लग्यो ।’
बाबुआमा र बहिनीलाई सुख दिने छोरीको सपना टुटेपछि बाबु चतुरवीरलाई पर्नु चोट परेको छ, तर सम्हालिनु बाहेक अर्को विकल्प पनि त छैन । सबैभन्दा माया गर्ने छोरीलाई दैवले चुँडेपछि काख रित्तिएका बाबुआमा भित्रैदेखि टुटेका छन् ।
‘सबैभन्दा माया लाग्ने छोरी । सानो सानो कुरामा पनि खुशी साट्ने, सबैलाई हँसाएर राख्ने, मिठो बोल्ने गर्थी’, चतुरवीरले भने, ‘अब छोरी नै छैन, घरै शून्य, मनै शून्य भएको छ ।’
सानैदेखि नृत्यमा परांगत सविना अद्भुत कलाकी खानी थिइन् । शान्त स्वभाव, मीठो बोली अनि साथीहरुसँग मिलनसार र सहयोगी उनको कलाकारिता साँच्चिकै खारिएको थियो । २०५७ सालमा हालको भोजपुर नगरपालिका-५, बोखिमस्थित दाम्सिङ गाउँमा शुक्रकुमारी र चतुरवीरको पाँचौ सन्तानको रुपमा जन्मिएकी सविनाको लगाव सानैदेखि नृत्यमा थियो ।
‘हुने विरुवाको चिल्लो पात’ भनेझैँ सानै उमेरमा अरु भन्दा राम्रो नृत्य गर्थिन् उनी । मध्यमवर्गीय परिवारमा हुर्किएर भिरपाखा, दाउराघाँस र गोठालो जाँदा पनि उनले नृत्यलाई छोडिनन् । उनमा नृत्यको ‘अन्धभक्ति साधना’ थियो ।
भोजपुरमै बनाइएको (रिजिल हुन बाँकी) चलचित्र ‘विदेशीकी स्वास्नी २’ को ‘मेरो आँखामा हरपल’ बोलको म्युजिक भिडियोको तयारीमा रहेकी सविनाको निधनले चलचित्र टिमलाई नै मर्माहत बनाएको निर्देशक विनोद प्रधानले बताए । ‘सविना साँच्चिकै अद्भुत क्षमताकी डान्सर थिइन्’, उनले भने, ‘यो घटनाले हामीलाई दुःखी बनाएको छ ।’
कक्षा १२ मा पढ्दै गरेकी सविना केही समयदेखि काठमाडौँको स्वयम्भूमा माहिला दाजु जीवनसँग बस्दै आएकी थिइन् । एक महिनादेखि चर्चित डान्स ग्रुप ‘कार्टुन क्रू’ सँग नृत्य कला सिक्दै गरेकी सविना साथीहरुसँग घुम्न पोखरा गएकी थिइन् ।
उनका दाजु जीवन पनि गीतसंगीतमै लागेर ३०६५ सालमा काठमाडौँ छिरेका थिए । बहिनीको निधनले यी गायक दाजु पनि मर्माहत छन् । जेठा दाजु श्याम ३-४ वर्षदेखि वैदेशिक रोजगारको शिलशिलामा पोल्याण्ड छन् । उनका दुई दिदीहरुको बिहे भइसकेको छ । घरमा आमाबुबा र सानी बहिनी मात्रै छन् । दुर्घटनामा सविनाको निधनले पुरै गाउँ शोकमय भएको छ ।
सबिनाले नृत्य गरेको एउटा भिडियो