हनुमान ढोका पुनर्निर्माण सुस्त

हनुमान ढोका पुनर्निर्माण सुस्त

काठमाडौं : विश्वसम्पदा सूचीमा रहेको हनुमान ढोका क्षेत्रको पुनर्निर्माण सुस्त छ। भूकम्पमा सबैभन्दा बढी भत्किएका हनुमान ढोका क्षेत्रका पुरातात्विक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदा निर्माणले गति लिन सकेको छैन। भत्किएको तीन वर्षभन्दा बढी भइसक्दा पनि अधिकांश काठमाडौं महानगरपालिका, पुरातत्व विभाग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबीचको किचलोले पुनर्निर्माणले गति लिन नसकेको हो।

एउटाले निर्माण प्रक्रिया थाले पनि अर्कोले किचलो निकाल्दा पुनर्निर्माण गतिहीन बनेको छ। महानगरले टेन्डर गरे पुरातत्वले रोक्ने र पुरातत्वले निर्माण थाल्दा स्थानीयको अवरोध हुने कारण समस्या पैदा भएको छ। पुनर्निर्माण निर्माण अभियानका नाममा हुने कतिपय गतिविधिसमेत काम अवरोध हुने गरेका छन्। उनीहरूबीच क्रेडिट लिने कुरामा समेत प्रतिस्पर्धा हुँदा निर्माण छिटो हुन सकिरहेको छैन।

काठमाडौं महानगरपालिकाअन्तर्गत हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख उदय पसखल ( श्रेष्ठ)ले धेरै निकायले निर्माणको जिम्मेवारी लिएका हुँदा समन्वय कमीले निर्माण प्रभावित गरिरहेको बताउँछन्। सुरुवातमा जनप्रतिनिधि नहुँदासमेत पुनर्निर्माणको कामले गति लिएको उनको भनाइ छ। ‘पहिला जनप्रतिनिधि नहुँदा निर्माण ढिलो भयो, जनप्रतिनिधि आए पनि उनीहरूलाई बुझ्न नै एक वर्ष लाग्यो, अब बल्ल काम सुरु हुँदै छन्,’ उनी भन्छन्, ‘धेरै निकाय छन्, पुनर्निर्माणमा उनीहरूबीच समन्वयको समेत अभाव छ। त्यसैले कामले भने जस्तो गति नलिएको हो कि जस्तो लाग्छ।’

५० भन्दा बढी पुरातात्विक एवं ऐतिहासिक सम्पदा रहेको हनुमानढोका क्षेत्रका ११ वटा मठमन्दिर पूर्व रूपमा ध्वस्त छन् भने सातवटा आंशिक क्षति भएका छन्। अधिकांश सम्पदामा भूकम्पले थोरधेर क्षति पुर्‍याएको छ। भूकम्पले काष्ठमण्डप सत्तल, दशअवतार मन्दिर, माजु देवल, छ्यासिं देग (कृष्णमन्दिर), लक्ष्मीनारायण मन्दिर, विश्वेश्वर महादेव र नगरा घर पूर्ण रूपमा ध्वस्त भएका थिए।

कुमारी घर, विश्वेश्वर मन्दिर (ढुङ्गा), लक्ष्मीनारायण सत्तल, महादेव–पार्वतीको मन्दिर, महाविष्णु मन्दिरलगायत आंशिक क्षति भएका थिए भने त्यहाँ रहेका धेरै ऐतिहासिक र पुरातात्विक सम्पदालाई भूकम्पले सामान्य क्षति बनाएको थियो। हनुमान ढोका क्षेत्रमा ५० बढी ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदा छन्।

महानगरपालिकाको हुनमान ढोका संरक्षण कार्यक्रममा आर्किटेक्ट इन्जिनियर अमित वज्राचार्यले पूर्ण रूपमा ध्वस्त भएको काष्ठमण्डपको काम अगाडि बढिसकेको बताए। पटकपटक अवरोध हुँदै आएको काष्ठमण्डपको निर्माण प्रक्रिया स्थानीयको अगुवाइ अघि बढेको छ।

महानगरपालिकाले ५० लाख रुपैयाँ स्थानीय अगुवाइमा भनेको समितिलाई दिइसकेको छ। तीन वर्ष प्रक्रिया अघि बढे पनि काष्ठमण्डप निर्माणको काम भने सुरु भएको छैन।

मैजुदेवलको समेत टेन्डर भएको इन्जिनियर वज्राचार्यले बताए। १० अवतारको मन्दिर भनेर चिनिने त्रैलोक्यमोहनको टेन्डर भए पनि स्थानीयले निर्माणमा अवरोध गरेका छन्। त्यसकारण दशावतारको निर्माण गतिरोध आएको छ।

कृष्ण मन्दिरको निर्माण भइरहेको छ। तर लक्ष्मीनारायण मन्दिरको काम सुरुवात नै हुन सकेको छैन। कुमारी घरको पुरातत्व विभागले लगत एस्टिमेट गरेको छ। ड्रोइङ दिएमा बहुवर्षीय योजनामा राखेर नगरपालिकाले खण्डखण्डमा काम गर्ने इन्जिनियर वज्राचार्यले बताए। ‘कुमारी जीवित देवता भएकाले खण्डखण्डमा काम गर्छौं’, उनले भने, एकै पटक काम गर्न यहाँ अप्ठ्यारो हुन्छ। उता विश्वेश्वर मन्दिर ढुंगैढुंगाको मन्दिर भएकाले दक्ष कालिगढको अभावमा निर्माण अगाडि बढ्न सकेको छैन।

ढुंगाको काम गर्ने कालिगढ समस्या भएकाले समेत विश्वेश्वर मन्दिरको काम गर्न नसकिएको उनले बताए। महादेव पार्वती मन्दिरको एस्टिमेट महानगरपालिकाले पाएको छैन। विश्वसम्पदा सूचीमा रहेको हनुमान ढोका क्षेत्र प्रमुख पर्यटकीय क्षेत्रसमेत भएकाले पुननिर्माणले गति नलिँदा यहाँ पर्यटकको आगमनमा समेत कमी आएको छ। कतिपय सम्पदा काठको टेको लगाएर अडिएका कारण उक्त क्षेत्रमा घुम्न थाले पर्यटकसमेत जोखिममा पर्ने सम्भावना छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.