कस्तो संवेदनहीनता !
दिनहुँ हत्या, बलात्कारजस्ता जघन्य अपराधका घटनाबारे समाचार आइरहेका छन्। तर ती मानवीय क्षति र अस्मितामाथिको आक्रमणले समाजमा जुन किसिमको प्रतिक्रिया उत्पन्न गर्नुपर्ने हो, त्यस्तो भएको छैन। एकातर्फ जिम्मेवार निकायले अपराधीलाई दण्डित गर्न जुन तदारुकता देखाउनुपर्ने हो, त्यो देखाएका छैनन्। अर्कोतर्फ आम समाज यस्ता घटनाप्रति अभ्यस्त बन्दै गएजस्तो देखिएको छ। मानवीय संवेदना जति गिर्दै जान्छ, हाम्रो समाज उति पतीत र खोक्रो बन्दै जान्छ। भयंकर विडम्बना हलुका र मजाक बन्दै जान्छन्। अन्ततः यसले अपराध र अन्यायको दुष्चक्र पुनरोत्पादन गर्छ।
साउन १४ मा कैलालीको बर्दगोरीया गाउँपालिका– २ की २१ वर्षीया सीतादेवी थारूले चार वर्षको छोराको हत्यापछि आत्महत्या गरेको प्रहरीले जनाएको छ। गत बिहीबार कन्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो। प्रेमी/प्रेमिकासँग मिलेर पति/पत्नीको हत्या, बलात्कार, अपहरण, मानव बेचबिखनजस्ता अपराधको क्रम र संख्या बढिरहेको छ। यस्ता जघन्य घटनाको संख्या २०७३ को तुलनामा २०७४ मा बढेको प्रहरीको तथ्यांकमा उल्लेख छ। आव २०७३/७४ मा ५४४५ जघन्य अपराधका घटना भएका थिए भने आव २०७४/२०७५ मा त्यो संख्या बढेर ६,६४६ पुगेको छ। यही अवधिमा हत्या, बलात्कार, अपहरणका घटनामा पनि वृद्धि भएका छन्।
अपराधको दर बढ्नुका अनेक कारण हुन सक्छन्। गरिबी, बेरोजगार, सम्पत्तिको असमान वितरण, अन्याय, अन्य सामाजिक तथा मानसिक समस्याजस्ता कारणले मानिस अपराधको बाटोमा हिँड्ने गर्छन्। तर बढ्दो जघन्य अपराधका घटनाले एउटै संकेत गर्दछ, त्यो हो मानवीय संवेदनाको क्षयीकरण। हाम्रो समाजमा मानवीय तथा आर्थिक सम्बन्ध र संरचना जटिल बन्दै गएका छन्। त्यति मात्र होइन, यस्ता घटनाले समाजमा पार्ने प्रभाव पनि निरन्तर परिवर्तन हुँदै गएको छ।
सबैभन्दा गम्भीर कुरा के छ भने हाम्रो राज्य संयन्त्रले अपराधको कारण निर्मूल पार्न योगदान दिएका छैनन्। प्रहरी, प्रशासन, न्यायालयजस्ता संस्थाले न्यायप्रक्रिया तन्काएर पीडितलाई थप पीडा दिलाउने गरेका छन्। निर्वाचित जनप्रतिनिधिले समेत जघन्य अपराधका पीडितलाई जबर्जस्ती मिलाउने, मुद्दा दर्ता गर्न नदिनेजस्ता घटना सार्वजनिक भएका छन्। जो न्यायको जिम्मा लिएर बसेको छ, उही अन्यायको कारक बन्छ भने त्यहाँभन्दा ठूलो विडम्बना के हुन सक्छ ? अपराधको दर बढ्दै जाँदा जतिसुकै हृदयविदारक घटनाबाट पनि हाम्रो मनमस्तिष्क हल्लिन छोडेको छ। त्यस्ता घटना हामीलाई अस्वाभाविकसमेत लाग्न छोडिसकेको छ। यसलाई मलजल गरेको छ, आम सञ्चार र सामाजिक सञ्जालको संस्कृतिले।
चौबीसै घन्टा ‘एक्स्क्लुसिभ’ रिपोर्टिङको चक्करमा हामी संवेदनहीन सामग्री पस्किरहेका छौं। सामाजिक सञ्जालको संस्कृतिले पनि हामीलाई मानवीय क्षतिप्रति यथार्थमै गम्भीर र संवेदनशील नहुन उत्प्रेरित गरेको छ। हामी ठान्छौं– ‘रेस्ट इन पिस’ वा ‘सो स्याड’ लेखेपछि हामी सम्पूर्ण उत्तरदायित्वबाट मुक्त हुन्छौं। समाजसँग जोड्छ भनेर खोलिएका सामाजिक सञ्जालका अकाउन्टले हामीलाई समाजबाट एक्ल्याइदिएको छ। यस्ता अपराध र अपराधका कारणप्रति समाजमा उत्पन्न हुनुपर्ने सामूहिक आक्रोश स्टाटस र ट्विटमा पोखिएर समाप्त भएका छन्। मानवीय हृदयलाई क्षत्विक्षत् बनाउने कुनै घटना हुन्छ, तर हामी भन्छौं, फलानाहरू यसबारे किन बोलेनन् ? यसबारेमा बोलियो, फलाना घटनाबारे किन बोलिएन ?
मानवीय संवेदना क्षणिक भावुकताको कुरा होइन। यो कुनै विषयमा सबभन्दा अगाडि उभिएर विरोध प्रकट गर्नु मात्रै पनि होइन। मानवीय संवेदना अन्य मानिसलाई आफूजस्तै देख्न सक्ने गुण हो, अरू र आफूबीचको भिन्नतालाई सम्मान गर्न सक्ने क्षमता हो। तर हामी आफ्नो रगतमै संवेदनहीनता लिएर जन्मेका छौं। जातभात, छुवाछूत, पितृसत्ताजस्ता अन्यप्रति संवेदनहीन बन्न सिकाउने अभ्यास हाम्रो समाजमा लामो समयदेखि विद्यमान छन्। त्यस्ता विभेदको अन्त्य हाम्रो प्रस्थानविन्दु बन्न सक्छ।
समाज संवेदनहीन बन्दा त्यो उच्च राजनीतिक तहमा पनि अभिव्यक्त हुने गर्छ। हाम्रा शासक नागरिकले दैनिक जीवनमा झेल्नुपर्ने समस्याबाट त्यसै अविचलित भएका होइनन्। यस्तो अवस्थामा तिनलाई पनि जवादेही बनाउन पहल गर्नुपर्छ। त्यसैले समाजलाई गतिशील, जीवन्त र न्यायपूर्ण बनाउने हो भने दण्डहीनताको अन्त्य हुनैपर्छ।