कर्णालीले पर्खिरहेको खेलकुद उत्सव

कर्णालीले पर्खिरहेको खेलकुद उत्सव
सुन्नुहोस्

विकासका पूर्वाधारमा पछाडि पारिएको कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १ अर्ब ५९ करोडको लागतमा अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला निर्माण भएको छ । जसको क्षमता १० हजार दर्शक हो । प्याराफिट, फुटबल मैदान, एथ्लेटिक्स ट्र्याक र विभिन्न खेलका कभर्ड हल पनि छन् । यी सबै पूर्वाधारले यहाँको खेलकुद विकासमा ठूलो आशा जगाएको छ । यी पूर्वाधार तत्कालै उपयोगमा आउँदै पनि छन्, राष्ट्रिय खेलकुद प्रतियोगिताको अवसरमा । हो, मुलुकको ठूलो खेल महोत्सवको १०औं संस्करण आउँदो चैत २३ देखि ३० सम्म कर्णालीको सुर्खेतमा हुँदैछ । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता कसो होला, कहाँ होला भन्दाभन्दै कर्णालीमा तयार पूर्वाधारले यसको सुनिश्चिता पनि प्रदान गरेको छ ।

दसौं खेलकुदकै सन्दर्भमा धेरै खेल सुर्खेतमा भए पनि प्रतियोगिता प्रदेश राजधानीमा मात्रै सीमित हुँदै छैन । २४ खेलमध्ये ८ वटा बाँकी जिल्लामा हुँदै छ, त्यसका लागि पनि पूर्वाधार तयार भएको छ । कतिपयमा भने बजेट अभावले पूर्वाधार अधुरा पनि छन् । बरु समय छँदै सरकारले तिनलाई पूरा गर्नुपर्ने देखिन्छ । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णालीको खेलकुद क्षेत्रमा सकारात्मक परिवर्तन पक्कै ल्याउने नै छ । त्यस कारण पनि यही मेसोमा यहाँ पूर्वाधार तयार गर्न सरकारले कन्जुस्याइँ गर्नु हुँदैन । प्रशिक्षक र खेलाडीको अभाव, छात्रावास तथा आवासगृहको अभावले यहाँका खेलाडीलाई निराश बनाएको छ । दैलेख, रुकुमपश्चिम, रास्कोटजस्ता स्थानमा अधुरो रंगशाला निर्माणको कथा अझै यथावत छ । दलगत विवाद र उपभोक्ता समितिहरूको राजनीति यस्ता आयोजनाहरूमा बाधक बनेका छन् । जुनचाहिँ पक्कै पनि बिडम्वनापूर्ण छ ।

शिक्षा, स्वास्थ्य र अरू विकासका आधारभूत आवश्यकताकै सन्दर्भमा कर्णाली राज्यबाट उपेक्षित भएको ठाउँ हो । होइन भने प्राकृतिक स्रोतले सौन्दर्यले यो ठाउँ धनी छ । त्यसको पहिचान र सदुपयोग पनि राज्यले गर्न नसकेकै हो । खेलकुद जस्ता गतिविधि हुँदा कर्णाली एकातर्फ राज्यको नजरमा परेको अनुभूति गर्न सकिन्छ भने सँगसँगै यहाँका पर्यटकीय पहिचान पनि यही बेला उजागर हुने छन् । खेलकुद भनेको आफैमा मनोरञ्जनमात्रै होइन, यो त राष्ट्रिय पहिचान र एकतासँग पनि सम्बन्धित छ । जसले सारा नेपालीलाई जोड्छ । त्यसको सेतु बन्ने अवसर कर्णालीलाई प्राप्त हुनु पनि उपलब्धि मान्नुपर्छ । बजेट अभाव, अपुरा केही पूर्वाधारको बहानामा राष्ट्रिय खेलकुद प्रतियोगिताको गरिमामा कुनै कमी आउन नदिने कर्तव्य सरकारको हो ।

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.