मेयरमाथि गोली हानेको आरोपमा विप्लवका पोलिटब्यूरो सदस्य पक्राउ
धनगढी : कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार गरेको आरोपमा विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य ओमप्रकाश पुन पक्राउ परेका छन । उनलाई बर्दियाबाट पक्राउ गरी मंगलबार राति कैलाली ल्याइएको कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।
काठमाडौंमा पक्राउ परेका पुनलाई असार २७ गते सर्वोच्चअ दालतले छाडेपछि फेरि अदालत परिषदबाटै पक्राउ गरी बर्दिया पठाइएको थियो । पुनविरुद्ध बर्दिया जिल्लाप्रहरी कार्यायमा मधुवन नगरपालिकामा बम पडकाएको आरोपमा मुद्धा परेको थियो । जिल्ला अदालत बर्दियाले पनि पुनलाई मंगलबार धरौटीमा रिहा गरेपछि फेरि अदालत परिषरबाटै पक्राउ गरी कैलाली प्रहरीलाई बुझाइएको हो ।
कैलाली जिल्ला प्रहरी कार्यालयमा पुनविरुद्ध फागुन २८ गते घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोलीप्रहार गरेको उजुरी परेको छ । प्रहरीले पुनको लिइरहेको बयानपछि अदालतमा पेश गर्ने जनाएको छ ।
गत फागुन २८ गते कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि १२÷१३ जनाको समूहमा आएका व्यक्तिहरुले गोली प्रहार गरेका थिए । गोली प्रहारबाट चौधरी गम्भीर घाइते भएका थिए। मेयरमाथि आक्रमण गरेको आरोपमा ओम प्रकाशपुनसहित १३ जनाविरुद्ध उजुरी परेको थियो ।
मेयर चौधरीमाथि गोली प्रहारपछि प्रहरीले घोडाघोडी नगरपालिका–१ लक्ष्मीपुरका ४० वर्षीय कमल क्षेत्री, सोही ठाउँका भरतबहादुर शाह, धनगढी उपमहानगरपालिका–८ बस्ने पूर्णप्रसाद खनाल र टीकापुर नगरपालिका–१ का हृदयराज बोगटीलाई पक्राउ गरेको थियो । चारै जना विप्लव नेतृत्वको नेकपाका कायैकर्ता हुन । चारै जनालाई जिल्ला अदालत कैलालीले जनही ४५ हजार धरौटीमा तारेखमा रिहा गरेको थियो ।
फरारको सूचीमा रहेका ९ जना मध्ये पुनलाई बर्दिया प्रहरीको सहयोगमा पक्राउ गरी कैलाली ल्याइएको हो ।