चर्चामा किक बक्सिङ खेलाडी
ओखलढुंगा : मानेभन्ज्याङ गाउँपालिका–८, रागापुर छापगाउँका करातेका वान डान ब्ल्याकबेल्ट खेलाडी दलबहादुर घलेको गाउँगाउँमा चर्चा सुरु भएको छ । उनले गत मार्च १२ देखि २२ सम्म बैंककमा भएको वल्र्ड किक बक्सिङ च्याम्पियनसिपमा रजत पदक प्राप्त गरेपछि उनको चर्चा चुलिएको हो ।
त्यसअघि उनले अल मार्सल आर्ट एकेडेमी चितवनमा प्रशिक्षकका रूपमा काम गर्दै आएका थिए । उनले वल्र्ड किक बक्सिङ नेपालका प्रमुख सुदन लामाबाट थाइल्यान्डको बैंककमा च्याम्पियनसिप हुने खबर पाएपछि निकै मेहनत गरे ।
च्याम्पियनसिपमा न्युजिल्यान्ड र रसियाका खेलाडीलाई पराजित गरेका उनले फाइनलमा न्युजिल्यान्डकै खेलाडीसँग पराजय बेहोर्न पुगे । तर, रजत पदकमै चित्त बुझाए पनि गाउँमा भने उनको चर्चा चुलियो ।
तीन बहिनी र एक भाइमध्येका जेठा छोरा दलबहादुरको सानैदेखि खेलकुदमा रुचि थियो । २०६७ सालमा एसएलसी पास गरेपछि उनी खेल क्षेत्रमा प्रवेश गरे । जिल्ला खेलकुद विकास समिति ओखलढुंगामा इन्डो नेपाल मुवा थाई खेल दर्ता गरे ।
किक बक्सिङ संघले २० हजार रुपैयाँ सहयोग गर्नुबाहेक आफ्नै खर्चमा नेपालको प्रतिनिधित्व गरेका उनी आफ्नै जिल्लावासीबाट सहयोग पाउँदा भने निकै खुसी छन् । ‘मलाई जिल्लावासीले सम्मान गरे’, दलबहादुरले भने, ‘तर सरकारले वास्तासम्म गरेन ।’ सरकारले गाउँका प्रतिभालाई नदेखेको उनले गुनासो पोखे ।
राज्यले सहयोग गर्ने हो भने राष्ट्रका लागि अरू उपाधि दिलाउन आफू सक्षम रहेको उनले दाबी गरे । तर, बिहान बेलुकाको छाक टार्नका निम्ति अरू काम नगरी नहुने भएकाले खेलमा मात्र ध्यान दिन नसकेकोमा भने उनी चिन्तित छन् । ‘राष्ट्रका लागि केही गर्न सक्छु भन्ने साहस छ तर अघि बढ्न भने थुप्रै चुनौती छन्’, उनी भन्छन् ।