पहिरोले बेसीसहर-चामे सडक अवरुद्ध
बेसीसहर : लमजुङको बेसीसहर नगरपालिका-६ बेलौतीविसौना नजिकै उतिसघारी खरखरेमा पहिरो जाँदा बेसीसहर-चामे सडक अवरुद्ध भएको छ। बुधबार राति र बिहीबार बिहानको पहिरोले हिमाली जिल्ला मनाङ जाने एकमात्र सडक अवरुद्ध बनेको हो।
ठूलो पहिरो खसेकाले सवारी आवागमन बन्द भएको छ। पदैलयात्रु जोखिम मोलेर यात्रा गरेका छन्। प्रहरी नायव उपरीक्षक यादव ढकालकाअनुसार गतवर्षमा राखिएका ग्याबिन बगेर सडक भाँसिएको छ। करिब १ सय मिटर माथिबाट उत्तिसका बोट र चट्टान झरेर सडक अवरुद्ध बनेको छ।
पहिरोका कारण मनाङ र उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकाका नागरिक समस्यामा परेका छन्। सदरमुकाम बेसीशहरबाट तीन किलोमिटरको दुरीमा रहेको उतिसघारी खरखरेमा हिउँद बर्खा दुवै समय पहिरो खस्ने गरेको स्थानीय बताउँछन्।
पहिरो पन्छाउने दीर्घकालीन उपाय नअपनाउँदा सधैं सास्ती खेप्नुपरेको लमजुङ उद्योग बाणिज्य संघ खुदी इकाईका सचिव सुर्यप्रकाश कतिलाले बताए। मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पहिरो नियन्त्रणका दीर्घकालीन उपाय खोज्न डिभिजन सडक कार्यालय तथा सम्बन्धित सरकारी निकायलाई बारम्बार घच्चाए पनि सुनुवाइ नभएको बताए।
पहिरो खुलाउन सडक डिभिजन कार्यालय दमौलीलाई निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी मनोहर थापाले बताए। पहिरो पन्छाउन प्रहरीसमेत परिचालन गरिएको छ।