प्रधानमन्त्रीले शिलान्याश गरेको संग्राहलय अलपत्र
ओखलढुंगाः विभिन्न जातजातिका संस्कार संस्कृति झल्कने सामग्री संकलन र संरक्षण गर्ने उद्देश्यले ओखलढुंगाको रुम्जाटारमा निर्माण गर्ने भनिएको रुम्जाटार संग्राहलय अलपत्र बनेको छ।
तीन करोड रुपैयाँको लागतमा निर्माण गर्ने भनिएको संग्राहलयको भवन निर्माणका लागि आठ वर्ष पहिले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालबाट शिलान्यास गरिए पनि आर्थिक स्रोत जुट्न नसक्दा संग्राहलय अलपत्र बनेको हो।
रुम्जाटार संग्राहलय समितिले आर्थिक स्रोत जुटाउन नसक्दा संग्राहलय निर्माणका लागि स्थानीयबाट पाएको ३० लाख रुपैयाँ पर्ने २ रोपनी जग्गा समेत उपयोग गर्न सकेको छैन। अलपत्र जग्गामा अहिले स्थानीय बासिन्दाले पशुचौपाया र निर्माण सामग्री राख्दै आएका छन्।
संग्राहलय निर्माणको पूर्वाधार विकासका लागि तत्कालीन समयमा जिल्ला विकास समिति ओखलढुंगाबाट १ लाख रुपैयाँ र रुम्जाटार गाविसबाट ५० हजार रुपैयाँ विनियोजित रकम समेत खर्च हुन सकेको थिएन।
व्यक्ति, संघ संस्था र सरकारी कार्यालयबाट उठाउने लक्ष्य राखिएको रकम नउठेपछि संग्राहलयको काम अधुरै रहेको रुम्जाटार संग्राहलय समितिका अध्यक्ष शोभितमान गुरुङले बताए। स्रोत अभावमा निर्माण कार्य अलपत्र परेको उनले बताए।