टुसाको व्यापार फस्टाउँदो

टुसाको व्यापार फस्टाउँदो

बेसीसहर : लमजुङको सदरमुकाम बेसीसहरलगायत सहर तथा गाउँघरमा यतिबेला जंगली तरकारीको रूपमा चिनिने निगालोका टुसाको व्यापार निकै फस्टाएको छ। उच्च ग्रामीण भेगका जंगलमा पाइने ‘टुसा’ बेच्न स्थानीय सहर झरेका छन्।

चलनचल्तीको भाषामा ‘टुसा’ भनिने यो तरकारी निगालोको मुना हो। त्यसैले कानुनतः ‘टुसा’ संकलन र बिक्री गर्न पाइँदैन। यसैलाई आधार बनाएर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र सामुदायिक वनले बेलाबेलामा अवैध वनस्पतिको ओसारपसार र बिक्री गरेको भनेर कारबाही गर्ने बताउँछ। तर पनि मिठो तरकारी मानिने टुसाको व्यापार भने दिनहुँ बढ्दो छ। सदरमुकाम बेसीसहरलगायत अन्य सहरहरू सुन्दरबजार, भोटेवडार, खुदी, भोर्लेटारका साथै गाउँ–गाउँमा यसको व्यापार खुलेयाम हुने गरेको छ। सिजनका बेला लमजुङ आउने तथा कतिपय स्थानीय बासिन्दाले कोसेलीका रूपमा विदेशसमेत पठाउने गर्छन् ‘टुसा’।

एक्याप, वन कार्यालय र सामुदायिक वनका पदाधिकारीले कानुनतः अवैधानिक भने पनि यसको संकलन र बिक्री खुलेयाम हुने गर्छ। यति सम्मकी वन, एक्याप, स्थानीय प्रशासन, सुरक्षा अधिकारीहरूमै ‘टुसा’ किन्न तछाडमछाड हुन्छ। टुसाको थोक बिक्री पनि हुन्छ बेसीसहरमा। बेसीसहरबाट मात्रै १ दिनमा १० बोराभन्दा बढी टुसा बिक्री हुने गरेको यहाँका थोक बिक्रेता बताउँछन्। एक मुठा टुसाको ६० देखि एक सय रुपैयाँसम्म बिक्री हुने गर्छ।

टुसालाई जथाभावी भाँच्दा यो वनस्पतिको स्रोतमै असर पर्ने एक्यापका प्रमुख राजेशप्रसाद गुप्ताले बताए। गुप्ताका अनुसार टुसासँग आस्रित जीवहरूको जीवन संकटमा पर्ने भएकाले निगालोको टुसा भाँच्न प्रतिबन्ध लगाइएको हो। हिमालको फेदी, लेक र खर्कमा हुने निगालोको पात रातोपाण्डा, मृगका पाँचवटा जात र हिमाली कालो भालुको मन पर्ने आहारा हो। निगालोको पात मात्र खाएर बाच्ने यी जनावरको जीवन संकटमा पर्ने विज्ञहरू बताउँछन्। साथै, निगालोको चोयाबाट बनाइने डोको, डालो, मान्द्रो, स्याखु र ढक्कीजस्ता स्थानीय उत्पादनका स्रोत नै बन्द हुने हुनाले पनि टुसालाई संरक्षण गरेर निगालोको रूपमै हुर्कन दिनुपर्ने हुन्छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले टुसा जथाभावी भाँचेर बिक्री गर्दा वन पैदावारमा असर पर्नेबारे सचेतना जगाउँदैै आए पनि गाउँलेहरूले न टुसा भाच्न रोकेका छन् न त यसको कारोबार गर्न नै।

उच्च लेक तथा हिमाली क्षेत्रमा पाइने टुसा संकलन आफैंमा सजिलो छैन। भाच्ने काम सबैभन्दा कठिन हुन्छ। बिहान तीन बजे उठेर जंगल पुग्नुपर्छ। ‘तीनघन्टा हिँडेर, जंगलको बाटो, बाघभालुको डर अनि कहाली लाग्दो भीरबाट खसेर लड्ने खतरा पनि उत्तिकै छ’, भुजुङका किसान भीमप्रसाद गुरुङ भन्छन्, ‘खेतीपाती गर्ने जग्गा नभएपछि परिवार पाल्नका लागि टुसा भाँच्नु बाध्यता छ।’


सदरमुकाम बेसीसहर, सुन्दरबजार, भोटेवडार, खुदी, भोर्लेटारलगायत स्थानमा यसको व्यापार खुलेयाम हुने गरेको छ।

एक्यापको संरक्षण क्षेत्रभित्र पर्ने भुजुङ, उत्तरकन्या, सिम्पानी, खुदी, घनपोखराका किसानले मात्रै दैनिक रूपमा एक जनाले पाँच सयदेखि एक हजार रुपैयाँसम्मको टुसा बिक्री गर्दछन्। यस्तै भुलभुले, उस्ता, बन्सार, घेर्मु, भुजुङ, पसगाउँ, घनपोखरालगायत जंगलमा टुसा प्रशस्त मात्रामा पाइन्छ।

जंगलमा हुर्किएर बजारमा बिक्री हुने यो वनस्पतिलाई खेतीका रूपमा विकास गरिनुपर्ने देखिन्छ। तर, व्यावसायिक खेती गर्नतर्फ अहिलेसम्म पनि कुनै निकायको ध्यान जान सकेको छैन। नेपालमा खेर गइरहेका लेक र खर्कहरूमा निगालोको व्यावसायिक खेती गरियो भने आम्दानीको राम्रो माध्यम बन्न सक्छ। यसको खेतीले रोजगारी मात्र होइन कृषिको नयाँ उत्पादनको रूपमा पनि बजार पाउने कृषि विकास कार्यालयका प्रमुख कृष्णभद्र अधिकारी बताउँछन्। ‘बेरोजगारी र महँगी बढिरहेका बेला किसानलाई निगालो खेतीमा आकर्षण गर्ने हो भने गरिब किसानको आर्थिकस्तर माथि उठ्ने थियो’, एक्यापका संरक्षण प्रमुख राजेशप्रसाद गुप्ता भन्छन्, ‘निगालोको खेती गर्न अप्ठ्यारो पनि छैन। एकपटक लगाएपछि ५÷६ वर्षसम्म केही पनि गर्नुपर्दैन, वर्षैपिच्छे टुसा झिक्ने काम गरे मात्र पुग्छ।’

फोटो ः

लमजुङ सदरमुकाम बेसीसहरमा टुसा किनबेच हुँदै। नवीनराज कुइँकेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.