इन्टरनेटको सहायतामा अकबरे खेती
ओखलढुंगा : सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका ३१ बर्से तेजनारायण श्रेष्ठ सात वर्ष खाडी मुलुकमा श्रमिकका रूपमा काम गरेर स्वदेश फर्किए। उनले त्यहाँ गर्ने श्रम गाउँमै सदुपयोग गर्ने सोचाइका साथ आधुनिक प्रविधि प्रयोग गरेर खुर्सानी खेती सुरु गरे। अहिले उनले मासिक २ लाखसम्म कमाउन थालेका छन्। उनले ‘मल्चिङ’ प्रविधि प्रयोगमा ल्याएका छन्। तरकारी र टमाटरमा उक्त प्रविधि प्रयोग गरेका श्रेष्ठका अहिले दर्जन बढी टनेलमा टमाटर फलेका छन्। ‘हरेक साता ६० देखि ७० हजारको बिक्री गर्छु’, उनले भने, ‘खुर्सानी मात्रै दुई सय ५० रुपैयाँसम्म प्रतिकेजी बिक्री हुन्छ।’ मल्चिङ प्रविधिबाट व्यावसायिक खेती सुरु गर्ने उनी जिल्लाकै पहिलो कृषक हुन्।
यो प्रविधिबाट अहिले उनले खुर्सानी र टमाटरका अतिरिक्त रायोको साग, बोडी, आलु, टमाटर, तरकारी र भेडे खुर्सानीसमेतको खेती सुरु गरेका छन्। माटोको ड्याङ बनाएर मल्चिङ प्लास्टिक भित्र बेर्ना रोप्ने गरिन्छ। विरुवाको माटोमाथि देखिने भाग मात्रै मल्चिङ प्लास्टिक बाहिर देखाइन्छ। अरू माटो सबै प्लास्टिकले छोपिन्छ। यो प्रविधि विकसित देशमा सफल कृषि प्रविधिका रूपमा परिचित छ।
खुला प्रविधिभन्दा यो प्रविधिबाट उत्पादन दोब्बर बढी दिने र कम परि श्रम पर्ने तेजनारायण श्रेष्ठले बताए। मल्चिङका कारण बिरुवाका फेदमा झार नआउने, गोडमेल गर्नु नपर्ने भएपछि यो प्रविधि निकै सजिलो रहेको श्रेष्ठले जनाए। सुरुमा उनले ११ रोपनी बारीमा मल्चिङ गरेर १ हजार ३ सय वटा स्थानीय जातका अकबरे खुर्सानीका बेर्ना रोपेका थिए। दुई वर्षदेखि यही प्रविधिको प्रयोगमा व्यस्त रहेका उनी यो प्रविधि जिल्लाभर उपयुक्त रहेको बताउँछन्। अकबरे पाकेपछि मात्रै उनले बेच्ने गरेका छन्। पहिलो वर्षको फल लाग्न थालेको ३ महिनामै लगानी उठेको पनि उनले बताए।
मल्चिङ प्रविधिबाट व्यावसायिक खेती सुरु गर्ने उनी जिल्लाकै पहिलो कृषक हुन्।
श्रेष्ठले वैदेशिक रोजगारीका लागि दुई पटक कतार र एकपटक मलेसिया गरी सात वर्ष विदेशमा बिताए। घर फर्किपछि उनले परिवारका सदस्याको साथमा व्यावसायिक खेती सुरु गरेका हुन्। उनले भाइलाई कृषि प्राविधिक पढाएका छन्। उनी जिल्लामै नमुना कृषि ज्ञान केन्द्र बनाउने सोमा रहेको बताउँछन्। ज्यामिरेमा खानेपानीसमेत अभाव छ, तर उनले वर्षाको अकाशे पानी संकलन गरेर सिँचाइ गरेका छन्।
उनले यो प्रविधि कसैबाट सिकेका होइनन्। इन्टरनेटको माध्यमबाट कोरिया र जापनामा प्रयोग गरिने मल्चिङ प्राविधि हेरेर प्रयोगमा ल्याएका हुन्। सुरुमा परिवार र गाउँलेले समेत अनावश्यक कुरा गरेको भन्दै गाली गरेको र उत्पादन सुरु भएपछि सबै दंग भएका उनले बताए। एउटा खुर्सानीको बोटले दुई वर्षसम्म उत्पादन दिने भएकोले अन्य खेती यही प्रविधिबाट लगाउने उनको तयारी छ। कसैको सहयोगबिना व्यक्तिगत पहलमा खेती सुरु गरेका उनलाई अहिले भने विभिन्न संघसंस्था र जिल्ला कृषि विकास कार्यालयले समेत प्रोत्साहन दिने गरेको छ। यो प्रविधि सिक्न उनको खुर्सानी फर्ममा किसानहरू आउने गरेका छन्।