नगरले उठाउन छाड्यो फोहोर

नगरले उठाउन छाड्यो फोहोर

 लहान : सिरहाको लहान नगरपालिकामा क्षेत्रभित्र पर्ने पूर्वपश्चिम लोकमार्गको फोहर उठाउन नगरपालिकाले छाडेपछि दिनदिनै बजार दुर्गन्धित बन्दै गएको छ । लोकमार्ग क्षेत्रभित्र पर्ने बजारमा अतिक्रमित सडक खाली गराउने विषयमा सडक डिभिजन कार्यालयसँग मतभेद हुँदा नगरले वर्षौंदेखि उठाउँदै आएको फोहर एक सातादेखि सडकमै अलपत्र छ ।

सडक डिभिजन कार्यालय लहानले सडक क्षेत्रको ८२ फिटभित्र अतिक्रमण गरी बनाइएका टहराहरू खाली गराउन नगरपालिकासँग सहयोग मागेका थियो । तर नगरपालिकाले १ सय ३ फुट सडक बढाएर खाली गराउने माग गरेपछि मतभेद सुरु भएको थियो ।

सडक डिभिजन कार्यालय प्रमुख रामकुमार देवका अनुसार लोकमार्गसँग जोडिएका घरधुरीबाट एकिकृत सम्पत्तिकर, व्यावसायिक कर, सरसफाइ करलगायत विभिन्न कर नगरपालिकाले लिने गरेकोले फोहोर उठाउने दायित्व पनि नगरकै हो । ‘हामीले सडकको क्षेत्राधिकारभित्र रहेका अतिक्रमण हटाउन सहयोग मागेका थियौँ’, प्रमुख देवले भने, ‘नगरपालिकाले सडक बढाउन माग गरेको छ, कसरी हुन्छ ? कसैको नम्बरी जग्गामा सडक बनाउँदा मुआब्जाको व्यवस्था हुनु पर्छ ।’ ‘हामीले लोकमार्गभित्रका भौतिक संरचना हटाउनेबारे माघ महिनादेखि नै सूचना जारी गरेका थियौं’, मेयर मुनी साहले भने, ‘सडक कार्यालयले सडक खाली गराउन रोकेपछि हामीले फोहोर उठाउन रोकेका छौं, सडक कार्यालयले कति दिन यसरी रोक्न सक्छ त्यो पनि हेरौँला ।’ सडक कार्यालयको अवरोधले फोहोर उठाउन छोडेको मेयर साहको भनाइ छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ अनुसार गाउँ वा नगर सरसफाइसम्बन्धी मापदण्डको कार्यान्वयन, सरसफाइ तथा स्वास्थ्य क्षेत्रबाट निष्कासित फोहोरमैलाको व्यवस्थापन र स्थानीयस्तरमा सरसफाइ तथा फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी गाउँपालिका तथा नगरपालिकाको कर्तव्यभित्र पर्छ ।

लहान नगरपालिकाको मुख्य सडकमा पर्ने पूर्व बलान नदीदेखि पश्चिम सरस्वती खोलासम्मको विभिन्न स्वास्थ्य संस्था, होटल, मासु पसल, तरकारी बजार तथा निजी घरबाट निष्कासन हुने फोहोर नगरबासीले लोकमार्गमै थुपार्ने गरेका छन् । यसरी थुपारिएका फोहोर नगरपालिकाले आफ्नो सरसफाइ कर्मचारीबाट उठाई लहान नगरपालिका–४ मा रहेको ल्यान्डफिल साइटमा हाल्ने गरेको थियो ।

मेयर साहले आफ्नो स्वार्थ पूर्तिका लागि १०३ फिट सडक खाली गराउन खोजेको स्थानीयको आरोप छ । स्थानीय सरकारले यसरी बिनातुकको विवाद खडा गरी नगरलाई दुर्गन्धित बनाउने काम गर्नु नहुने उद्योग वाणिज्य संघ अध्यक्ष सुनिल महतोले बताए । ‘कर नगरले लिन्छ, सरसफाइ पनि नगरको जिम्मेवारी हो’, उनले भने, ‘नगरपालिकाले एकातिर लहानलाई स्मार्ट सिटी बनाउने नारा दिन्छ, अर्कोतिर फोहोर व्यवस्थापनमा आनाकानी गर्छ ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.