प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया नै त्रुटिपूर्ण : राप्रपा
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया नै त्रुटिपूर्ण भएको बताएको छ। प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि राप्रपाले यस्तो बताएको हो।
जोशीलाई प्रधानन्यायाधीश बन्न अयोग्य ठहर्याई अस्वीकृत गरेको घटना नेपालको संसदीय र न्यायीक अभ्यासमा नौलो भएको भन्दै राप्रपाले यस्तो धारणा सार्वजनिक गरेको हो।
‘प्रस्तावित व्यक्तिको योग्यता, दक्षता र क्षमताको मूल्यांकन गर्ने र निर्णय गर्ने संसदीय सुनुवाइ समितिको क्षेत्राधिकार हो तर संवैधानिक परिषदले सिफारिस गरेको व्यक्ति सुनुवाइ समितिबाट अस्वीकृत हुनुले संवैधानिक अंगमा नियुक्तिको पद्धति नै त्रुटिपूर्ण र असफल प्रमाणित भएको छ’, प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएका छ, ‘यसले आगामी दिनमा कैयन संवैधानिक र राजनीतिक जटिलता सिर्जना गर्न सक्ने सुनिश्चित रहेको राप्रपाको धारणा छ।’