३०० वर्ष पुरानो भीमसेन थापाको सत्तल अलपत्र
काठमाडौं : तीन सय वर्ष पुरानो ऐतिहासिक तथा पुरातात्विक महत्वको राष्ट्रिय विभूति भीमसेन थापाको सत्तल ‘सेतो सत्तल’को पुनर्निर्माण तथा जीर्णोद्धार अलपत्र परेको छ। गोकर्णेश्वर नगरपालिका–४ भीमसेनस्थानमा रहेको उक्त सत्तल पुनर्निर्माणको जिम्मा पाएको नेपाल वृद्ध तथा अपांग महिला सेवा केन्द्र र दाताका एजेन्टबीच विवाद भएपछि पुनर्निर्माण अलपत्र परेको हो।
विवादपछि निर्माणाधीन सत्तलमा दाताको एजेन्ट ट्रेक नेपालका टेण्डी शेर्पाले अपांगलाई ल्याएर राखेका छन्। जस्ताले छाएको जोखिमयुक्त सत्तलमा अपांग राखिएको छ।
गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले विवादपछि ऐतिहासिक भीमसेन सत्तल अलपत्र परेको बताए। उनले सत्तल व्यवस्थापन गरिरहेका कृपा शेर्पा नै जेलमा जानकारी दिए। ‘सत्तल अलपत्र छ, कसैले त्यसैको भाडा खाइरहेको छ रे, उता व्यवस्थापन गर्ने कृपा शेर्पा जेलमा छ’, उनले भने, ‘त्यहाँ अपांग ल्याएर राखिएको छ, के होला त्यहाँ अवस्था ? ’ टेण्डीले व्यवस्थापनको जिम्मा दिएका कृपा शेर्पा चेलीबेटी बेचबिखनको मुद्दामा जेल परेका हुन्।
हिमाल आरोहणको क्रममा हल्यान्ड (नेदरल्यान्ड)का दम्पतिमध्ये पतिको मृत्यु भएपछि र आरोहणमै अपांग बनेकी पत्नीको दानमा सेतो सत्तलको पुनर्निर्माण थालिएको थियो। टेण्डीको संयोजनमा नेपाल वृद्ध तथा अपांग महिला सेवा केन्द्रमार्फत १५ वर्षअघि निर्माण सुरुवात गरिएको थियो।
२०६१ साल वैशाख ३ गते साबिकको गोकर्ण गाविस–१ ‘ख’ कित्ता नम्बर १० को १ रोपनी ९ आना गुठीको तैनाथी जग्गास्थित भीमसेन थापाको राजगुठीमा दर्ता रहेको सेतो सत्तल भत्किएको अवस्थामा जीर्णोद्धार गर्न अपांग महिला सेवा केन्द्र र गुठी संस्थानबीच सम्झौता भएको थियो। अपांग महिला सेवा केन्द्रका अध्यक्ष ठाकुरप्रसाद ढुंगाना ‘रमेश’ र गुठीका तत्कालीन कामु प्रशासन प्रमुख अच्युतानन्द पोखरेलबीच गुठीको तैनाथी जग्गामा भएको अतिक्रमण हटाउने, साबिककै नक्सा र डिजाइन (पुरानै) शैलीमा सत्तल जिर्णोद्धार र पुनर्निर्माण गर्ने सम्झौता भएको थियो। गुठीको आलटालबीच स्थानीयको अगुवाइमा नै सम्झौता भएको थियो।
विदेशी डलर आउने भएपछि विभागको पनि ध्यान आर्कषण भयो र प्रतिनिधि नै पठायो। त्यसपछि विभिन्न दलका नेताको पनि त्यसमा आँखा लाग्यो। निर्माणाधीन सत्तललाई नै सबैजसो दलले कार्यक्रम गर्ने थलो बनाएका थिए।
स्थानीय अगुवा सुरेशचन्द्र भट्टले जीर्ण भीमसेन सत्तल पुनर्निर्माण हुने भएपछि आफ्नै पहलमा जग्गा उपलब्ध गराएको बताए। ‘राम्रै होला भनेर त्यहाँ बसेका जोगी हटाइयो, गुठीले आलटाल गरिरहेको थियो, त्यो बेला जोगमेहर श्रेष्ठसँग मेरो राम्रै चिनजान भएकाले उहाँलाई भन्न लगाएर गुठी मनाइयो’, उनले भने, ‘त्यो सम्झौतापछि पुरातत्वले प्रतिनिधि पठायो, अनि हामी त को को भइयो भइयो, जोगीका परिवारलाई जागिर दिने सर्तमा हटाइएको थियो, ३ महिनापछि उनीहरूलाई जागिरबाट निकालियो।’
गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिका सल्लाहकार सदस्यसमेत रहेका भट्टले सेतो सत्तलको नाममा ब्रह्मलुट भइरहेको दाबी गरे। ‘कहिले एउटा कहिले अर्काले यो ऐतिहासिक भीमसेनको सत्तलमा ब्रह्मलुट गरिरहेका छन्’, उनले भने। उनले सम्झौताअनुसार कामसमेत नभएको बताए। ‘पुरानै शैलीमा बनाउने भनेको थियो त्यो भएन, बुर्जा राख्ने भनिएको थियो, त्यो पनि राखिएन,’उनले चिन्तित हँुदै भने, ‘राष्ट्रिय विभूतिको सम्पदा नै नाश हुने अवस्थामा पुगेको छ।’
सेतो सत्तलको पुनर्निर्माणमा ठूलो अनियमितता भएको देखिएको छ। पुरातत्वले अनियमितता भएको भन्दै पुनर्निर्माणको जिम्मा लिएको संस्थासँग स्पष्टीकरण सोधेको छ। पुनर्निर्माणमा प्रयोग हुने काठको रोयल्टी १६ लाख रुपैयाँ छुट गराए पनि सबै कुकाठ प्रयोग गरिएको भन्दै पुरातत्वले स्पष्टीकरण सोधेको हो। पुरातत्वले कुल अनुमानित लागत १ करोड ३५ लाखमध्ये अहिलेसम्मको खर्चको विवरण मागेको छ। विभागका पुरातत्व अधिकृत सुरेशसुरस श्रेष्ठले मागेको स्पष्टीकरणमा दातृ संस्थाबाट पाएको रकमको विवरणसमेत मागिएको छ। प्राविधिकको सुझावबमोजिम मापदण्डअनुसार निर्माण सामग्री प्रयोग नगर्नुको कारण पनि सोधिएको छ।
स्पष्टीकरण सोधेको एक वर्षपछि पुनर्निर्माणको जिम्मा पाएको अपांग महिला सेवा केन्द्रका अध्यक्ष ढुंगानाले प्रतिउत्तर दिँदै १ करोड ४५ लाखमा ६५ लाख ९७ हजार ५ सय ५१ खर्च भएको बताए। सत्तल पुनर्निर्माणलाई ढुंगानाले मागी खाने भाँडो बनाएको भन्दै गुठीसँग मिलेर टेण्डीले लखेटेको स्थानीय बताउँछन्।
भवन विभागबाट ल्याएको एक लाख रुपैयाँ ढुंगानाले नक्कली बिल बनाएर खाएको आरोप छ। ढुंगाना भने उक्त रकम आफूले खर्च गर्न नपाएको दाबी गर्छन्। ‘मलाई त्यहाँ कुनै काम नै गर्न दिइएन, उक्त रकमसमेत खर्च गर्न पाइनँ’, उनले भने।
ढुंगानाले मागी खाने भाँडो बनाएको आरोप लगाउने ट्रेक नेपालका टेण्डी शेर्पाले पनि अपांगलाई देखाएर विदेशीसँग पैसा असुली गर्ने थलो बनाएको स्थानीयहरूको आरोप छ। ‘टेण्डीले हालीमुहाली गरिरहेको छ, सुरुवात मोजमस्ती गर्ने संस्थाको अध्यक्ष ढुंगानाको अहिले टाउको दुखाइ भएको छ’, एक स्थानीयले भने।
पुनर्निर्माणको जिम्मा पाएको अपांग महिला सेवा केन्द्रका अध्यक्ष ढुंगानाले निर्माण गरिरहेको अवस्थामा अपांग ल्याएर राखी अवरोध गरेकाले काम रोकिएको दाबी गरेका छन्। उनले कुनै पनि हालतमा निर्माण पूरा गर्ने दाबी गरे। उनले आफूले अनियमितता गरेको भए जस्तोसुकै सजाय भोग्नसमेत आफू तयार रहेको बताए।