भिडाल भित्र्याउँदै बार्सिलोना
बार्सिलोना : स्पेनिस पावर हाउस बार्सिलोनाले चर्चित मिडफिल्डर अरतुरो भिडाललाई टोलीमा अनुबन्ध गर्ने तयारी गरेको छ । चिलीका मिडफिल्डर भिडाललाई खर्चिएको रकमबारे बार्सिलोनाले भने खुलाउन चाहेको छैन । यद्यपि बायर्न म्युनिखका मिडफिल्डर भिडाललाई बार्सिलोनाले अनुबन्ध गर्न २० मिलियन युरो खर्चिएको समाचारमाध्यमले जनाएका छन् ।
स्पेनिस पत्रिका मार्काका अनुसार बार्सिलोनाले भिडाललाई २० मिलियन युरोमा भित्र्याएको उल्लेख गरेको छ । बार्सिलोनाले उनलाई तीनवर्षे सम्झौता गरिसकेको समेत उल्लेख गरिएको छ । ३१ वर्षीय भिडालले बार्सिलोनामा केही दिनमै मेडिकल परीक्षण गर्ने र बार्सिलोनाबाट खेल्ने पनि मार्काले खुलासा गरेको छ ।
भिडाल सन् २०१५ मा बायर्न म्युनिखमा अनुबन्ध भएका थिए । उनी इटालियन क्लब युभेन्टसबाट बायर्नमा पुगेका थिए । तीन वर्ष बायर्नमा बिताएका भिडाल बायर्नका हतियार नै थिए । भिडाल बार्सिलोना गएको कुरालाई बायर्नले समेत पुष्टि गरेको छ । ‘भिडाल महत्र्वपूर्ण खेलमा टोलीलाई काम लाग्ने खेलाडी हुन् । उनमा टोलीलाई कठिन अवस्थामा खेल फर्काउन सक्ने क्षमता छ । हामी उनको सुनौलो भविष्यको कामना गर्छौं’, बायर्नका कार्यकारी अधिकृत कार्ल हेइन्ज रुमेनिजले भनेका छन् ।
भिडालको उपस्थितिमा बायर्नले तीनवटै सिजनको लिग उपाधिसहित एक जर्मन कप र दुई जर्मन सुपर कप जितेको छ । बार्सिलोनाले पनि भिडालको आगमन टोलीका लागि महत्वपूर्ण हुने उल्लेख गरेको छ । सन् २००७ देखि चिली राष्ट्रिय टोलीका भरपर्दा खेलाडी भिडालले राष्ट्रिय टोलीबाट एक सय खेल खेलिसकेका छन् । ती खेलमा उनको गोलसंख्या २४ पुगेको छ ।