अपडेट : पहिरोले रोकेको नारायणगढ मुग्लिन सडकमा आवागमन सुचारु
चितवन : नारायणगढ मुग्लिन सडकको घुमाउनेमा पहिरो खस्दा शनिबार राति १० बजेदेखि अवरुद्ध सडक सुचारु भएको छ। शनिवार बिहान खसेको पहिरो ८ घण्टापछि हटाएर आवागमन सुचारु बनाइएकोमा राति फेरि पहिरो खसेपछि बाटो बन्द भएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमले भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित घुमाउनेमा खसेको पहिरो दुईवटा डोजरको सहायतामा हटाइएको छ।
पहिरोले सधैँ सास्ती
शनिबार वर्षाका कारण बिहान ६ बजे खसेको पहिरो करिब साढे आठ घण्टापछि हटाइएको थियो। दुईवटा डोजरले लगातार पहिरो सफा गरेपछि मात्रै दिउँसो साढे दुई बजे सवारी आवागमन सुरु भएको थियो।
सडक अवरुद्ध हुँदा सवारीको लामो जाम भएको थियो। घण्टौं जाममा बस्दा आफूहरूले दुख पाएको गुनासो यात्रुले गरेका छन्। सडकको अवस्था सुधार भएपछि आधा घण्टामा पार हुने उक्त खण्ड पहिरा खस्न थालेपछि पार गर्दा लाग्ने समयको ठेगान हुन छाडेको छ। ठूलो चट्टानसहितको हिलो माटो खस्ने गरेको छ। सडक राम्रो भएपनि पहिरोको कारण सास्ति पाएको सवारी चालक ज्ञानेन्द्र पुनले गुनासो गरे। ‘कहाँ कति बेला पहिरो जान्छ थाहै हुँदैन’, उनले भने।
सामान्य वर्षात्मा पनि पटकपटक पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ। चार किलो, तोपे खोला, घुमाउने पहिरोको बढी जोखिम क्षेत्र हुन्। सडकको स्तरोन्नती भएपनि पहिरो नियन्त्रण गर्न नसक्दा यात्रा कठिन बनेको छ। भूकम्पपछि भूबनोट कमजोर भएका कारण पहिरो खस्ने गरेको प्राविधिकको भनाइ छ। पहिरो नियन्त्रणका लागि कृतिम उपाय गर्न पनि भौगोलिक बनोटले समस्या भएको छ।
पहिरो नियन्त्रणका लागि १० स्थानमा चट्टानमा जाली राखेर ‘रक नेटीङ’ गरिएको छ। रेक नेटीङ प्रभावकारी भएपनि भित्री भाग कमजोर भएकोले जाली राख्न नमिलेपछि पहिरो नियन्त्रण गर्न नसकिएको हो। पहिरो खस्दै गएपछि आफंै भिरालो भएपछि आफैं रोकिने बताइएको छ। ‘चलायमान अवस्था भएकोले अहिले नै केही गर्न सकिने अवस्था छैन’, आयोजनाका सूचना अधिकारीसमेत रहेका इन्जिनियर शिव खनालले भने, ‘पहिरो नियन्त्रणका लागि वर्षा सकिएपछि मात्रै केही काम गर्ने योजना छ।’ सडक आयोजना अन्र्तगतकै बजेटबाट पहिरो नियन्त्रणको काम गरिने उनले बताए।
पहिरो खसेर उक्त सडक खण्डमा डेढ महिनाको अवधिमा २० पटक पहिरो खसेको छ। जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार एक सय घण्टा दुईतर्फी सडक अवरुद्ध भएको छ। सबैभन्दा बढी तोपेखोलामा मात्रै ८ पटक पहिरो खसेको छ। जलविरे, कालिखोला, घुमाउने, चार किलोलाई सबैभन्दा बढी पहिरो प्रभावित क्षेत्र मानिएको छ। सडकको पुनर्निर्माण गर्ने क्रममा पहाड कटान भएपछि पहिरोको जोखिम बढेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख बेदप्रसाद गौतमले पानी पर्ना साथ पहिरो खस्ने गरेको बताए। ‘पछिल्लो केही महिनामा पहिरो खस्ने क्रम बढेको छ’ गौतमले भने, ‘कमजोर भूबनोटकै कारण सामान्य पानी पर्दा पनि पहिरोले दुःख दिने गरेको छ।’
नारायणगढ–मुग्लिन सडक खण्डको ९७ प्रतिशत काम सकिएको छ। दुई नम्बर प्याकेज अन्र्तगतको दासढुंगादेखि सिमलतालसम्मको खण्डमा काम सम्पन्न भएको छ। मुग्लिनतर्फ एक किलोमिटर तेस्रो तहको कालोपत्रे गर्न बाँकी छ। पानी परेका कारण यो खण्ड पूरा गर्न नसकिएको आयोजनाले जनाएको छ। सडक सुरक्षाको लागि बोर्ड राख्ने, रंग लगाउने काम अन्तिम चरणमा पुगेको छ।
हेर्नुस् शनिबारका फोटोहरू।