पानीले ३ सय ९५ घरधुरी जोखिममा
गमगढी : छायानाथ रारा नगरपालिका–४ ताल्चास्थित रारा विमानस्थलबाट निकासी भएको बर्खाको पानीले ३ वर्षदेखि कटान गर्दै पहिरो जान थालेपछि सोही नगरपालिका–४ का ३ सय ९५ घरधुरी पहिरोको जोखिममा परेका छन् ।
छायानाथ रारा नगरपालिका–४ ताल्चामा रहेको रारा विमानस्थलबाट निकासी भएको वर्षातको पानीले ३ वर्षदेखि कटान गर्दै पहिरो जान थालेपछि सोही नगरपालिका–४ भामबाट गाउँको दोबाट, कालाढुंगा, कोष, बोटु, कालापाल्ता, माथिल्लो कालापाल्ता, पाटपोटेनी बस्तीका ३ सय ९५ घरधुरी जोखिममा परेका हुन् ।
०७२ सालमा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएलगत्तै त्यही सालको असार ३१ गतेबाट सुरु भएको पहिरोको कटानले गर्दा बर्खामा ३ वर्षदेखि विमानस्थलबाट निकासी भएको पानीले कटान गर्दै पहिरो जान थालेको हो । पहिरोले कुन बेला बस्तीसमेत पुरिन्छ भन्ने त्रासमा छन् स्थानीय ।
विमानस्थलको उत्तरदेखि घट्टेखोला नदीसम्म चार किलोमिटर दूरीमा बग्ने पानीले ३ वर्षदेखि १० हेक्टरभन्दा बढी खेतीयोग्य जमिन, खानेपानीको मूल, काठेपुल, गारेटो बाटो, गमगढी पिना र गमगढी ताल्चा जोड्ने सडकलगायत भौतिक संरचनामा क्षति गरेको छायानाथ रारा नगरपालिका–४ भामबाडा गाउँका स्थानीय बताउँछन् ।
पहिरोले कुन बेला पुरिदिन्छ भन्ने चिन्तामा छन् स्थानीय । यसको रोकथामका लागि प्रहरी मुचुल्का, जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिको निर्णय, सर्वदलीय बैठकका निर्णयसहित नागरिक उड्डयन मन्त्रालय, जल उत्पन्न विभागलगायत मन्त्रालयमा जानकारी गराए पनि कुनै निकायले चासो नदिएको स्थानीयको गुनासो छ ।
विमान स्थलको मात्र नभई अरू स्थानबाट बगेर आएको पानीका कारणले पहिरो जाँदा सर्वसाधारणको घरजग्गामा क्षति पुगेको छ । पहिरो रोकथामका लागि विमानस्थलको उत्तरतर्फको खोलाको अन्तिम भागसम्म पानीको बहाव नियन्त्रण गर्न ड्याम फिड र तटबन्ध निर्माण गर्नुपर्ने बुकाखोला पहिरो नियन्त्रण समतिका अध्यक्ष प्रदीप रावल बताउँछन् । बेलैमा यो समस्या समाधान नगरे वर्षैपिच्छे हुने कटानले विमानस्थलसमेत पहिरोमा पर्ने अवस्था रहेको रारा विमानस्थल आयोजनाका इन्जिनियर प्रकाश श्रेष्ठको भनाइ छ ।
तीन वर्षयता वर्षातमा विमानस्थल र यसका असपास क्षेत्रबाट आएको पानीका कारण पहिरोले कटान गर्दा छायानाथ रारा नगरपालिका–४ का ३ सय ९५ घरधुरी पीडित भएका छन् । यसको रोकथामका लागि जिल्ला तहबाट सम्भव नदेखिएकाले जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिले बर्सेनि संघीय सरकारलाई जानकारी गराउँदै आएको छ ।