उद्योग दिवस–२०८१ को अवसरमा म्याग्दीका तीन उद्यमीलाई सम्मान

उद्योग दिवस–२०८१ को अवसरमा म्याग्दीका तीन उद्यमीलाई सम्मान
दशौं उद्योग दिवसका अवसरमा आइतबार बेनीमा सम्मानित भएका उद्यमीहरू। तस्बिर : सन्तोष गौतम।

बेनी : दशौं उद्योग दिवस–२०८१ को अवसरमा पर्यटन तथा उद्योग कार्यालय, म्याग्दीले आइतबार बेनीमा तीन जना उद्यमीहरुलाई सम्मान गरेको छ। 

रघुगङ्गा गाउँपालिका–१ बेगकी मेनुका सिलाई कटाई तथा प्रशिक्षण केन्द्रका मेककुमारी पुन, बेनी नगरपालिका–८ गणेशटोलको वेदना सु–सेन्टरका सुकलाल किसान र बेनी नगरपालिका–७ कुरिलाखर्कको शर्मा कृषि तथा पशपंक्षी फर्मका सञ्चालक कृष्णप्रसाद शर्मालाई सम्मान गरिएको हो। 

गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री रेशम बहादुर जुग्जाली (सुविन), जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल लगायतले उनीहरुलाई दोसल्लो ओढाएर सम्मानपत्र प्रदान गरेका थिए।

कार्यक्रममा प्रदेशसभा सदस्य जुग्जालीले म्याग्दीमा आवश्यकता र सम्भावनामा आधारित भएर सिपमुलक तालिम सञ्चालन गर्न आवश्यक भएको बताए। गण्डकी प्रदेशसभाबाट स्थानीय मदिरा सम्बन्धी कानुन निर्माणको अन्तिम चरणमा रहेको जानकारी गराउँदै म्याग्दीमा पनि यस किसिमका उद्यम स्थापना गरि मदिरा आयात घटाउन आवश्यक देखिएको विचार व्यक्त गरे। 

‘उद्यमी, ब्यवसायी, कर्मचारी देखि हरेक क्षेत्रमा छिटो प्रगति गर्ने महत्वाकांक्षका कारण निराशा सिर्जना भएको छ,’ उनले भने, ‘आफ्नो क्षमता र अवस्था अनुसारको लक्ष्य राखेर पेशा, व्यवसायलाई निरन्तरता दिनु आवश्यक छ।’

जिल्ला समन्वय समितिका प्रमुख थापाले दिवस मनाउन बजेट नभए पनि उद्यमीहरूलाई प्रोत्साहनका लागि सम्मान कार्यक्रम आयोजना गरिएको बताए। बेनी नगरपालिकाका प्रमुख सुरत केसीले आयातित खादा, माला र झोलाको विकल्पमा स्थानीय फूल, हाते ब्याग, सपिङ्ग ब्यागको प्रयोगमा जोड दिएको बताए। 

सिपमुलक तालिम सञ्चालन र उद्यमशीलतामा जोड दिए पनि विदेशिने प्रचलनका कारण उद्यमीलाई टिकाउनै समस्या भएको बताए। प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले उद्यमी, व्यवसायीहरूलाई उपभोक्ताको अधिकारमा सचेत रहन आग्रह गर्दै सेवाप्रवाहका क्रममा समस्या देखिएमा सहजीकरण गरिने बताए। 

उद्योग तथा पर्यटन कार्यालय म्याग्दीका प्रमुख पोषानाथ शर्माले जिल्लामा तीन हजार तीन सय ३२ उद्योग व्यवसाय रहे पनि पछिल्लो समय दर्ता हुनेभन्दा बन्द गर्ने क्रम बढेको जानकारी गराए। 

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले वैदेशिक रोजगारीको लागि उद्यम, व्यवसाय दर्ता गर्ने र उद्देश्य पूरा भएपछि बन्द गर्ने चलन रहेको बताउँदै वास्तविक उद्यमीहरूले संघर्ष र पेशालाई निरन्तरता नै दिएका बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.