३३ वर्षपछि फर्काइए आकाश भैरवका ऐतिहासिक मुकुट

३३ वर्षपछि फर्काइए आकाश भैरवका ऐतिहासिक मुकुट

ऐतिहासिक सहर दोलखाको गुरुकोट टोलबाट ३३ वर्षअघि चोरी भएको आकाश भैरव (हाथ्व) का दुईवटा ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वका मुकुट आफ्नो पवित्रभूमि सांस्कृतिक सहर दोलखा फर्काएका छन्। 

अमेरिकाका विभिन्न सङ्ग्रहालयमा पुगेका यी अमूल्य सम्पदालाई कूटनीतिक तथा कानुनी प्रक्रियामार्फत स्वदेश फिर्ता ल्याइएपछि बिहीबार राष्ट्रिय सङ्ग्रहालय छाउनीबाट दोलखा ल्याइएको हो। दोलखा ल्याइएका मुकुटहरूलाई सदरमुकाम चरिकोटदेखि नै स्थानीय बासिन्दा, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले भव्य स्वागत गरेका थिए। बाजागाजा, सांस्कृतिक झाँकी र धार्मिक विधिसहित बजार परिक्रमा गराएर मुकुटहरूलाई गुरुकोट टोलस्थित नक्छे प्रधान खलकको कुलघरमा पुर्‍याइएको थियो।

२०५०/५१ सालतिर दोलखाको गुरुकोट टोलस्थित नक्छे प्रधान खलकको कुलघरबाट चोरी भएका यी मुकुटहरू स्थानीय भाषामा ‘हाथ्व’ अर्थात् आकाश भैरवका रूपमा परिचित छन्। कुलदेवताका रूपमा पूजा गरिने यी मुकुट हराएपछि विगत ३३ वर्षदेखि यससँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक परम्पराहरू प्रभावित बनेका थिए। मुकुट चोरी भएपछि दोलखाको मौलिक धार्मिक परम्परामा गम्भीर असर परेको स्थानीयहरूको भनाइ छ। 

वर्षौँदेखि रित्तो रहेको देवताको आसनमा बुधबार परम्परागत तथा तान्त्रिक विधिअनुसार अभिषेक, स्वागत र प्राणप्रतिष्ठा पूजा सम्पन्न गरी पुनःस्थापना गरिएको हो। हराएका मुकुटहरूको खोजी अभियान नेपालका चोरी भएका सम्पदाको डिजिटल अभिलेखीकरण तथा खोजीमा सक्रिय ‘लस्ट आर्ट्स अफ नेपाल’ अभियानबाट सुरु भएको थियो। खोजीका क्रममा एउटा मुकुट अमेरिकाको टेक्सासस्थित डल्लास म्युजियम अफ आर्ट र अर्को न्युयोर्कस्थित रुबिन म्युजियम अफ आर्टमा रहेको पत्ता लागेको थियो।

त्यसपछि पुरातत्त्व विभागले ऐतिहासिक प्रमाण सङ्कलन गरी स्वामित्व पुष्टि गरेको थियो। न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले अमेरिकी अनुसन्धान निकाय फेडेरल ब्यूरो अफ इन्भेस्टिगेसन तथा म्यानहट्टन जिल्ला सरकारी वकिलको कार्यालयसँग समन्वय गरी मुकुटहरू फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको थियो। कानुनी प्रक्रिया पूरा भएपछि ती मुकुट नेपाल फर्काइएर केही समय राष्ट्रिय सङ्ग्रहालय छाउनीमा राखिएका थिए। 

बिहीबार नक्छे प्रधान खलकका ज्येष्ठ पुजारी यज्ञकुमार प्रधानको नेतृत्वमा ती मुकुट दोलखा ल्याइएको हो। स्थानीयवासीहरूले ३० वर्षअघि चोरी हुँदा दोलखाको सांस्कृतिक गौरवमा लागेको घाउ आज भरिएको अनुभूति भएको बताएका छन्। चरिकोटदेखि दोलखा बजारसम्म देखिएको जनसहभागिता र उत्साहले सम्पदा फिर्तीप्रति दोलखावासीको भावनात्मक सम्बन्ध स्पष्ट देखाएको थियो।

इतिहासअनुसार यी मुकुटहरू १६औँ शताब्दीको मल्लकालमा निर्माण गरिएका थिए। तत्कालीन दोलखाका राजा गोविन्ददेवका पाँच सन्तानबीच अंशबन्डा हुँदा उक्त मुकुट नक्छे प्रधान खलकको भागमा परेको र त्यसयता कुलदेवताका रूपमा पूजा गरिँदै आएको विश्वास छ। स्थानीय द्वाल्खा भाषामा आकाश भैरवलाई ‘हाथ्व’ भनिन्छ। वर्षभरि कुलघरको गोप्य कक्षमा सुरक्षित राखिने यी मुकुटहरू प्रत्येक वर्ष इन्द्रजात्राका अवसरमा मात्र सर्वसाधारणका लागि दर्शन खुला गर्ने परम्परा रहेको छ।

३३ वर्षको प्रतीक्षा, खोजी र प्रयासपछि आफ्नै थातथलो फर्किएका यी ऐतिहासिक मुकुटले दोलखाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक गौरवलाई पुनर्जीवित गराएको स्थानीयवासीको विश्वास छ। साथै, चोरी भई विदेश पुगेका अन्य नेपाली सम्पदाको खोजी तथा फिर्ती अभियानलाई समेत यस घटनाले थप ऊर्जा प्रदान गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.