नगदसहित पाँच जुवाडे पक्राउ
विराटनगर : मोरङको कानेपोखरी गाउँपालिका- २ बाट प्रहरीले शनिबार साँझ साढे सात बजे जुवा खेलिरहेको अवस्थामा पाँचजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले कोनेपोखरी- २ का माधव भनिने भवानी शंकर थापाको बगैंचाभित्र जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरी निरीक्षक कमल बजगाईका अनुसार बगैंचा धनी थापा, कानेपोखरी- २ का ३५ वर्षीय शंकर चौधरी, ४९ वर्षीय राजेन्द्रप्रसाद दाहाल, पथरीशनिश्चरे नगरपालिका- १ का ४३ वर्षीय दीपबहादुर राई र २२ वर्षीय विकास राईलाई पक्राउ गरिएको छ।
पक्राउ परेकाको साथबाट ३२ वटा जुवाको कौडा र २१ हजार ८० रुपैयाँ पनि बरामद भएको जानकारी बजगाईले दिए। प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।