‘वादी समुदायको आत्मसम्मानप्रति गम्भीर हौं’
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले वादी समुदायको आत्म सम्मानप्रति संवेदनशील बन्न लेखक तथा चलचित्र निर्मातालाई आग्रह गरेको छ।
वादी समुदायको सम्मानपूर्वक बाँच्न पाउने हक र मानव अधिकारको निर्वाध उपभोगको प्रत्याभूतिका सम्बन्धमा राष्ट्रिय वादी परिषद्का तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएपछि आयोगले यस्तो आग्रह गरेको हो।
हालै निर्माण भएको चलचित्र ‘पण्डित बाजेको लौरी’ र उपन्यास कृति ‘नथिया’ र ‘ऐलानी’ मा ठाउँ–ठाउँका प्रयोग भएका शब्द र सन्दर्भहरूले बादी समुदाय र त्यस समुदायका महिलाको आत्मसम्मानमा ठेस पुगेको र त्यसबाट सो समुदायको मानव अधिकारको उल्लङ्घन हुन गएको ध्यानाकर्षण पत्रमा उल्लेख भएको थियो।
आयोगले सो सम्बन्धमा चलचित्र निर्माता तथा सम्बन्धित उपन्यासकारहरूलाई ध्यानकर्षण पत्रको प्रतिलिपिसहित बादी समुदायप्रतिको उनीहरुको धारणा मागसमेत गरेको आयोगले जनाएको छ। साथै आयोगले सो सम्वन्धमा सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग पनि आवश्यक जानकारी माग गरेको छ।
आयोगले विज्ञप्तिमा भनेको छ, ‘नेपालको संविधानको धारा १६ (१) मा सम्मानपूर्वक बाँच्न पाउने हक र धारा २४ (३) मा छुवाछुत तथा जातीय विभेद विरुद्धको हकको व्यवस्था रहेको एवं मुलुकी ऐन, अदालतको महल १० (क) ले कसैलाई धर्म, वर्ण वा कामको आधारमा छुवाछुत, भेदभावपूर्ण व्यवहार र वहिष्कार वा निषेध गर्न नपाउने व्यवस्थाप्रति गम्भीर रहन आयोग आग्रह गर्दछ।’