विरूप सिंहदरबार

विरूप सिंहदरबार

सिंहदरबारको ग्यालरी बैठक अब घाँस र झाङले ढाक्दैछ यतिखेर। वसन्तपुरको नौतले दरबारको भत्किएको शिर अझै ठडिएको छैन। ‘भत्किएको धरहरा हामी उठाउँछौं’ भन्ने नारा घन्कियो, तर धरहराको खाका कोर्ने पहल सुरु भएको छैन। भूकम्पका कारण भत्किएका भग्नावशेषलाई प्लास्टिकले ढाकेर पानीबाट जोगाए पनि कमजोरी उदांगै छ। रानीपोखरी निर्माण विवाद निकै चर्किएपछि सेनालाई जिम्मा दिने नयाँ प्रस्ताव आएको छ।

यी केही तस्बिर हुन्, जसले भूकम्पका कारण ढलेका पुरातात्विक र ऐतिहासिक सम्पदाले पुनर्निर्माणमा सरकारको उदासीनता प्रमाणित गर्छन्। सरकारले चासो नदिएकै कारण सिंहदरबारजस्तो ऐतिहासिक दरबारको पुनर्निर्माण हुन सकेको छैन। सिंहदरबार केवल राजनीतिक शक्ति केन्द्र मात्र होइन, यो इतिहास बोकेको संरचना पनि हो। तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले बनाएको यो दरबार इतिहासका अनेकौं घटनाको साक्षी बनेको छ।

धरहरा पनि केवल एक स्तूप वा स्तम्भ होइन। भीमसेन थापाले बनाउन लगाएको यो स्तम्भ नेपाली स्वाभिमानको प्रतीक पनि हो। हुन त ढल्नासाथ धरहरा नेपाली शैलीको हो वा होइन भन्ने विवाद पनि निस्केको थियो। संस्कृतिविद्हरू धरहरा मुगल शैली वा नेपाली मौलिक शैलीको हो भन्नेमा बाँडिएका थिए। विवादले एक खालको निष्कर्ष पाइसक्यो, तथापि धरहरा पुनर्निर्माण कार्य थाँती नै छ।

रानीपोखरी केवल प्रतापमल्लले बनाएका कारणले मात्र उल्लेखनीय होइन, काठमाडौं नगरको सौन्दर्य पनि हो यो। सहरको मध्यभागमा अवस्थित पोखरी तीनतीन वर्षसम्म वीभत्स स्थितिमा रहँदा पनि यसको पुनर्निर्माण गर्न जिम्मेवारहरूको मन पग्लिएन।

ऐतिहासिक र पुरातात्विक महत्व बोकेका सम्पदाको पुनर्निर्माण नहुनुले नेपाली नेतृत्व वर्गको संकुचित सोच उजागर गर्छ। यसबाट प्रस्ट हुन्छ, उनीहरूले यी सम्पदाको महत्व बुझेकै छैनन्। अधिकांश नेतृत्व वर्गले सम्पदाको महत्व नबुझेको यसैबाट प्रस्ट हुन्छ। वसन्तपुरको गद्दी बैठकको पुनर्निर्माण भने अमेरिकी सहयोगमा सम्पन्न भएको छ। यसबाट प्रस्ट हुन्छ, नेपाली नेतृत्व वर्ग विदेशी सहयोग पाएसम्म वा अरूले खर्च गरेर बनाइदिएसम्म जस्तोसुकै पुनर्संरचना गर्न पनि तयार छ। तर आफ्नै अग्रसरतामा यी सम्पदा निर्माण गर्न जागरुक छैन।

सम्पदाको महत्व नबुझेपछि आउने परिणाम यस्तै हो। सम्पदालाई भौतिक स्वरूपको रूपमा लिँदासम्म यस्तै संकुचित धारणाले प्र श्रय पाउँछ। हुन त पुराना महलहरू बनाएर के हुन्छ र ? भन्ने खालको बहस पनि नचलेको होइन। अवश्य पनि आम जनताको संरक्षण, जीवन सुरक्षा र पुनर्स्थापना पहिलो सर्त हो। तर यसको अर्थ सम्पदाहरू मासिन दिनु भन्ने पक्कै पनि होइन।

सम्पदाहरू हरेक देशका चिनारी हुन्, ऐतिहासिक र पुरातात्विक सम्पदा इतिहासका जीवन्त अभिलेख हुन्, जसले कुनै पनि देश हिँडेको बाटो बताउँछन्। साथसाथै तिनले राष्ट्रिय भावना निर्माण गर्न अभिप्रेरित गर्छन्। केवल मानिस र शक्ति सम्बन्धले मात्र राष्ट्र बन्दैन। मानवीय भावनाको एकता राष्ट्र निर्माणको पहिलो सर्त हो। ऐतिहासिक सम्पदाहरूले त्यस्तै राष्ट्रिय भावना निर्माण गर्न अभिप्रेरित गर्छन्।

जस्तोसुकै क्रान्ति वा उथलपुथलबाट गुज्रिएका देशले पनि राष्ट्रिय सम्पदाको संरक्षण र संवद्र्धनमा ध्यान दिएका हुन्छन्। भोकमरीबाट गुज्रिँदा पनि जारकालीन सम्पदाहरू बेच्न नमानेको रूसका लेनिनको उदाहरणले कम्युनिस्ट शासनमा पनि मानवीय संवेदना र लगावको कदर कसरी गरिँदो रहेछ भन्ने बताउँछ। सांस्कृतिक क्रान्तिका नाममा भत्काइएका गुम्बाहरूको पुनर्निर्माण चीनले यत्तिकै गरेको थिएन।

पुर्खाको सीप, कला, कौशल, ज्ञान बोकेका सम्पदाहरूले देशको गरिमा निर्माण गर्छन्। तिनै सम्पदाले नगरको सौन्दर्य कायम गरेका हुन्छन्। सौन्दर्य र इतिहासबोध नभएकाहरूले मात्र ती सम्पदाको उपेक्षा गर्छन्। इतिहास नबुझ्नेको भविष्य पनि अस्पष्ट हुन्छ भन्ने भनाइ तिनैका लागि मात्र लागू हुन्छ।

सिंहदरबारजस्तो देशकै शक्तिकेन्द्रमा रहेको ऐतिहासिक भवन विद्रुप अवस्थामा रहनु स्वाभाविक होइन। यसले आम जनतामा सिंहदरबार त बनेको छैन भने अरू के बन्ला भन्ने निराशा उत्पन्न गर्छ। अर्कोतर्फ लामो समयसम्म निर्माण नहुँदा त्यस्तो बहुमूल्य संरचना नष्ट हुँदै जान्छ। आमजनतामा आशाको सञ्चार गर्न र ऐतिहासिक सम्पदा संरक्षण गर्न सिंहदरबारको पुनर्निर्माणमा ढिलाइ गर्नु हुँदैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.