बबई र कर्णालीमा बाढीको जोखिम
काठमाडौं : निरन्तर परेको वर्षाका कारण बबई नदीमा पानीको बहाव बढ्दै गएपछि जोखिम बढेको छ। बबई नदीले दारेढुंगा क्षेत्रमा तीन मिटरको सतर्कता जलसतह पार गरी ३ दशमलव २७ मिटर र बाढापुलमा सात मिटरको सतर्कता तह पार गरेको छ।
पानीको बहाव बढ्ने क्रममा रहेकाले जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। अझै पनि वर्षा रोकिने अवस्था नरहेको उसको भनाइ छ। बबई नदीकै गुलारिया क्षेत्रमा २४ घण्टामा एक सय ६२ मिलिमिटर र रानीजरुवा क्षेत्रमा एक सय ६४ मिलिमिटर पानी परेको छ। कर्णालीको राजापुर क्षेत्रमा पनि २४ घण्टामा एक सय ७७ मिलिमिटर पानी पर्दा जल सतह उच्च भएको छ। एक सय ४० मिलिमिटरसम्मलाई सामान्य मानिन्छ।
गुलारिया क्षेत्रमा २४ घण्टामा एक सय ६२ मिलिमिटर र रानीजरुवा क्षेत्रमा एक सय ६४ मिलिमिटर पानी परेको छ।
भारी वर्षा भएकाले यी नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले एसएमएस र सामाजिक सञ्जालमार्फत अनुरोध गरेको छ। विभागले तीन दिनसम्मको अवस्थालाई अनुमान गरेर सतर्कता अपनाउँदै आएको विभागका महानिर्देशक ऋषिराम शर्माले बताए। कोसी, वाग्मती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली जस्ता नदीमा बाढी आउन अत्यधिक वर्षा हुनुपर्ने उनको भनाइ छ। विभागले विभिन्न कारणले उत्पन्न हुन सक्ने खतरा तीन दिनअघि नै पूर्वसूचना प्रवाह गर्ने, दैनिक दुई पटक बुलेटिन प्रकाशन गर्ने र चौबीसै घण्टा गृह मन्त्रालयलाई सूचना जानकारी गराउन थालेको छ।
बिहीबार बिहानसम्म सबैभन्दा बढी धनगढीमा १८ मिलिमिटर वर्षा भएको छ। जुम्लामा भने वर्षा हुन सकेन।