पुरानो बजार बचाइदिन व्यापारीको माग
सिरहा : सिरहा नगरपालिकाको पुरानो बजारलाई बचाएर सडक विस्तार गर्न र घर नक्सा पासका लागि यहाँका व्यापारी र तथा घरधनीहरूले नगरप्रमुखसँग माग गरेका छन् । घर नक्सा नहुँदा व्यापारीहरूले ऋण पाउनसमेत सकेका छैनन् । बहुमूल्य घरजग्गाको उचित मूल्यांकन भएको छैन । हाल नगरपालिकाले उठाइरहेको करको दररेट पनि सार्वजानिक गर्न उनीहरूले माग गरेका छन् ।
आइतबार सिरहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष र घरधनीसहितको टोलीले नगरप्रमुख अशेश्वर यादवलाई माग पूरा गर्न आग्रह गरेका छन् । असार ३२ गते नै व्यापारीहरूले नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए । तर, त्यसमा कुनै किसिमको छलफल नहुँदा थप दबाबका लागि आइतपार पुनः नगरपालिका कार्यालयमा पुगेको संघका पुग्नुपरेको अध्यक्ष प्रमोद पौदारले बताए । ‘२०५६ माघ १० गते सडक विस्तारसम्बन्धी नगरपालिकाले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्छ’, उनले भने, ‘बजारभन्दा बाहिरबाट बाइपासको व्यवस्था छँदै छ त्यसलाई व्यवस्थित गर्नु राम्रो हुन्छ ।’ २०५६ सालमा पनि घर भत्काएर नगरपालिकाले सडकको मुख्य भागबाट दुवैपट्टि ८÷८ मिटर सडक विस्तार गरेको थियो । अहिले पुनः बजार भत्काएर सडक विस्तार गर्न नहुने उनको तर्क छ । पहिले लगत कट्टा भइसकेकाले घरधनीले नक्सा बनाउनुपर्ने उनले बताए ।
नगरपालिकाले जनतासँग कुन कामको लागि कति कर लिने भन्ने हाल तोकेको दररेट सार्वजानिक गर्नुपर्ने डा.सुभाषचन्द्र यादव बताउँछन् । ‘स्थानीय सरकारसँग नागरिकको जुन आशा थियो त्यो जनप्रतिनिधिहरूले पूरा गर्न सकेका छैनन्’, उनले भने, ‘विकासको नारा देखाएर कमाऊ धन्दामा लाग्नु ठिक होइन् ।’ उनका अनुसार जनप्रतिनिधिमा पारदर्शिता देखिएन ।
व्यापारीहरूले उठाएको मागबारे अन्य सरोकारवालासँग छलफल गर्ने नगरप्रमुख यादवले बताए । उनले एक साताभित्र सडक विस्तारको समस्याको निकास निकालिने जानकारी दिए । साथै असार १० मै सकिनुपर्ने दोस्रो नगरसभा पनि हुन सकेको छैन । नगरसभाको क्रममा वडाध्यक्ष र कार्यापालिका सदस्यहरूले आर्थिक वर्ष ०७४÷७५ को आय÷व्यय विवरण सार्वजानिक गर्न माग गरेपछि सभा हुन नसकेको हो । ‘आय÷व्यय सार्वजानिक नगरेसम्म कानुनअनुसार नगरसभा हुन सक्दैन’, वडा नं १ का अध्यक्ष महेश यादवले भने, ‘नगरप्रमुखले आय÷व्यय सार्वजानिक गर्न दिएको छैन । ९ जना वडाध्यक्ष र ४ जना कार्यपालिका सदस्यले पटक पटक आय÷व्यय सार्वजानिक गर्न माग गरे पनि अहिलेसम्म माग पूरा भएको छैन ।