यसकारणले बनेनन् भक्तपुरमा साढे १८ हजार भूकम्प पीडितका घर

यसकारणले बनेनन् भक्तपुरमा साढे १८ हजार भूकम्प पीडितका घर

भक्तपुर : भक्तपुरमा अझै १८ हजार ६ सय ५२ भूकम्प पीडितका आवास बन्न बाँकी छन्। भूकम्प गएको चार वर्ष पूरा हुँदा पनि भक्तपुरमा चार हजार नौसय ४० जनाले मात्रै सरकारी अनुदानमा निजी आवास बनाएको देखिएको हो।

भक्तपुरमा २८ हजार ३ सय दुई जना भूकम्प पीडित लाभग्राही रहेका छन्। जसमध्ये २३ हजार ५ सय ९२ जनाले निजी आवास निर्माण गर्न पहिलो किस्ता बुझेका थिए। पहिलो किस्ता बुझेका ४ हजार ९ सय ४० जना भूकम्प पीडितले मात्रै गएको साउन १५ सम्मभित्र दोस्रो किस्ता बुझेका छन्।

त्यस्तै ४ हजार ३ सय ७४ जनाले मात्रै तेस्रो किस्तासम्म बुझेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आउँदो पुस मसान्तभित्र तेस्रो किस्ता बुझिसक्नुपर्ने व्यवस्था गरेको छ।

प्राधिकरणअन्तर्गत भक्तपुरमा रहेको जिल्ला आयोजना कार्यान्वयन ईकाईका प्रमुख ध्रुव गैंडाले सुरुमा २६ हजार ६६ जनामात्रै लाभग्राही रहेकामा छुट सर्भे र भूकम्प पीडितले दर्ता गरेको गुनासो सम्बोधन गर्ने क्रममा भक्तपुरमा २ हजार २ सय ३६ जना लाभग्राही थपिएको जानकारी दिए। 'गुनासो सम्बोधनबाट १ हजार ५ सय ७८ जना र छुट सर्भेबाट ६ सय ५८ जना लाभग्राही थपिए', उनले भने।

प्रमुख गैंडाले घरजग्गाको बहुस्वामित्वका कारण पहिलो किस्ता लगेका अधिकांश भूकम्प पीडितले सम्झौताअनुसार घर बनाउन नपाएको बताए। 'बहुस्वामित्व लाभग्राहीमा परेका भूकम्प पीडितले आवश्यक कागजात पेस गर्न नसक्दा पनि घर बनाउन पाएका छैनन्', उनले भने, 'घर बनाउन खोज्नेले पनि नगरपालिकाको मापदण्डअनुसार नक्सा पास गर्न सकेको पाइएको छैन।'

भक्तपुरका ४ नगरपालिकामध्ये पुरानो भक्तपुर नगरपालिकामा निजी आवास बनाउने भूकम्प पीडितको संख्या न्यून रहेको छ। पहिलो किस्ता लाने ५ हजार ४ सय ६७ जना लाभग्राहीमध्ये 1 हजार १ सय ९२ जनाले मात्रै दोस्रो किस्ता बुझेका छन्। 

जग्गाको क्षेत्रफल सानो भएर पनि घरको तल्लैपिच्छे लालपुर्जा लिइबसेका भक्तपुर नगरका धेरै भूकम्प पीडितहरु लाभग्राही सूचीमै पर्न सकेका छैनन्। त्यस्तै पुस्तौंदेखि गुठीको जग्गामा घर बनाएर बसेका तर जग्गाको पुर्जा आफ्नो नाउँमा नहुँदा यहाँका भूकम्प पीडित लाभग्राही नै हुन सकेका छैनन्।

भूकम्प पीडितको गुनासो सम्बोधनबाट ५ सय ९७ र छुट सर्भेबाट एकसय ३४ गरी भक्तपुर नगरमा ७ सय ३१ जना लाभग्राही थपिएका छन्। भूकम्प पीडित लाभग्राहीको सूचीमा पर्न नसकेकै कारण भक्तपुर नगरका केही ठाउँमा भूकम्पले भत्काएका घरको भग्नावशेषसमेत हटाइएको छैन।

सरकारले भूकम्प पीडित लाभग्राहीलाई पहिलो किस्तामा पचास हजार, दोस्रो किस्तामा एकलाख पचास हजार र तेस्रो किस्तामा बाँकी ५० हजार रुपैयाँ भुक्तानी उपलब्ध गराउँदै आएको छ।

भक्तपुरमा भूकम्पले आंशिक क्षति पुगेका घरको प्रवलीकरणको लागिसमेत एकलाख रुपैयाँको अनुदान सम्झौता गरिएको छ। जसअनुसार ६ सय ७२ जना भूकम्प पीडितको नाउँ प्रवलीकरण अनुदान सम्झौता सूचीमा प्रकाशन गरिएको आयोजनाका प्रमुख गैंडा बताउँछन्।

उनका अनुसार उक्त सम्झौता सूचीमा रहेका ५१ जनाले पहिलो किस्तास्वरुप पचास हजार रुपैयाँसमेत बुझिसकेका छन्। बाँकी ५० हजार रुपैयाँ भने दोस्रो किस्तामा उपलब्ध गराइने उनको भनाइ छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.