छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
विराटनगर : सुनसरी, मोरङ र झापाका अलगअलग स्थानमा भएका सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । सुनसरीको कोसी गाउँपालिका- ३ स्थित जमुना चोकमा पिकअपको ठक्रबाट सोमबार बिहान एक पुरुषको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नम्बर नखुलेको सेतो रंगेको पिकअपले ठक्कर दिंदा दुर्घटना भएको प्रदेश- १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
दुर्घटनामा परेर मृत्यु भएका अन्दाजी २९/३० वर्षका पुरुषको पहिचान भएको खुलेको छैन। त्यस्तै आइतबार साँझ पिकअपको ठक्रबाट घाइते भएका ती पुरुषको उपचारका क्रममा सोमबार बिहान ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि फरार रहेको पिकअप र चालकको खोजी थालिएको प्रहरीको भनाइ छ।मोरङमा आइतबार राति भएको दुर्घटनामा परेर तीनजना घाइते भएका छन्। बेलबारी नगरपालिका- ३ मा को २६ प ८१३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रु धनकुटाका २८ वर्षीय आकाश राई घाइते भएका छन्। राईको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
बुढीगंगा गाउँपालिका- २ टंकीसिनवारीमा को १ च ९०८५ नम्बरको कारले ठक्कर दिंदा साइकल यात्री बुढीगंगा- ३ का ४७ वर्षीय बेचनलाल खवास घाइते भएका छन्। घाइते खवासको विराट मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै सुन्दरहरैंचा नगरपालिका- ६ मा को २५ प ६१७० नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदलयात्रु ६५ वर्षीया थमादेवी ढकाल घाइते भएकी छन्। प्रहरीका अनुसार ढकालको इटहरीमा उपचार भइरहेको छ।
यता झापामा भएको दुर्घटनामा दुईजना घाइते भएका छन्। दमक नगरपालिका- ७ मा मे ३ प २२२६ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा साइकल यात्री कमल गाउँपालिका- ७ का ६० वर्षीय भानुभक्त गहतराज घाइते भएका छन्।
उनको दमकमा उपचार भइरहेको छ। कमल गाउँपालिका- ५ मंगलबारे चोकमा मे २ प ७८३५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा साइकल यात्रु ४७ वर्षीय भक्तबहादुर राई घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।राईको लाइफलाइन अस्पतालमा उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ।