नजिकिँदै युरोपेली सिजन

नजिकिँदै युरोपेली सिजन

लन्डन : युरोपेली लिग फुटबलको मजा लिन पल्किएका फुटबलप्रेमीको जमात निकै ठूलो छ। त्यसैले यतिबेला विश्वभरका असंख्य फुटबल समर्थक नयाँ सिजनको युरोपेली क्लब फुटबल सुरु हुने दिनको व्यग्र प्रतीक्षामा छन्। उनीहरूको प्रतीक्षा अब धेरै लामो हुने छैन। किनभने यसै साताबाट युरोपेली लिगहरू सुरु हुँदैछन्। युरोपेली लिगमा सबैभन्दा महँगो र प्रतिस्पर्धात्मक लिग मानिएको इङ्लिस प्रिमियर लिग आगामी शुक्रबारबाट सुरु हुँदैछ। प्रिमियर लिगको नयाँ सिजनको उद्घाटन खेलमा म्यानचेस्टर युनाइटेड र लेस्टर सिटी भिड्दै छन्। पहिलो दिन एक खेलमात्र हुनेछ।

दोस्रो दिन शनिबार टोट्टनहामले न्युक्यासल युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि सोही दिन थप पाँच खेल हुनेछन्। त्यही दिन चेल्सीले पनि हडर्सफिल्डसँग आफ्नो पहिलो खेल खेल्नेछ। शुक्रबारबाटै फ्रान्सेली लिग पनि सुरु हुँदैछ। फ्रान्सेली लिगको पहिलो दिनको खेलमा ओलम्पिक मार्सेलीले ताउलोसीसँग प्रतिस्पर्धा गर्दैछ। ब्राजिलियन स्ट्राइकर नेमारको टोली पेरिस सेन्ट जर्मन (पीएसजी) ले भने आइतबार केइनविरुद्ध नयाँ सिजनको आफ्नो पहिलो खेल खेल्नेछ।

युरोपका चर्चित लिगमध्ये स्पेनिस ला लिगा भने अगस्ट १७ तारिखदेखि सुरु हुने भएको छ। त्यसलगत्तै अगस्ट १८ तारिखदेखि इटालियन सिरिए पनि सुरु हुनेछ। स्पेनिस ला लिगाको पहिलो खेलमा रियल भालाडोलिड र गिरोनाले प्रतिस्पर्धा गर्नेछन्। पहिलो दिन दुई खेल हुनेछन्। लियोनल मेसीको टोली बार्सिलोनाले सिजनको आफ्नो पहिलो खेलमा शनिबार डेपोर्टिभो आल्भेससँग प्रतिस्पर्धा गर्दैछ।

सिरिएमा भने लिग विजेता युभेन्टस पहिलो खेलमै मैदानमा उत्रँदै छ। यो सिजन इटालियन सिरिए लिग रोमाञ्चक हुने पक्का छ। पाँच पटकका फिफा वर्ष खेलाडी क्रिस्टियानो रोनाल्डो आफू नौ वर्ष बसेको स्पेनिस क्लब रियल म्याड्रिड छाडेर युभेन्टस पुगेका छन्। सिरिएको नयाँ सिजन पनि रोनाल्डोकै क्लब युभेन्टसको खेलबाट सुरु हुँदैछ। सम्भवतः टोलीको पहिलो खेलबाटै रोनाल्डोले पनि युभेन्टसका लागि ‘डेब्यु’ गर्नेछन्।

अर्काे चर्चित युरोपेली लिग जर्मन बुन्डेस लिगा भने अगस्ट २४ तारिखदेखि मात्रै सुरु हुनेछ। बुन्डेस लिगाको पहिलो खेलमै साबिक विजेता बायर्न म्युनिखले खेल्नेछ। बायर्नले होफेनहेमसँग खेल्दै आफ्नो उपाधि रक्षाको यात्रा सुरु गर्नेछ। अबको झन्डै ६ महिना चल्नै यी लिगपछि विजेता टोली र दोस्रो डिभिजनमा झर्ने टोलीको टुंगो लाग्नेछ।

यो सिजन स्पेनिस ला लिगामा बार्सिलोना, इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी, बुन्डेस लिगामा बायर्न म्युनिख, इटालियन सिरिएमा युभेन्टस र फ्रान्सेली लिगमा पीएसजीलाई उपाधि जोगाउन ठूलै चुनौती हुनेछ। साथै यी क्लबले युरोपेली च्याम्पियन्स लिगको उपाधिका लागि पनि प्रतिस्पर्धा गर्नेछन्। स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिगको साबिक विजेता हो। युरोपेली घरेलु लिगहरू सुरु भएसँगै रुस विश्वकपको समापनपछि फुटबलको रोचक प्रतिस्पर्धाको प्रतीक्षामा रहेका फुटबल पारखीहरू पनि यतै झुम्मिने निश्चित छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.