हिलो पन्छाउँदै, गाडी ठेल्दै यात्रा
(साब्लाखु) ताप्लेजुङ : आइतबार बिहान यात्रु लिएर सदरमुकाम फुङलिङबाट सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखु हिँडेका चालक बुद्ध लिङ्देन साब्लाखुको जीवनडाँडा छेउमा साढे दुई घण्टा रोकिए ।
हिलाम्मे सडकमा गाडी भासिएपछि उनी रोकिएका हुन् । माथिबाट बगेर सडकमा थुप्रिएको कमेरो माटोको हिलोमा टायर पूरै डुबेर भास्सिएको गाडी निकाल्न आफैंले कोदालोले खनेर हिलो पन्छाए । महिला उद्यमी संघले आयोजना गरेको कार्याक्रममा हिँडेका यात्रुले ढुंगा जम्मा गरे । ढुंगा बिछ्याए । र, यात्रु सबै लागेर ठेलेपछि गाडी निकाल्न सफल भए । करिब ३ मिटर हिलो छिचोल्न बिहान १० देखि साढे १२ बजेसम्म लागेको थियो ।
‘तपार्इंहरू भएर मात्रै यो हिलो पार गर्न सकियो,’ सहयोग गरेका यात्रुलाई धन्यवाद दिँदै चालक लिङ्देनले भने, ‘नत्र निकाल्न सक्ने थिइनँ ।’ दुई दिनअघि अर्का चालक प्रेम राई त्यही ठाउँमा फसेको गाडी निकाल्न नसकेपछि यात्रु पैदलै पठाएर एक रातसम्म सडकमै रुँघेर बसेका थिए । ‘असारयता बाटो यस्तै हो, कहिले यात्रुले सघाउँछन् र पार गर्न सकिन्छ,’ राई भन्छन्, ‘बिरामी, बालबालिका र वृद्ध यात्रु परे भने सम्भव हुँदैन ।’
बर्खायता ढुक्कै कुटो, कोदालो, गल, पाल, मार्तलजस्ता हतियार गाडीमै राखेर हिँड्ने गरेको राई बताउँछन् । यो सदरमुकाम फुङलिङलाई गाउँपालिकाको केन्द्रसहित सातै वडासँग मात्र नभई मेची र मध्यपहाडी राजमार्गसँग जोड्ने एक मात्र सडक हो । फुङलिङदेखि पाँचथरको गणेशचोकसम्म मेची राजमार्ग र त्यहाँदेखि मध्यपडाडी लोकमार्गको थर्पुसम्म पक्की सडक छ । थर्पुबाट इवाकाबेली जलविद्युत् र याङवरक गाउँपालिकाले इन्द्रावती पुलसम्म कच्ची भए पनि निर्वाध सवारी चल्न सक्ने बनाएका छन् । जब इन्द्रावती तरेपछि ताप्लेजुङको साब्लाखु लाग्छ, त्यसपछि भने चालक र यात्रु दुवैको नियति सुरु हुन्छ ।
‘हिउँदमा फुङलिङबाट साब्लाखु ३ घण्टामा आरामले पुगिन्छ,’ चालक लिङ्देन भन्छन्, ‘बर्खामा कति समय लाग्छ भन्नै सकिँदैन ।’ अहिले स्थानीयले धान रोप्न र अलैँचीमा लगाउन सडकबाटै पानी कुदाउने गर्दासमेत समस्या भएको चालकको दुखेसो छ । अधिकांश ठाउँमा सडक बिग्रेको भए पनि धेरै बिग्रिएको ठाउँमा ढुंगा भर्न सके यस्तो समस्या नहुने लिम्बुदिनमा यात्रु प्रेम इधिङ्गो बताउँछन् । ‘जीवनडाँडा छेउका २ ठाउँमा र खोलानजिकै २ ठाउँमा सोलिङ गर्ने हो भने दुःख–सुख चल्ने थियो,’ उनले भने । गत आर्थिक वर्षको अन्तिममा यही सडक स्तरोन्नति गर्न २० रुपैयाँ खर्च गरिए पनि प्रभावकारी काम नभएको स्थानीयको गुनासो छ ।
गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षसमेत दिनहुँ यही बाटो हिँड्ने भए पनि स्तरोन्नतिमा चासो नदेखाएको उनीहरूको आरोप छ । यता, गाउँपालिका प्रमुख नरबहादुर कडरिया भने उक्त सडक प्राथमिकतामा रहेको र केही दिनमै स्तरोन्नति काम सुरु गर्ने बताउँछन् । ‘एक÷दुई दिनभित्रै काम सुरु गर्छौं, जसका लागि मान्छेसमेत खोजिसकेका छौं,’ उनले भने ।