प्रदेश १ बन्द, जनजीवन प्रभावित
तेह्रथुम : प्रदेश- १ को नाम लिम्बुवान खम्बुवान राखिनुपर्ने माग गर्दै विभिन्न पार्टीले साउन २२ गते एकदिने प्रदेश बन्दको आह्वान गरेका छन्।राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बूवान पार्टी नेपाल, लिम्बूवान राष्ट्रिय क्रन्तिकारी पार्टी र कोचिला एकता मोर्चाले बन्दको आह्वान गरेका हुन्।
वर्तमान संविधानले मुलुकमा जाति, वर्ग, लिंग र समुदायलाई संवैधानिकरूपमा अधिकार सम्पन्न गराउन नसकेको आरोप लगाउँदै त्यसको विरोधमा बन्द आह्वान गरेको बताएका छन्।
बन्दका कारण यहाँका शैक्षिक संस्था तथा यातायात सेवा ठप्प छन्। बिहानैदेखि यातायातका साधन नचल्दा यात्रु गन्तव्यमा पुग्न सकेका छैनन्। सडकमा यात्रुको बिचल्ली भएको छ।
संविधानले सम्पूर्ण जाती,वर्ग,लिङ्ग र समुदायलाई संवैधानिक रुपमा अधिकार सम्पन्न गराउन नसकेको भन्दै संविधानको पुर्नलेखन हुनुपर्ने पार्टीहरुले जनाएका छन्। पूर्वमा आन्दोलनरत लिम्बुवान जनता पार्टी , खम्बुवान राष्ट्रिय मञ्च , लिम्बुवान मुक्तिमोर्चा संघीयवादी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी , लिम्बुवान क्रान्तिकारी पार्टी, खम्बुवान मुक्तिमोर्चा, लिम्बुवान प्रान्तीय राष्ट्रिय मञ्च , राष्ट्रिय जनमुक्ति पार्टी र कोचिला एकता मोर्चाले संयुक्त रुपमा अपिल जारी गर्दै ०६६ सालदेखि प्रत्येक साउन २२ गते अरुण पूर्वका जिल्ला बन्द गर्दै आएको जनाएको छ।
१८३१ साल साउन २२ गते तत्कालिन राजा पृथ्वीनारायण शाह र तत्कालिन लिम्बूवानबीच भएको सम्झौताको स्मरण गर्दै यस दिनलाई कालो दिनको रुपमा लिँदै बन्दको आह्वान गर्दै आएको र प्रदेश- १ को नामांकरण लिम्बुवान खम्बुवान नभएसम्म आन्दोलन जारी रहने बन्धकर्ताले जनाएका छन्।