बजेट सक्न झरीमा सडक टालटुल
ओखलढुंगा : सिद्धिचरण राजमार्गअन्तर्गत हर्कपुर–ओखलढुंगा सडक खण्डको कालोपत्रे उप्किएर खाडल बनेका ठाउँमा झरीका समयमा टालटुल गर्न थालिएको छ। दैनिक पानी परेर सडकमै भल बग्न थालेपछि टालटुल थालिएको हो।
गुणस्तरहीन सामग्री प्रयोग गरेर गरिएको कालोपत्रे उप्किएपछि स्थानीयले विरोध जनाएका थिए। हर्कपुर सडक डिभिजन कार्यालयले भत्किएकै सडक बुझेको चौतर्फी आलोचना भएपछि पानीले बनाएका खाल्डा टाल्न सोलिङ गरेर कालोपत्रे माथि माटो भर्ने काम थालेको हो। सडकमात्र होइन, दायाँबायाँको नालीसमेत भत्किएर सडकमै पानीको भल बग्ने गरेको थियो।
बीचबीचमा भत्केका ठाउँमा खाडल पुर्न सोलिङ गरेर गिट्टीको धुलो राखेर खाडल पुर्ने काम गरिएको हो। यसअघि पटक–पटक सडकको समस्या उठाइए पनि ध्यान दिएको थिएन। विभिन्न सञ्चार माध्यममा समाचार आएपछि सडकका खाल्डाखुल्डी पुर्न सुरु गरेको स्थानीय बालकुमार श्रेष्ठले बताए। उनले भने, ‘यसअघि सडकले चासो दिएको थिएन।’
उक्त सडक हर्कपुरदेखि ओखलढुंगासम्मको ४२ किलोमिटरअन्तर्गत प्रत्येक १०–१० किलोमिटरमा टुक्रा बनाएर प्रतिकिलोमिर करिब एक करोड रुपैयाँको लागतमा चारवटा ठेकेदार कम्पनीलाई ठेक्का दिइएको थियो। सडक खण्डको चार नम्बर ठेक्काअन्तर्गत केत्तुकेदेखि रमाइलोडाँडासम्मको १० किलोमिटर सडकमा अत्याधिक कालोपत्रे उप्किएको थियो।
कालोपत्रे भत्केको बीचमा सोलिङ गरेको विषयमा हर्कपुर सडक डिभिजन प्रमुख इश्वरबहादुर रिजालले टालेको ठाउँमा कालोपत्रे नभएको दाबी गरे। उनले भने, ‘टालिएको ठाउँमा कालोपत्रे भएको होइन, यस्तै कुरा आउँछन् भनेर पानी कटाउने ठाउँ नपाएर काम नगरिएको हो।’
रिजाल प्रमुख भएकै बेला कालोपत्रे सकिएको भनेर सडक विभागले सडक बुझेको थियो। ठेकेदार कम्पनीले गुणस्तरीय काम नगरेको भन्दै यसलाई कालोपत्रे गरिने कार्यालयले जनाएको छ। जसका लागि बजेट समेत माग गरिएको सडक डिभिजन कार्यलय हर्कपुरले जनाएको छ।