सिक्टा सिँचाइको गुणस्तर छानबिन गर्न माग
बाँके : परीक्षणका क्रममा पटकपटक मुल नहर भत्किन थालेपछि सिक्टा सिंचाई आयोजनाको गुणस्तर छानविन गर्न माग गरिएको छ। परीक्षणका क्रममा दोस्रो पटक साउन ७ गते ढकेरी नजिकै नहर भत्किएपछि गुणस्तर छानविन गर्न माग गरिएको हो।
पटक पटक नहर भत्किन थालेपछि राप्तीसोनारी गाउँपालिकाले सिक्टा सिंचाई आयोजनाको गुणस्तरमाथि प्रश्न उठाउँदै केन्द्र र प्रदेश सरकारसँग छानविन गर्न माग गरेको छ। परीक्षणका क्रममा पहिलो पटक २०७३ असार १४ गते सोही स्थानमा नहर भत्किएको थियो। गाउँपालिका अध्यक्ष लाहुराम थारुले राष्ट्रिय गौरवको यस आयोजनाको अवस्था नाजुक हुन पुगेको निस्कर्षसहित गाउँ कार्यपालिकाको बैंठकले नै गुणस्तर छानविन गर्नुपर्ने निर्णय गरेको जानकारी दिए।
वडा नं.२ का वडाध्यक्ष मदन ओलीले सिक्टा सिचाई आयोजनाको गुणस्तरका कारण गाउँबस्तीमा जोखिम निम्त्याएकाले केन्द्र र प्रदेश सरकारले गुणस्तर जाँच गरी ठेकेदार कम्पनीलाई कारबाहीको दायरामा ल्याउन माग गरे।
सरकारले विशेष प्राथमिकतामा राखेको आयोजनाले बाँकेको कृषि क्षेत्रलाई कायापलट गर्ने अपेक्षा राखिएको छ। तर, परिक्षणकै क्रममा पटक–पटक आयोजनाको मुल नहर भत्किन थालेपछि कामको गुणस्तरबारे चौतर्फी रुपमा प्रश्न उठिरहेको छ।