चिडियाखानामा जनावरलाई नयाँ भान्साघर !
सञ्चिता घिमिरे/रासस
ललितपुर : जावलाखेलस्थित सदर चिडियाखानामा ८३७ जनावरका लागि नयाँ भान्साघर बनाइएको छ। राणाकालीन संरचना भत्काएर आधुनिक र फराकिलो भान्साघर बनाइएको उक्त चिडियाखानाले जनाएको हो।
भान्साघर ठूलो हुँदा पकाउन र सरसफाइ गर्न सहज भएको छ। पहिले सानो भान्सामा कोचिएर पकाउन पर्दा कठिन हुन्थ्यो अहिले नयाँ भान्साघर बनेपछि पकाउनेसँगै खाना भाग लगाएर दिन पनि सहज भएको असिस्टेन्ट क्युरेटर गणेश कोइरालाले जानकारी दिए।
‘चिडियाखानामा अध्ययन÷अनुसन्धानका लागि धेरै विद्यार्थी आउने गरेका छन्’, उनी भन्छन्, ‘साँघुरो भान्साका कारण पहिले उनीहरूलाई देखाउन र सिकाउन सहज थिएन। आधुनिक खालको भान्सा भएकाले सरसफाइ गर्न पनि सहज छ।’
चिडियाखानामा मुख्य र सहायक गरेर दुई किसिमका भान्साघर छन्। मुख्य भान्सामा नै सबै जनावरका लागि खानेकुरा पकाइने गरिएको छ। मुख्य भान्सामा पकाइएका खानेकुरा कुन वर्गका जनावरका लागि कति र कुन खोरका लागि कति भन्ने छुटयाएर सहायक भान्सामा लगिन्छ।
असिस्टेन्ट क्युरेटर कोइराला भन्छन्, ‘सहायक भान्साबाट नै जनावरलाई आवश्यक मात्रामा खानेकुरा र फलफूल दिइन्छ।’ एक दशकदेखि चिडियाखानामा पुराना संरचना भत्काएर नयाँ निर्माणका क्रममा भान्साघर पनि निर्माण गरिएको हो। राणाकालमा बनेका पुराना खोर सबै हटिसकेका छन्।
चिडियाखानामा अहिले पहिले भालु बस्दै आएको एउटा खोरमात्र बनाउन बाँकी छ। उनले भने, ‘त्यो पनि हामीले पहिले यस्तो खोर थियो भन्ने यहाँ आउने आगन्तुकलाई देखाउनका लागि राखेका हौं।’ पुनःनिर्माणभन्दा अघि चिडियाखानामा झण्डै ९० वर्षअघिका संरचना थिए।