भारतीय टोली भक्तपुर क्यान्सर अस्पतालमा
भक्तपुर : भारत सरकारको चार सदस्यीय टोली भक्तपुर क्यान्सर अस्पताल पुगेको छ। बोर्ड अफ रेडिएसन एन्ड आइसोटप टेक्नोलोजी (बीआरआईटी)का प्रमुख कार्यकारी गणेश गोपाल कृष्णनमको नेतृत्वमा आएको चार सदस्यीय टोली शुक्रबार अस्पताल पुगेको हो।
वैशाख २८ र २९ गते दुईदिने नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भक्तपुर क्यान्सर अस्पताललाई भभाट्रोन सेकेन्ड कोबाल्ट मेसिन उपलब्ध गराउने घोषणा गरेका थिए। सोही घोषणाअनुसारको कोबाल्ट मेसिन जडान गर्ने सम्बन्धमा अध्ययन गर्न उक्त टोली अस्पताल आएको अस्पतालका मेडिकल निर्देशक प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठले जानकारी दिए।
टोलीले दुई महिनाभित्र कोबाल्ट मेसिन जडान गर्न सकिने बताएको उनको भनाइ छ। अस्पतालमा रेडियोथेरापीका लागि बिरामीको लामो प्रतीक्षा सूची रहेकाले छिटोभन्दा छिटो कोबाल्ट मेसिन जडान गर्न आफूहरू तयार रहेको भारतीय टोलीका प्रमुख गणेश गोपालले जानकारी दिए। अस्पतालले नेपालको क्यान्सर क्षेत्रमा गर्दै आएको सेवाबाट आफूहरू प्रभावित भएको उनले बताए।
भारतीय प्रधानमन्त्री नरेन्द्र अस्पताललाई दिने भनेको भभाट्रोन सेकेन्ड कोबाल्ट मेसिन जडान गर्ने विषयमा अध्ययन गर्न टोली आएको हो।
‘अस्पतालमा रेडियोथेरापीका लागि कुर्ने क्यान्सर बिरामीको प्रतीक्षा सूची लामो रहेछ’, गणेश गोपालले भने, ‘बिरामीलाई रेडियोथेरापी सेवा दिन जतिसक्दो छिटो मेसिन जडान गर्छाैं।’
मेसिन अस्पताल आइपुगेको दुई महिनामा जडान गरी सेवा प्रवाह गर्ने योजना रहेको अस्पतालका मेडिकल निर्देशक प्रा.डा. श्रेष्ठले जानकारी दिए। हाल अस्पतालमा रहेको पुरानो कोबाल्ट मेसिन रहेकै ठाउँमा भारत सरकारले उपलब्ध गराउने नयाँ मेसिन जडान गर्ने उनको भनाइ छ।
अस्पतालमा अहिले दैनिक करिब ९० जना क्यान्सर बिरामीले कोबाल्ट मेसिनबाट रेडियोथेरापी सेवा लिँदै आएका छन्। एक सय २७ जना क्यान्सर बिरामी रेडियोथेरापीका लागि प्रतीक्षा सूचीमा छन्। अस्पतालको रेडियसन अन्कोलोजी विभागमा पाँच विशेषज्ञ चिकित्सक, तीन मेडिकल फिजिसिस्ट, सात थेरापी रेडियोग्राफर र एकजना बायोमेडिकल इञ्जिनियर कार्यरत छन्।
भारतीय टोलीमा गणेश गोपालसँगै भारतस्थित अटोमिक इनर्जी रेगुलारिटी बोर्डकी साइटिफिक अफिसर सृष्टि शर्मा, पानासियो मेडिकल टेक्नोलोजिस्ट जी सुव्रमण्यम र मेडिकल फिजिसिस्ट योगेश गोविन्द घादीसँगै नेपालस्थित भारतीय दूतावासका असिस्टेन्ट मिलिटारी अटाची दीपंकर राजारामको पनि उपस्थिति थियो।