दाहाल भदौ अन्त्यमा भारत र असोजमा चीन जाने

दाहाल भदौ अन्त्यमा भारत र असोजमा चीन जाने

काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल भदौको अन्तिम साता भारत जाने भएका छन्। उनले भदौ २२ देखि २७ गतेसम्म भारत र असोज १ गतेदेखि चीन भ्रमण गर्ने तयारी गरेका छन्। अध्यक्ष दाहालको भारत र चीन भ्रमणको मिति तय भइसकेको प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

दाहालको भ्रमण नयाँ सरकारको प्राथमिकता, आर्थिक विकास र समृद्धिको लक्ष्यको कार्यान्वयन त्रिपक्षीय सहयोग र कनेक्टिभिटीमा केन्द्रित हुने उनले बताए। नयाँ राजनीतिक समीकरण तयार भएपछि श्रीमती सीता दाहालको उपचारमा सिंगापुर गएयता दाहाल विदेश भ्रमणमा गएका छैनन्।

पहिला भारत जाने तयारीका कारण चीन भ्रमणको मिति पछि सारिएको स्रोतको दाबी छ। भारत भ्रमणका क्रममा अध्यक्ष दाहालले प्रधानमन्त्री नरेन्द्र मोदी, प्रमुख राजनीतिक दलका नेतालगायतसँग भेटवार्ता गर्ने दाहालको सचिवालयले जानकारी दिएको छ। राजनीतिक, आर्थिक र द्विपक्षीय सम्बन्धलगायत विषयमा भारतीय नेतासँग दाहालले छलफलसमेत गर्नेछन्।

नेपालले लामो राजनीतिक कोर्स पूरा गरेकाले अब विकासको बहस गर्न दाहाललाई मोदीले बोलाएको र सोहीअनुसार भ्रमण तालिका तय भएको स्रोतको दाबी छ। चीनले पनि केही समयअघि दाहाललाई औपचारिक भ्रमणको निम्ता पठाएको थियो।

चीन भ्रमणका अवसरमा दाहालले चिनियाँ प्रधानमन्त्री ली खछ्याङलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ। दुई छिमकेकी राष्ट्रको भ्रमणपछि दाहाल उत्तर कोरियासमेत जाने सम्भावना रहेको स्रोतको भनाइ छ। नेपालस्थित उत्तर कोरियाका राजदूतले केही समयअघि अध्यक्ष दाहाललाई भेटेर उत्तर कोरियाको एक कार्यक्रममा सहभागी हुन औपचारिक निम्तो दिएका थिए।

दाहालले चिनियाँ सरकार र नेतृत्वसँग व्यापार र ट्रान्जिट, बेल्ट एन्ड रोड इनिसिएटिभ, तातोपानी सीमा सञ्चालनलगायत एजेन्डामा परामर्श गर्ने सचिवालयले जानकारी दिएको छ। दाहाल नेपालको दोस्रो पटक प्रधानमन्त्री हुँदा सन् २०१७ मा बेल्ट एन्ड रोडसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.